Sunday, April 26, 2020

भन के-के राखेकी छौ उसको नाम ?


Image may contain: 1 person

एकाबिहानै नुहाएर बाथरूमबाट
कपाल झड्कार्दै निस्किएर
उसको समिपमा जाँदा तिमी
श्याम्पुको बास्नाले लट्ठिएर उसले
तिम्रो कम्मरमा समाउला
लाजले तर्केलाउ तिमी
झटपट समाउला उसले नाडीमा तिम्रो
बज्लान् छिन् छिन् गरेर चुराहरू,
त्यतिबेला कर्के आँखा बनाएर उसलाई
"धत् पागल" भुलेर पनि नभन्नु,
तिमीलाई मेरो याद आउन सक्छ
आँखाहरू आँशुले भिज्न सक्छ
मलाई तिम्रो याद आउन सक्छ
बाडुल्कीले सास थामिन सक्छ ।


पिएर उसैको काखमा बसेर चिया
पिएर उसैको कपबाट चिया
भुलेर पनि नसम्झिनु मलाई
तिम्रा ओठहरूले कपको बीटमा
मेरै नाम लेख्न सक्छन् ।
गएर हतपत किचेनमा
मेटाइहाल्नु कपमा छापिएको मेरो नाम
आँखामा छापिएको मेरो चित्र ।
तब बसालेर तावा र कराई
नपकाउनु रोटी तरकारी,
तिमीलाई मेरो सम्झना आउन सक्छ
घाँटीमा रूवाई अड्किन सक्छ ।
तब तिम्रो टोहोलो परेको अनुहारलाई
फूलझैँ फुलाउन
तिम्रा निधारमा जून र
च्युँडोमा ताराहरू झुलाउन
पछाडिबाट उसले झक्झकाएर तर्साउन सक्छ,
तर्साएर जिस्काउन सक्छ,
त्यतिबेला "धत् बौलाहा" नभन्नु तिमी
तिमीलाई मेरो याद आउन सक्छ
मन भारी हुन सक्छ
मलाई तिम्रो झल्को आउन सक्छ
बाडुल्कीले सास रोकिन सक्छ ।


कतै घुम्न जानेछौ तिमी
समाउने छ उसले बाटोमा कतै पुगेर तिम्रो हात
देखाउने छ तिमीलाई बंगैचाहरू, फूलहरू
उसको चोरऔंलाको बाटो भएर
देख्नेछौ तिमीले
हामीले नै हाम्रा आँखाहरूले एकैपटक देखेका ठाउँहरू
हिँड्नेछौ ऊ सँगसँगै तिमी
हाम्रै पाइलाहरूले पहिले सँगै टेकेका बाटाहरूमा
कतै अडिएर चौतारीहरूमा
या बाटोछेउका बेन्चहरूमा
या कुनै शपिंग मलका बरण्डाहरूमा
थकाई मार्नेछौ तिमी
तब तिम्रा निधारमा, नाकमा, गालामा
टिल्पिलाएका पसिनाका थोपाहरू
उसका औंलाहरूले पुछिदिँदा
ती औँलाहरूलाई सुस्तरी छोएर
"लभ यु बाबा" बिर्सेर पनि नभन्नु
तिमीलाई मेरो याद आउन सक्छ
छाती बेस्सरी चिरिन सक्छ
मलाई तिम्रो खयाल आउन सक्छ
दिउँसै ऐंठन हुन सक्छ ।


तर तिमी गएदेखि
मलाई एक दिन पनि बाडुल्की लागेको छैन
आएकै छैन एकै पल तिम्रो झ-झल्को
न त तिमीलाई कतै देखे देखे झैँ भएर
तिम्रो बोली सुने सुने झैँ भएर
ऐंठन भएको छ मलाई ।
लाग्छ तिमीले चटक्कै भुलिसक्यौ मलाई
या उसलाई तिमी पागल भन्दिनौ
बौलाहा भन्दिनौ, राजा भन्दिनौ
बाबा भन्दिनौ, कालु भन्दिनौ
यदि मेरो याद आउने सबै सबै नामहरू
मनको दराजबाट निकालेर
ओठको ढोकाबाट फ्याँकिसक्यौ भने
भन के-के राखेकी छौ त उसको नाम ?

