Thursday, May 2, 2019

आँशुको व्यापार



कुनै सुदुर गाउँमा
कुनै खोलाछेउ वा जंगलको बीचमा
च्यातिएर धुजा-धुजा जामाभित्र भेटिन्छ
चिथोरिएको एउटा बालिका शरीर।

पोस्टमार्टम हुन्छ,
निकालिन्छ भजाइनल स्वाब
हुन्छन् विभिन्न परीक्षणहरू,
र प्रमाणित हुन्छ बलात्कार।

यता राजधानीमा
प्लेकार्ड बोकेर केहि प्रायोजित हातहरू
गर्छन् न्यायको माग।
तब दबावका खातिर
लेख्छन् कविहरू अखबारमा कविता।

पानीझैँ तातिएको अपराध
सेलाउँदैन सितिमिति गाउँमा।
तर फलामझै तातिएको दवाव
चिसिन्छ शहरमा।

अकस्मात कुनै साँझ तारे होटलमा
सम्मानित हुन्छन् अधिकारकर्मी
बलात्कारमा दवाव दिएको नाउँमा।
कुनै दिन दोसल्ला ओढ्छ कवि
न्यायको आवाज बनिदिएकोमा।

उता न्यायको माग गर्दागर्दै
बहुलाउँछ मृतकको बाउ,
आँशुको खोलो बगाएर सडकमा
सकिन्छे लाशकी आमा।

तब फेरि एकफेर शहरमा
तातिन्छ आन्दोलनको फलाम
अनि न्यायको मृत्युको नाउँमा
छापिन्छ एक पुस्तक
बिक्छन् हजारौँ प्रति रातारात
र प्रकाशक हुन्छ मालामाल।

यसरी बिकिरहेछ अपराध र निमुखाको आँशु
हरेक दिन।

@ सुरेश बादल

मेरी आमा महान हैनन्

  @ सुरेश बडाल पाँच वर्षको उमेर। गाउँकै बोर्डिंग स्कुलको नर्सरी कक्षामा भर्ना भएर एउटा बेन्चको छेउमा डराई डराई बसिरहेको बेला हेर्दै डरलाग्...