Skip to main content

बसन्तपुर डायरी १

गाडि रत्नपार्कतिर हुइँकिँदै छ। म झ्यालको सीटमा बसेको छु। झ्यालबाहिर देखिने थरि-थरिका अनुहारहरू हेर्न मज्जा लाग्छ। ती अनुहारहरूमा म कथा देख्छु।
'ये मोह मोह के धागे, तेरे उंगलियोँमे जा उलझे!' गाडिमा गीत बज्छ। मेरो फेवरेट गीत। म गीतमा डुब्छु। आँखा चिम्म गर्छु। डल्ली गीतसँगै भन्छे,
'हजुर त पागल होइसिन्छ।'
'किन डल्लु?' म सोध्छु!
'हजुरले मलाई किन चुनिसेको त? हजारौँ थिए होला जोडि मिल्ने अरू!'
'जोडि उचाई हेरेर बन्दैन डल्ली, मन हेरेर बन्छ।' म भन्छु। 'तिमी बराबर बन्न त त्यो हजार लाख बन्नुपर्छ!' ऊ मुस्कुराउँछे।
गीत बन्द भयो। मेरा आँखा खुल्ला भए। ड्राइभरले हिन्दि गीत मन पराएन। मलाई पनि त कहाँ मन पर्छ र! तर कलाको देश हुँदैन। भावनाको सिमाना हुँदैन। मेरोजस्तै माया गर्ने, हाँस्ने, रूने मनहरू त्यो पराई देशमा पनि त छन्।
कहिलेकाहिँ म युद्धका चलचित्रहरू हेर्छु, अचम्म लाग्छ मर्ने र मार्ने दुबैको रगत रातो हुँदो रै'छ। धोका दिने र पाउने दुबैको आँशु नुनिलो भएजस्तै!
आरएनएसी ओर्लिन्छु। सडकपेटिमा हत्केला नभएको एउटा केटो नाडिले च्यापेर चित्र बनाउँदैछ। उसले सुन्दर आकृति बनाउँछ। म जिल्ल पर्छु र सोच्छु केहि हात भएकाहरू नै देश कुरूप बनाइरहेछन्। केहि टायर बालिरहेछन्, केहि गाडि जलाइरहेछन्!
बसन्तपुर पुग्छु। काठमाण्डुले कसैलाई भोको राखेको छैन। एउटि सानी केटि मेरो अगाडि मिनरल वाटरको बोत्तल देखाउँछे। पच्चीस रूपियाँ भन्छे।
म उसका खिरिला मयल परेका घाँटि हेर्छु। सुलुक्क सिँगान तानेर ऊ थोते मुखले मुस्काउँछे। मैले पानी किनेँ तर उसको मुस्कान किन्ने सामर्थ्य ममा थिएन। पर उजत्रै एउटि बच्चि पचास रूपियाँको आइसक्रिम खाँदै थिई। पानी सस्तो भएको छ। र सस्तो भएको छ पानीजस्तै चोखो प्रेम।
म ती नानीहरूलाई तुलना गर्छु। एउटिलाई बा'आमाले खुशी किनिदिएका छन् भने अर्किले बा'आमालाई नुनतेल!
डल्लीले फोटो खिच्न मानिन। मनमा बसिसकेकि ऊ ग्यालरीमा किन बस्थि र! हाम्रो छेउमा बसेको एक जोडि जिस्किरह्यो। केटोले झुक्याएर केटिलाई चुम्मा गर्यो। केटि दंग परि। मैले डल्लीलाई हेरेँ। ऊ हाँसि। मैले लगाइरहेको मास्क खोलेँ, ऊ रिसाई।
मात्तिएको साँझ हाम्रै छेउमा आयो। र आयो सँगै रीसाएको बादल। हामी हतार हतार निस्कियौँ। हात जोडले समात्यौँ र छुट्टियौँ।
बस बिहानकै थियो। लोक दोहोरी बज्दै थियो,
'तिम्ले बिहे आँटेको केटो त मेरो एकदम मिल्ने साथी हो....' गीत बजिरह्यो। मलाई शब्दले घोच्यो। अब डल्लीलाई भन्नुछ, मेरा साथीहरू कसैलाई एड नगर ल फेसबुकमा। अझ केटाहरूको रिक्वेस्ट आयो भने ब्लक हान्नु!
#बसन्तपुर_डायरी