Saturday, April 18, 2020

डेरा- कथा

Image may contain: Suresh Badal
नयाँ डेरा सरेको दिन मलाई त्यो ठाउँ, घर र परिवेश अनौठो लागिरहेको थियो । साँझमा सामान झारेर केही साथीहरूको सहयोगमा म कोठामा सामान मिलाइरहेको थिएँ । घरबेटि बा'ले ढोकामा उभिएर घरका काइदा कानुन सम्झाइरहँदा मेरा आँखाहरू उनकै पछिल्तिर उभिएको एउटा उज्यालो मुहारमा गएर ठोकिए । लोडसेडिंग भएको साँझमा मलाई त्यो गालाको लाली र सेता आँखाहरू प्रष्ट नजरमा आए ।
घरबेटिकी छोरीसँग बोल्नु र हिमचिम गर्नु अति नै गाह्रो थियो । तर मनमा भने उनीसँग बोलुँ र मित्रता गरौँजस्तो लाग्थ्यो । कहिलेकाहिँ लुगा सुकाउन, घाम ताप्न छतमा जाँदा पनि केही असजिलो महशुस हुन्थ्यो । कसैले नराम्रो सोचिहाल्छन् कि भनेर उनीतिर गएका आफ्नै नजरहरूसँग पनि डर लाग्थ्यो ।
सोझो र पढ्ने खालको केटो हो भनेर फुपुको विश्वासमा बल्लतल्ल पाएको सुविधाजनक कोठा गुमाउनु मेरा लागि घातक नै हुने थियो । यसकारण उनीसँग औपचारिक बोलचाल बाहेक म केही गर्न सक्दैनथेँ । तर पनि मनमा पलाएको प्रेमको टुसा झन्-झन् बढ्दै गइरहेको थियो ।
मेरा भावनासँग अन्जान उनी बेलाबखत मसँग बोल्न खोज्थिन् तर म भने ठिक्क जवाफमात्र दिएर तर्किन्थेँ । उनी पनि मलाई विशेष चासो दिन्छिन् कि जस्तो भने लागिरहन्थ्यो । फोहोर उठाउने आउँदा, धारामा पानी आउँदा मैले उनीबाट नै खबर पाउँथेँ ।
बीएस्सी पढ्ने म र प्लस टु मै साइन्स पढिरहेकी उनी । हाम्रो सम्बन्धको सेतु भनेकै मेरा पुराना नोट र केही सन्धर्भ पुस्तकहरूको लेनदेन थियो । उनी मसँग नोटहरू लिने र केही नजानेका कुराहरू सिकाइमाग्ने बहानामा छतमा बोलाउँथिन् । हामीहरू पढाइका कुराहरू गरिरहँदा पर बसेका उनका बा'आमा दंग परेर हेर्दथे ।
बिस्तारै हाम्रो सम्बन्ध साथीजस्तै भइसकेको थियो । उनी मसँग खुलेर कुरा गर्थिन् भने म धेरै नै धकाउँथेँ । ऊ आफ्नो ब्वाइफ्रेण्डको बारेमा सुनाउँथि, मलाई असह्य हुन्थ्यो तर पनि फिक्का हाँसो हाँसेर सुनिदिन्थेँ । मलाई गर्लफ्रेण्को बारेमा बताउन भन्थि । तर म मन अमिलो बनाएर छैन भनिदिन्थेँ । उसको प्रेम केवल केटाकेटीपन हो जस्तो लाग्थ्यो । केही दिनको हाँसखेल मात्र न हो प्लसटुको प्रेम । परिपक्वता आएपछि त उसलाई आफ्नो भावनाले अँगालेर कसो राख्न नसकिएला र भन्ने आत्मविश्वासले आफुलाई सम्हाल्ने गर्दथेँ ।
जाडो बिदाका दिनमा ऊ घरमै थिई । मेरो भने बिहानको कलेज र प्राक्टिकलले गर्दा दिउँसो एक बजेमात्र कोठामा फर्किन्थेँ । एकदिन म अलि चाँडै कोठामा फर्किएँ । सबै कोठाका मानिसहरू आ-आफ्ना काममा गएकाले होला घर बिल्कुल सुनसान थियो । घरबेटि बा' र आमा पनि दुवैजना अफिस जान्थे । मैले बिहान भिजाएका लुगाहरू धोएँ र सुकाउन भनि छतमा गएँ । छतमा उक्लिँदै गर्दा माथिल्लो तलाको चेनगेट लगाइएको देखेँ । मैले गेट घ्वार्रर्र तानेँ । मैले गेटबाटै भित्र फ्ल्याटमा कोही केटामान्छे हातमा केही लुगाहरू च्यापेर बाथरूममा पसेको देखेँ । म अचम्ममा परेँ । म छतमा जाँदैगर्दा घरबेटिकी छोरी जिंग्रिंग्ग कपाल र खजमजिएका भर्खर लगाइएजस्ता लुगा लगाएर मेरो पछि-पछि आएजस्तो लाग्यो । मैले यसो पछाडि फर्केर हेरेँ । अघि देखेको केटा उनकै आडमा छेलिएर खुर्रर्र भरेंगबाट भाग्यो । म जिल्ल परेँ । केही बोल्ने शब्दहरू नै आएनन् । मलाई तस्वीर स्पष्ट भइसकेको थियो ।
"आज कलेजबाट चाँडै आउनुभएछ नि", अघिपछि भन्दा केही गम्भिर बनेर उसले सोधि ।
"अँ, चाँडै भयो", यति भनेर म लुगा सुकाउन थालेँ । तर ऊ पर उभिएर केही बहानाहरू बनाउन लागि ।
"मेरो ब्वाईफ्रेण्ड आएको थियो अघि । गफ गर्दैगर्दा तपाईँ आइपुग्नु भयो अनि डराएर भाग्यो भन्या", ऊ बनावटी हाँसो हाँस्न खोज्दै थिई । तर मैले उसलाई र उसका कुरामा ध्यान दिइनँ ।
म त्यो दिउँसोको दृश्यले रातभर सुत्न सकिनँ । मेरो टुसाएको प्रेम मरिसकेको थियो । मलाई उनको मुहार सम्झिँदा पनि घिन लागेर आयो । अब मैले कति दिन त्यो घिनलाग्दो मुहार हेरिरहनुपर्ने हो भन्ने सम्झेर अत्यास लाग्यो ।
एकाबिहानै घरबेटि आमाले ढोका ढक्ढकाइन् । केही छुच्चि स्वाभवकी उनी मैले ढोका खोल्नासाथ कड्किन थालिन् ।
"ए भाई यस्तो पारा चाहिँ भएन है । झन् सोझो मान्छे भनेर डेरा दिएको यसरी भरोसा तोड्न मिल्छ ? छि: छि:"
"किन के भयो र आन्टि ?" मलाई अचम्म लाग्यो किन बुढि यसरी एकोहोरो मसँग रिसाइन् भनेर ।
"अझै के भयो रे ! यसरी बिहे नभा'को केटाले कोही नभा'को मौका पारेर दिनभरि दुनियाँ केटी ल्याएर कोठाभित्र बस्ने ? तिमीलाई केही नहोला तर हामी त इज्जतदार मान्छे हौँ । हाम्रा छोरीचेली छन् यस्तो देखेर के सिक्लान् भन त ? अब अन्तै बस्ने व्यवस्था गर बाबु । यस्ता मान्छे हामीलाई चाहिँदैन ।" यति भनेर बुढि फत्फताउँदै उक्लिन् । छोरीचाहिँ पनि सँगै रहिछ सायद गुन्गुन गर्दै गएको सुनेँ । उसले आफ्नो कर्तुत छोप्न मलाई गर्दै नगरेको कुराको पोल लगाएर बदनाम गराइछ ।
मैले जवाफ दिने ठाउँ पनि थिएन । उनीहरूका निम्ति त केटाकेटी छोरी शीलस्वाभवकै थिई । मैले बोल्ने सत्य त केवल आफ्नो बचाउमा गरिएको उनीहरूको इज्जतमाथिको झन् ठूलो हमला ठहर्थ्यो । म हारेँ । आफ्नो सोझोपनले वा परिस्थितिले जे होस् म हारेँ । तर हारे पनि मेरो निम्ति स्वतन्त्रता थियो त्यस नर्कबाट मुक्ति ।
मैले हतार-हतार गरेर दोस्रो दिनमै कोठा सरेँ ।
+++

