Tuesday, March 12, 2019

बसन्तपुर डायरी १

गाडि रत्नपार्कतिर हुइँकिँदै छ। म झ्यालको सीटमा बसेको छु। झ्यालबाहिर देखिने थरि-थरिका अनुहारहरू हेर्न मज्जा लाग्छ। ती अनुहारहरूमा म कथा देख्छु।
'ये मोह मोह के धागे, तेरे उंगलियोँमे जा उलझे!' गाडिमा गीत बज्छ। मेरो फेवरेट गीत। म गीतमा डुब्छु। आँखा चिम्म गर्छु। डल्ली गीतसँगै भन्छे,
'हजुर त पागल होइसिन्छ।'
'किन डल्लु?' म सोध्छु!
'हजुरले मलाई किन चुनिसेको त? हजारौँ थिए होला जोडि मिल्ने अरू!'
'जोडि उचाई हेरेर बन्दैन डल्ली, मन हेरेर बन्छ।' म भन्छु। 'तिमी बराबर बन्न त त्यो हजार लाख बन्नुपर्छ!' ऊ मुस्कुराउँछे।
गीत बन्द भयो। मेरा आँखा खुल्ला भए। ड्राइभरले हिन्दि गीत मन पराएन। मलाई पनि त कहाँ मन पर्छ र! तर कलाको देश हुँदैन। भावनाको सिमाना हुँदैन। मेरोजस्तै माया गर्ने, हाँस्ने, रूने मनहरू त्यो पराई देशमा पनि त छन्।
कहिलेकाहिँ म युद्धका चलचित्रहरू हेर्छु, अचम्म लाग्छ मर्ने र मार्ने दुबैको रगत रातो हुँदो रै'छ। धोका दिने र पाउने दुबैको आँशु नुनिलो भएजस्तै!
आरएनएसी ओर्लिन्छु। सडकपेटिमा हत्केला नभएको एउटा केटो नाडिले च्यापेर चित्र बनाउँदैछ। उसले सुन्दर आकृति बनाउँछ। म जिल्ल पर्छु र सोच्छु केहि हात भएकाहरू नै देश कुरूप बनाइरहेछन्। केहि टायर बालिरहेछन्, केहि गाडि जलाइरहेछन्!
बसन्तपुर पुग्छु। काठमाण्डुले कसैलाई भोको राखेको छैन। एउटि सानी केटि मेरो अगाडि मिनरल वाटरको बोत्तल देखाउँछे। पच्चीस रूपियाँ भन्छे।
म उसका खिरिला मयल परेका घाँटि हेर्छु। सुलुक्क सिँगान तानेर ऊ थोते मुखले मुस्काउँछे। मैले पानी किनेँ तर उसको मुस्कान किन्ने सामर्थ्य ममा थिएन। पर उजत्रै एउटि बच्चि पचास रूपियाँको आइसक्रिम खाँदै थिई। पानी सस्तो भएको छ। र सस्तो भएको छ पानीजस्तै चोखो प्रेम।
म ती नानीहरूलाई तुलना गर्छु। एउटिलाई बा'आमाले खुशी किनिदिएका छन् भने अर्किले बा'आमालाई नुनतेल!
डल्लीले फोटो खिच्न मानिन। मनमा बसिसकेकि ऊ ग्यालरीमा किन बस्थि र! हाम्रो छेउमा बसेको एक जोडि जिस्किरह्यो। केटोले झुक्याएर केटिलाई चुम्मा गर्यो। केटि दंग परि। मैले डल्लीलाई हेरेँ। ऊ हाँसि। मैले लगाइरहेको मास्क खोलेँ, ऊ रिसाई।
मात्तिएको साँझ हाम्रै छेउमा आयो। र आयो सँगै रीसाएको बादल। हामी हतार हतार निस्कियौँ। हात जोडले समात्यौँ र छुट्टियौँ।
बस बिहानकै थियो। लोक दोहोरी बज्दै थियो,
'तिम्ले बिहे आँटेको केटो त मेरो एकदम मिल्ने साथी हो....' गीत बजिरह्यो। मलाई शब्दले घोच्यो। अब डल्लीलाई भन्नुछ, मेरा साथीहरू कसैलाई एड नगर ल फेसबुकमा। अझ केटाहरूको रिक्वेस्ट आयो भने ब्लक हान्नु!
#बसन्तपुर_डायरी

मेरी आमा महान हैनन्

  @ सुरेश बडाल पाँच वर्षको उमेर। गाउँकै बोर्डिंग स्कुलको नर्सरी कक्षामा भर्ना भएर एउटा बेन्चको छेउमा डराई डराई बसिरहेको बेला हेर्दै डरलाग्...