Friday, April 17, 2020

बसन्तपुर डायरी



हर्न बजाउन नपाइने भएर होला लैनचैरको जाममा माइक्रोबस चुपचाप थियो । माइक्रोभित्रको म पनि चुपचाप थिएँ । बोलिरहेकी थिई त एउटि केटी, अघिल्लो सीटकी, फोनमा । ऊ पछाडिबाट औधि राम्री लागेकी छ, बोली पनि मीठो छ तर अनुहार देख्न पाएको छैन । मेरो कल्पनामा धेरैथरि अनुहारहरू आए तर उसको बोली सुनिरहँदा कोही राम्रा लागेनन् ।


मलाई त्यो केटी एकछिनमै नराम्री लागिहाली जब मेरो कल्पनामा मेरी उनी आइन् । उनी घन्टि बजाएर मोबाइलको स्क्रिनमै आइन् ।


"कता हो हजुर ?"


"जमल", मैले ढाँटेँ ।


"आइस्यो छिटो", उनले फोन राखिन् । मैले हातमै घुमाइरहेँ फोन ।

गाडि कुद्यो ।

भृकुटिमण्डपमा केटी झरि । मुखमा मास्क लगाएकी उसको अनुहार देखिएन । तिघ्रा देखिने कट्टु लगाएकी रै'छ । सेता चिल्ला तिघ्रा हेर्दा लाग्यो केटी अचम्म राम्री हुनुपर्छ । मुखमा धुलो पर्छ भनेर मास्क लगाएकी उसले तिघ्रामा पनि फोहोर नजर पर्ला भनेर किन सोचिन होला । हुन त लुगा न हो आफ्नै रहरको लगाई नि ।


शहिदगेट पनि धरहरा नभएर एक्लै टोलाइरहेको छ । यसो बोल्ने साथी नहुँदा च्याउँदो लाग्दो हो विचरालाई । रंग उप्किएको, धुस्रे फुस्रे काठमाण्डु मलभित्र करोडौँका पसलहरू छन् । काठमाण्डु मल र देश उस्तै लाग्यो, धनी व्यापारीहरू बस्ने थोत्रो घर ।

सडकपेटिमा लहरै किताब बेच्न राखेका छन् । अलिपर न्युरोड पुगेपछि हेरेँ, सिसाको सोकेसभित्र जुत्ता बेच्न राखिएका छन् । तर मलाई नमज्जा लागेन । किनकि किनेर लगेपछि किताब दराजमा हुनेछ भने जुत्ता छिँडिको चोयाको र्याकमा । केही मान्छेहरू जुत्ताजस्तै हुन्छन् । कसैले फाइदाको लागि लगाएर हिँड्छन् अनि छिँडिमै फुकालेर जान्छन् । केहिबेर सुख पाइयो भनेर कहिल्यै मात्तिनु हुँदैन । किताबजस्तै ज्ञानी हुनुपर्छ, जहाँ पनि रमाउन सक्ने ।

बसन्तपुरमा भीड छ । मायालुहरूको, माग्नेहरूको अनि पर्यटकहरूको ।


एउटा टुरिस्टले उसकी प्रेमिकालाई खुलेयाम चुम्मा गर्यो । मेरी उनीले मेरो हात च्याप्प समाइन् । हेरेँ उनले त लाजको गाजल लगाइसकिछन् आँखामा । माया त लुकेरै गर्नुमा मजा हुन्छ । मन पनि पावरहाउसजस्तै हो । पानी जति जमायो उति बिजुली निस्किन्छ । भावनाहरू जति जमायो उति माया निस्किन्छ । हामी भावनाहरू थुन्छौँ, कुनैदिन आउला नि बत्ती बाल्ने दिन । कस्सम झलमल्लै पार्दिन्छु ।


"छि छाडा", उनी लजाउँछिन् ।


एक हुल फोहोरी फुच्चेहरू फोहोर शब्द बोल्दै आए । यीनीहरू गाउँ गाउँबाट भागेर आएका होलान् । बसन्तपुरमा माग्छन्, खान्छन् । यहि मन्दिर पेटीहरूमा सुत्छन् ।


एउटा सानो फुच्चेले मन्दिरमा चढाएको पैसा टिप्यो र चाउचाउ किनेर ल्यायो । धेरै दिनमा खान पाएजसरी मसला र खुर्सानी मिसाएर एक फाँको खायो । उसको अनुहार उज्यालियो । तर एकैछिनमा त्यो उज्यालो हरायो किनकि उसको हातबाट चाउचाउको प्याकेट हरायो । अर्को बलियोले खोसेर लग्यो ।

फुच्चे रूँला रूँलाजस्तो गर्यो, रोएन । उसको आँखाले आँशु थाम्यो या भोकले उसँग आँशु नै थिएन, आँशु बगाएन । मलाई उसलाई चाउचाउ किन्दिउँजस्तो लाग्यो । सोचेँ त्यो दशजनाको भीड नै पछि लाग्यो भने ? भोलिबाट पछि लागेर सताए भने ?

मान्छेहरू जानाजान स्वार्थी हुँदैनन् । पहिला आफू बाँच्नु नै मान्छेको धर्म हो ।

पश्चिमी आकाशमा घामले सिन्दुर छर्न थालिसकेछ । हामी बिस्तारै निस्कियौँ । लाग्यो त्यो साँझसँग सिन्दुर मागेर उनको सिउँदो सजाइदिउँ । तर मोरीले त सलले टाउको र कपाल ढाकिसकिछन् ।
+++
फेसबुक वालमा ८ अप्रिल २०१७ मा पहिलो पटक प्रकाशित । तस्वीरका लागि साथी संगीता थापालाई धन्यवाद ।
@sureshbadal

Monday, April 13, 2020

नयाँ साल डायरी


Image may contain: Suresh Badal, closeup
देश लकडाउनमा छ, सारा मान्छे घरभित्र छन्, गाडी चलेका छैनन् । तर पनि अचम्म लाग्यो, कहाँबाट आइपुग्यो होला नयाँ वर्ष ? के नयाँ वर्षलाई चाहिँ कोरोना लाग्दैन ? बिहान ब्युँझिनासाथ सोचेँ, कतै नयाँ वर्षले पनि कोरोना भाइरस ल्याएको आशंकामा क्वारेन्टाइनमा बस्नु पर्यो भने ? तर एकैदिनमा पुरानो भैजाने नयाँ वर्ष पन्ध्र दिन क्वारेन्टाइनमा बस्न सक्दैन । बरु नयाँ वर्षले कोरोनाको प्रलय सिध्याउने औसधि बोकेर ल्याएको होस् ।

रातभरि 'पंचायत' भन्ने हिन्दी टिभी सिरिज हेरेर सुतेको म बिहान समयमा उठ्न सकिनँ । आठ बजे बिहानै राष्ट्रिय गान गाउनु भन्ने सरकारी आव्हान थियो भन्ने सुनेको थिएँ । तर मैले गाउन सकिनँ । देशमा लोकतन्त्र छ, यत्ति भुल गर्दैमा मलाई पंचायतमा जसरी कारवाही हुन सक्दैन ।

कोठाबाट बाथरुम, बाथरुमबाट किचेन, अनि किचेनबाट फेरी कोठाभित्र फर्किनु नै मेरो आजकालको दैनिकी हो । सामाजिक दुरी बनाउनु पर्ने भएर कतै निस्किन मिलेको छैन । तर पनि मान्छेहरुलाई सामाजिक संजालले दुरी महशुस हुन दिएको छैन । अचम्म लाग्छ, संसारमा हरेक समस्याको समाधान पहिल्यै तयार भएर बसेको हुँदो रहेछ । कुनैदिन मान्छेहरु घरभित्रै थुनिएर बस्नेछन्, त्यतिबेला सँगै भएको आभास दिलाउनु पर्छ भनेरै होला सामाजिक संजालहरु आविष्कार भएका । मान्छेहरुले माया प्रेम साट्न फेसबुक पाएका छन्, झगडा गर्न ट्वीटर पाएका छन्, फिल्म हल बन्द छन् तर पनि युट्युब अनि अरु स्ट्रिमिंग साइटहरुमा फिल्म हेर्न पाएका छन् । कोरोनाको औसधि पनि अवश्य उपलब्ध छ, ढिलोचाँडो पत्ता लाग्नेछ ।

म फेसबुक चाहार्छु, को कसले के के लेखे हेर्छु, को कस्तो भए भनेर फोटाहरु हेर्छु । कसले के गर्दैछ, के खाँदैछ भनेर स्टोरीहरु नियाल्छु । मलाई अरु कसैका गतिविधिले खासै आकर्षित गर्दैन, सिवाय उनी ।

उनका स्टोरीमा नहेरेसम्म मेरो मनले चैन पाउँदैन । उनका शब्दहरु चाहे त्यो उनैका भित्ताहरुमा हुन् या मेरा स्टाटसका कमेन्टमा लेखिएका हुन्, मलाई रोमान्चित बनाउने गर्छन् । उनका शब्दहरु आज भने मेरो इनबक्समा आएका थिएनन्, न त आएका थिए मेरा स्टाटसमा कमेन्ट बनेर । उनको शुभकामना नपाएको नयाँ वर्ष मलाई नयाँ वर्ष झैं लागेन । बरु मलाई त्यो पुरानै वर्ष भए पुग्ने थियो जहाँ उनका पुराना आँखाहरुमा पुरानै म बसेको थिएँ ।

एक कप चिया र एउटा ओरियो बिस्कुट लिएर म टेबुल अगाडिको कुर्सीमा बस्दछु । मलाई दुध चिया मन पराउने मान्छे आफ्नै जस्ता लाग्दछन् । अनि ओरियो बिस्कुट मन पर्छ भन्नेहरु मेरा सहगोत्री झैं लाग्दछन् । ल्यापटप खोल्छु अनि शुरु गर्छु दैनिकी । लेख्नु मेरो रहर मात्र थियो पहिले । आजभोली काम बनेको छ । मेरो जीवनशैली बनेको छ । नयाँ सालका शुभकामनाका सन्देशहरु आइरहन्छन् । फोनहरु आउँछन् । तर नयाँ साल पहिले जस्तो उल्लासमय छैन । लकडाउनका कारण कोठाभित्रै कोच्चिएर बस्नु परेको छ ।

हुन त म त्यति बाहिरफेर निस्किरहने मान्छे हैन । तर पनि हल्ला नगर भनेर मास्टरले भने पछि हल्ला गरूँ गरूँ लाग्ने विद्यार्थीजस्तो मलाई पनि घरबाट बाहिर ननिस्किनु भन्ने सरकारी आदेश आएकै दिनदेखि कहिले कता निस्कौं, कहिले कता चहारौं मात्र लाग्ने गरेको छ । तर लागेर मात्र कहाँ पाइन्छ र, कुरा सरकारलाई झुक्याएर बाहिर निस्किनु वा प्रहरीको आँखा छलेर डुलेर आउनु मात्र हैन । कुरा त हामीले देख्नै नसक्ने सुक्ष्म जीवाणुको संक्रमणको छ, जो सारा संसारभर फैलिइसक्यो । के हामीलाई चाहिँ यो भाइरस लाग्न नसक्ला र ? कुरा आफूलाई लाग्ने नलाग्ने मात्र हैन, आफू त लागेपछि बच्न पनि सकिएला तर आफूले बोकेर ल्याएका भाइरस कतै अरु निर्दोष मान्छेहरुको मृत्युको कारण नबनोस् । त्यसैले जति नै उकुस मुकुस भए पनि मलाई घर बाहिर निस्किन मन लाग्दैन ।

सामाजिक संजालहरु नियाल्छु । मान्छेहरु घर बस्न सकस भएको लेखिरहेका हुन्छन् । परिवारसँग बसिरहँदा पनि घरलाई जेल बराबर भएको बताइरहन्छन् । अनि अचम्म लाग्छ । म यहाँ परिवार भन्दा टाढा एक्लै बसिरहेको छु काठमाण्डुमा । तर पनि रत्तिभर सकस लागेको छैन । एक्लोपनले त थिचिरहेकै हुन्छ । तर पनि आफूलाई एक्लो पाउँदिन । हुन त एक्लै बस्ने बानी परेको छ मलाई । घरै बसिरहने बानी परेको छ ।

म पटक पटक बिरामी परें । पटक पटक थला परें । कहिले महिनौँ त कहिले वर्षौं म घरैमा, बिछ्यौनामा पल्टेको छु । बिरामी ढाड, बिरामी खुट्टा अनि अरु कैयन् पीडाहरुले थलिएर म पटक पटक बिस्ताराको क्वारेन्टाइनमा महिनौँसम्म पोको परेको छु । त्यसबाट पार पाएर, आफूलाई निको बनाएपछि पनि मैले घरै बसेर गर्ने काम छानें । अक्सर म कोठाको भित्ता, ढोका, काम गर्ने टेबुल, कम्प्युटर अनि ओछ्यानका तन्दाका दृश्यहरु देखि वाक्क लागेपछि मात्र शहर विचरण गर्न निस्किन्छु । यस कारण पनि मलाई यो जाबो तीन हप्ताको एकान्तवास त्यति अप्रिय लागेको छैन ।

लकडाउनको समय पनि मेरो लागि अरुबेला भन्दा पृथक छैन । झन् धेरै जिम्मेवारी बढेका छन् । फरक यत्ति हो चिया र कफी पिउन भनेर घरबाट फुत्त निस्किएर लखर लखर बजार डुल्न पाएको छैन ।

'नयाँ वर्षको शुभकामना', अकस्मात् मेसेन्जर कोइरालो र टाँकी फुलेको यामझैं गुल्जार भएर आउँछ । उनको मुस्कुराइरहेको अनुहार देखिन्छ । हत्तपत्त उनको मेसेजमा पानको टिका लगाइदिएर जवाफ लेख्छु, 'तिमीलाई पनि नयाँ वर्षको हार्दिक शुभकामना ।'

'चाहिँदैन तिम्रो शुभकामना', रिसाएको इमोजीसँग उनको मेसेज आउँछ ।

'किन ?' म वाल्ल पर्छु ।

'शुभकामना पनि मैले नै पहिला दिनु पर्ने है ? तिमीले चाहिँ विश गर्नै नहुने हो र ?' उनको रिस जायज छ । हो त, मैले नै मेसेज गर्दा के जान्थ्यो र । म किन यति धेरै अहंकारी भएँ हुँला । प्रेममा अहम् मिसिनु भनेको खानेकुरामा फोहोर मिसिनु जस्तै हो, जो खेर जानेछ । तर के मैले उसलाई बिर्सिएजस्तो गरेर दिनरात सम्झिरहँदा उसले पनि बिर्सेको छैन जस्तो गरेर बोलाउनु नहुने हो र ?

मान्छेहरु पो घरबाट निस्किनु हुँदैन त, माया त मनबाट निस्किएर आँखा, मुख, औंला, च्याट अनि फोनभरि डुलिहिँड्न मिलिहाल्छ नि !

बादल वर्षा

Image may contain: 1 person
एस.एल.सी. पछि गाउँबाट प्लस टु पढ्न काठमाण्डु आएको म असाध्यै सोझो थिएँ । मानिसहरुसँग खुलेर बोल्न पनि धक लाग्थ्यो । कलेजमा पनि कसैसँग बोल्दैन थिएँ । साथीहरुले पनि मेरो सोझोपनको फाइदा उठाउँदै मलाई मजाकको पात्र बनाइरहन्थे । उनीहरु मलाई वर्षासँग नाम जोडेर जिस्काउँथे । म लाजले निहुरिरहन्थेँ ।

साथीहरुका नजरमा वर्षा सायद केटी थिइन अरुजस्तो । न त ऊ थ्रेडिङ गर्थि न त अरु कुनै मेकअप । यस्ती धुस्री फुस्री केटी मजस्तो सोझोलाई मात्र सुहाउँछ । साथीहरु सायद यस्तै सोच्दथे । तर मलाई वर्षा एकदम मन पर्न थालिसकेकी थिई । के कारण थियो खै, मजस्तै हेपिएकी भएर दया जागेको हो या प्रेम नै थियो, म बुझ्न सकिरहेको थिइनँ ।


दुनियाको नजरले आकर्षण नपाउने वर्षाको मुहारमा म व्रम्हाण्डको सम्पुर्ण लालित्य पोतिएको पाउँथेँ । पिकनिक जाँदा पनि म उसैलाई हेरिरहेको हुन्थेँ । ऊ लुज फिटिङ पाइन्ट लगाउँथि । चश्मा लगाउँथि । उसका घुम्रिएका कपाल थिए । साथीहरु उसको हुलियाको मजाक बनाएर कुरा गर्थे, मलाई असह्य हुन्थ्यो तर पनि म चुपचाप सुनिरहन्थेँ ।

म साथीहरुका आँखा जोगाएर वर्षासँग कुरा गर्थेँ । सामान्य कुराहरु हुन्थे पढाइलेखाइ सम्बन्धी नै । म उसलाई एकोहोरो चाहिरहेको थिएँ । अहँ उसलाई माया गर्छु भन्ने आँट कहिल्यै आएन ।

बिस्तारै हेर्दाहेर्दै कलेजका दिनहरु सकिए । दुई वर्षको पढाइ सकिएको थियो । प्राक्टिकल एक्जामको अन्तिम दिन नै हाम्रो साथीहरुको अन्तिम भेटघाट रह्यो । साथीहरु 'टच'मा रहौँला भन्दै बिदा हुँदै थिए । मलाई वर्षासँग बिछोड हुने पीडाले सताइरहेको थियो ।

वर्षा आँखाभरि आँसु बनाउँदै म भएतिर आई ।

"ल त बादल पछि पनि गेट टुगेदर गर्नुपर्छ है । फोन गरिराख ल", ऊ हात हल्लाउँदै बिदा भई । म मुटुभरि माया लुकाएर उसलाई बिदा गरिरहेको थिएँ ।

त्यतिबेला फेसबुक आइसकेको थिएन । मोबाइल पनि सहज थिएन । वर्षाले उसको ड्याडीको पोष्टपेडको नम्बर दिएकी थिई । मैले त्यो नम्बरमा फोन पनि गर्न सकिनँ । म उसकै यादमा तड्पिरहन्थेँ । वर्षाको अत्तोपत्तो थिएन । बस् यादहरुमा आएर सताइरहन्थि ।

मैले इन्जिनियरिङ पढ्न थालेँ ।नयाँ साथीहरु बने । तर पनि वर्षालाई भुल्न सकेको थिइनँ ।

एकदिन म साथीहरुसँग बसन्तपुरमा टहलिँदै थिएँ । मेरा आँखा परिचितजस्तै लाग्ने मुहारमा पुगेर टोलाए । झसँग भएँ ।
हो त्यो पराइसँग हातेमालो गर्दै हिँडेकी मेरी वर्षा नै थिई । म अन्योलमा थिएँ । यस्तो चेञ्ज ? ऊ टाइट पाइन्ट, लङ कोरिएन कोट अनि बुटमा थिई । पुरा मेकअपले धपक्कै बलेकी थिई । आँखामा चश्मा पनि थिएन । उसले पनि मलाई हेर्दै हेर्दै गई । मैले पनि हेरिरहेँ । आफूलाई चिमोटेर हेरेँ, म बिपनामै थिएँ ।

एकदिन म फेसबुक खोल्दै थिएँ । धेरै दिनदेखि आएर बसेका फ्रेण्ड रिक्वेस्ट चेक गर्दैजाँदा वर्षा थापा बस्नेत भनेर फेला पारेँ ।
मेरो मन भारी भयो । रिक्वेस्ट एसेप्ट गरेर उसको प्रोफाइल हेर्न थालेँ ।

रिलेसनसिप म्यारिड,करेन्ट सिटि सिड्नी अष्ट्रेलिया देखेँ । बिस्तारै फोटोहरु हेर्न थालेँ । धेरै एल्बमहरु थिए । 'भ्याकेसन इन नेपाल' मा बसन्तपुरका फोटोहरु पनि देखेँ । एउटा फोटोमा गएर आँखा टक्क अडिए । बच्चाको फोटो थियो । क्याप्सनमा लेखिएको थियो,'माइ क्युट बेबी सन बादल'

मेरा आँखामा आँसु टिल्पिलाउन थाले । उसले पनि मेरो नाम जिन्दगीभर नबिर्सिने गरि सम्हालेर राखेकी रहिछ ।

'रियल्ली क्युट लाइक हिज मदर', फोटोमा कमेन्ट गर्दागर्दै मेरा आँखाभरि आँसु जमिसकेको थियो ।

Thursday, April 9, 2020

बसन्तपुर डायरी - सुरेश बडाल


माइक्रोबसका सीटहरू खाली थिएनन् । जुन सीट खाली थिए ती मेरा थिएनन् । अपांग, महिला अनि ज्येष्ठ नागरिकका सीटहरू छोडेर म पछाडि बसेँ ।

नयाँबसपार्कको बाटोको खाल्डाखुल्डिले एकछिन उफार्यो ।

म विष्णुमति खोला हेर्छु । बगिरहेछ, मेरो जिन्दगीजस्तै । खोला फोहोर छ, मजस्तै । खोलामा फोहोर खन्याउँछन् मान्छेहरू, मेरा आफ्नाहरूले रिस खन्याएजस्तै । रेडनपुलबाट एकजना महिला चढिन् । मैले उनलाई हेरिरहेँ किनकि उनले सारी लगाएकी थिइन् । अक्सर सारी सुहाउनेहरू मेरा आँखामा बस्ने गर्छन् । तर उनी आएर मेरो छेउमा बसिन् । मन्द-मन्द मेकअपको बास्ना आयो । म उनको प्रेममा परेँ । उनी त विवाहित हुन् । के फरक पर्छ र । अपरिचितलाई म घृणा गरौँ त उसो भए ? मलाई प्रेमलाई यौन र विवाहसँग जोड्नेहरू मन पर्दैनन् ।

म दश मिनेट उनको प्रेममा परेँ । उनले धोका दिएर गइन्, जमल उत्रिएर ।

भुपिले भनेजस्तै घण्टाघर झोक्राइरहेछ, गलामा जेबघडी झुण्ड्याएर । तर उसले बल्छि हाल्न पाएको छैन रानीपोखरीमा । रानीपोखरीमा पानी छैन र छैनन् माछाहरू । शहरभरिबाट पानी मगाएर पोखरी बनाउने राजा पनि त छैनन् । गणतन्त्रमा मान्छेलाई त पानी छैन कहाँ पाउँछन् माछाले ? मेलम्ची आयो भने सुरूमा रानीपोखरीले पाओस् एक भाँडो ।

म न्युरोड उत्रिन्छु । बसन्तपुर पुग्छु । कट्टु लगाएर तिघ्रा देखाउने केटीहरू, ठाउँ ठाउँमा प्वाल भएको पाइन्ट लगाएका केटाहरू, सेल्फि खिचिरहेछन् । ओठ चोसो पारिरहेछन् । कट्टु टालेका भरियाहरू पेटीमा सुस्ताइरहेछन् । अचम्म लाग्छ, कुनै लुगाहरू सोखले च्यातिन्छन् कुनै मजबुरीले । फाटेको टाल्नेहरू गरिब हुन्छन् अनि फाटेको लगाउनेहरू धनी ।

बाँसुरी बेच्ने आउँछ । मीठो धुन बजाउँछ । म आफ्नै धूनमा सुनिरहन्छु । मलाई बाँसुरी बजाउन आउँदैन । त्यसैले किन्दिनँ । तर मैले धुन त सुनेँ नि । त्यसको मुल्य कति ? अमुल्य । प्रेम पनि त जिन्दगीको धुन हो नि । र त भनिन्छ प्रेम अमुल्य हुन्छ । तर आजभोली प्रेम किन्छन् मान्छेहरू । पिआर, डिभिमा बिक्छ प्रेम, बिक्छन् प्रेमीहरू ।

"अंकल बृद्धाश्रमको लागी डोनेसन दिस्यो न", उस्तै टिसर्ट लगाएका केही केटीहरू मेरा अघिल्तिर झुल्किए । म मेरो दाह्री छाम्छु, सर्ट हेर्छु । मबाट समय फुत्किसकेछ । मलाई लुगाले बुढो बनाएछ । यीनीहरूले सलमान खानलाई पक्कै अंकल भन्दैनन् ।

पर्सबाट बीस रूपियाँ झिकेर दिएँ । बसन्तपुरमा पैसा मागेपछि पाइन्छ । सफा लुगा लगाउँदा डोनेसन, फाटेको लुगामा भीख !

नांगो हुँदा मान्छेहरू एकनास हुन्छन् । नांगा मान्छेहरू ज्ञानी हुन्छन् । असली परिचय नांगिएपछि खुल्छ । लुगा लगाउन जानेपछि नै रै'छ मान्छेहरूले गति छाड्न थालेका ।

#बसन्तपुर_डायरी

१० अप्रिल २०१७ मा फेसबुकमा पहिलोचोटी प्रकाशित ।

Wednesday, April 8, 2020

छुट्नु अघि- कविता


छुट्टिनै परेपछि त
सँगै हिँडेका बाटोका
घुम्ति, मोड, प्रतीक्षालयहरू पनि
सम्झनाबाट छुट्टियोस् न ।
सँगै बसेका
कफीशप, पार्क, चौतारीहरू पनि
स्मृतिबाट छुट्टियोस् न ।



टाढिनै परेपछि त
दुश्मनै बनेर टाढिए हुने हो
भुगोलै छोडेर टाढिए हुने हो
तर पनि तिमीले 'हाँसी हाँसी' छुट्टिने भन्यौ
साथी भएरै छुट्टिने भन्यौ ।

छातीको ठिक्क मास्तिर
घाँटिको ठिक्क मुन्तिर
तिमीले दाँत र ओठ सराबरी पारेर रगडेर
खोपिदिएको 'लभ बाइट' आलै छ,
यस्तोमा एक्कासी भन्यौ- हामी छुट्टिऔँ ।

हुन्छ, छुट्टिऔँला
तर
छुट्टिएपछि हामी फेरी
आजभन्दा दुई वर्ष पहिलेझैँ हुनुपर्छ
जतिबेला तिमीलाई बाटोमा भेट्दा पनि मलाई
न कोही न कोही भेटेझैँ हुने गर्थ्यो
मेरो नाम सुन्दा तिमीलाई
अर्थ न बर्थ भएझैँ हुने गर्थ्यो

जतिबेला तिमी कोही अर्कैको अनुहार कल्पेर
आफ्नो भविष्यको घर बनाउँथ्यौ
जतिबेला म अर्कैको नाम सोचेर
उसको नाममा आफ्नो थर मिसाउँथेँ

छुट्टिने नै भए समयको त्यो बिन्दुमा पुगौँ
जतिबेला यस धर्तीमा कतै तिमी छौ भनेर
मलाई थोरै पनि ज्ञान थिएन
जतिबेला यो सृष्टिमा मेरो सिर्जना भएको छ भनेर
तिमीलाई कुनै खबर थिएन


तर तिमीले त
नयाँ लुगाबाट सर्लक्क स्टिकर उप्काएझैँ
मनबाट तिम्रो तस्वीर उप्काउन भन्यौ
नंगमा स्पिरिटले पुछेर नेलपोलिस मेटेझैँ
मुटुबाट तिम्रो नाउँ मेट्न भन्यौ

दुई दुई वर्षसम्म
सम्बन्धको 'सुपर ग्लु' टाँसेर एक अर्कामा
आज आएर भन्यौ- जस्ताको तस्तै बनौँ, छुट्टिऔँ
हुन्छ, छुट्टिऔँला
तर अब हामी छुट्टिँदा जस्ताको तस्तै हुन सक्दैनौँ
अलिकति तिमी च्यातिनु पर्छ
अलिकति म च्यातिनु पर्छ ।
@sureshbadal  

Wednesday, April 1, 2020

केही छोटा कविताहरु

तिमी
पोहोर परारको क्यालेन्डरजस्तै
यस्तो अतित हौ मेरी
जसलाई अब केवल
भुइँमा ओछ्याउन,
किताबमा जिल्दा हाल्न,
र फोहोर पोको पार्न मात्र काम लाग्छ,
फेरि उही समय ठानेर
मनको भित्तामा झुण्डाइरहन मिल्दैन ।

+++
गन्तव्यलाई भेट्न भनेर
एक जोर पैताला बोकी
कोसौं हिँडेर आएको थियो एउटा यात्रा,
विस्फारित आँखाहरुले हेरर यात्रालाई,
गन्तव्यले भनिदियो- म त केवल सुरुवात हुँ,
गन्तव्य अझै कोसौं टाढा छ ।

+++

पहिले पहिले
कथा सुन्नेहरुले सुनको माला लगाउँथे
कथा भन्नेहरुले फूलको माला लगाउँथे
आजकल,
शहरमा माला उन्ने धागोको अभाव छ ।

+++

एकदिन,
खुट्किलाहरु उक्लिँदै उक्लिँदै
स्वयम्भुको डाँडामा पुगेर
आँखा ठूला पार्दै सुस्ताएको बुद्धलाई,
भगवानपाउ नजिकैको बगरेले सोध्यो
- बाजे, मासु कति किलो राखौं ?

+++

चिन्नेहरुले हामीलाई यसरि चिनुन्,
तिमीलाई देख्दा मलाई सम्झिउन्,
मलाई देख्दा तिमीलाई सम्झिउन्,
हामी दुबैलाई एकैपटक देख्दा,
आफैँलाई बिर्सिउन् ।

+++

मेरी आमा महान हैनन्

  @ सुरेश बडाल पाँच वर्षको उमेर। गाउँकै बोर्डिंग स्कुलको नर्सरी कक्षामा भर्ना भएर एउटा बेन्चको छेउमा डराई डराई बसिरहेको बेला हेर्दै डरलाग्...