Comments

Popular posts from this blog

चन्द्रमाको कथा

प्रेम गर्नेहरुले त प्रेमिकालाई हावाले झोंक्काले पनि पनि दुखाउला , फूलको पत्रले पनि बिझाउला , झरीका बुँदहरुले पनि सताउला भनेर ख्याल गर्छन् । कहाँ सक्छन् र एसिड छ्यापेर असैह्य पीडा दिन । जरुरी छैन आफूलाई मन परेको मान्छेले आफूलाई पनि उत्तिकै मन पराओस् । जरुरी छैन , आफूले चाहेकै मान्छेसँग जिन्दगी बिताउन पाइयोस् । तर साँचो प्रेम गरेकीलाई पराईकै बने पनि चोट दिन मन लाग्दैन , धरधरी रुवाउन मन लाग्दैन । कोही आफूसँग यात्रा गर्न चाहँदैन भन्दैमा उसलाई कहाँ जबर्जस्ति गर्न पाइन्छ र । सबैको गन्तव्य एकै ठाउँ नहुन पनि त सक्छ । एसिड छ्यापेर कुरूप बनाइदिन्छु भन्ने सोच राख्नेहरुको आफ्नै मन र बिचार कुरूप हैन र । त्यो कस्तो प्रेम होला आफैँले मन पराएको फूललाई च्यात्न मन लाग्ने ? त्यो कस्तो चाहत होला आफूले हृदयमा राखेकै मान्छेलाई दुखाउन मन लाग्ने ? कसरी भन्न सक्छौ यसलाई प्रेम जब तिमी त्यो ओठमा हाँसो हैन ती आँखामा आँसुका ढिक्का देख्न चाहन्छौ । कसरी भन्छौ त्यो लालचलाई प्रेम जब तिमी उसलाई उसकै रहरको बाटोमा पाइला चाल्न अवरोध गर्दछौ । प्रेम त हत्केलामा थपक्क बस्न आएको सुन्दर पुतलीलाई नचलाईकन उसकै आकाशमा बेपर्वा...

आँशुको व्यापार

कुनै सुदुर गाउँमा कुनै खोलाछेउ वा जंगलको बीचमा च्यातिएर धुजा-धुजा जामाभित्र भेटिन्छ चिथोरिएको एउटा बालिका शरीर। पोस्टमार्टम हुन्छ, निकालिन्छ भजाइनल स्वाब हुन्छन् विभिन्न परीक्षणहरू, र प्रमाणित हुन्छ बलात्कार। यता राजधानीमा प्लेकार्ड बोकेर केहि प्रायोजित हातहरू गर्छन् न्यायको माग। तब दबावका खातिर लेख्छन् कविहरू अखबारमा कविता। पानीझैँ तातिएको अपराध सेलाउँदैन सितिमिति गाउँमा। तर फलामझै तातिएको दवाव चिसिन्छ शहरमा। अकस्मात कुनै साँझ तारे होटलमा सम्मानित हुन्छन् अधिकारकर्मी बलात्कारमा दवाव दिएको नाउँमा। कुनै दिन दोसल्ला ओढ्छ कवि न्यायको आवाज बनिदिएकोमा। उता न्यायको माग गर्दागर्दै बहुलाउँछ मृतकको बाउ, आँशुको खोलो बगाएर सडकमा सकिन्छे लाशकी आमा। तब फेरि एकफेर शहरमा तातिन्छ आन्दोलनको फलाम अनि न्यायको मृत्युको नाउँमा छापिन्छ एक पुस्तक बिक्छन् हजारौँ प्रति रातारात र प्रकाशक हुन्छ मालामाल। यसरी बिकिरहेछ अपराध र निमुखाको आँशु हरेक दिन। @ सुरेश बादल

तिमीले रोजेको मान्छे

आकाशको नाङ्लाभरि छरेर तारा बिचमा एउटै मात्र जून कसले राख्यो होला ? बाँडेर सबैलाई अनेक कमसल धातू मेरो भागमा नम्बरी सून कसले राख्यो होला ? म त सोच्थेँ एक्लै हिँड्नुपर्ने होला जिन्दगीको पट्यारलाग्दो यात्रामा तर सँगै हिँड्न भनेर तिमी आयौ अलमलिन्थेँ होला म गन्तव्यको खोजीमा पैतालाको डाम बनेर अघि लाग्यौ कतै बाटै पो भुल्यौ कि मलाई अर्कै भन्ठान्यौ कि नत्र त मलाई दुखैदुखमा पुरिएको देखेर नयाँ दुख पनि सधैं दुखि बनेर फर्किन्थ्यो एक्लोपन र बेवास्ताले स्याण्डविच बनाएको देख्दा आँसु पनि लतक्क पग्लिएर तर्किन्थ्यो आफैं सोच त बिचरा भनेर लेख्ने कलमसमेत किन्न नसक्ने म कति विवश अनि गरिब थिएँ होला दुखि बनेर रून पनि नसक्ने मेरा आँखा कति बाँझा र सुख्खा थिए होला भाग्य सिधा बाटो भएर हिँड्थ्यो भने यदि मेरो निधारको नक्सा सधैंभरि नागबेली थियो माया रसिलो जमिनमा फुल्थ्यो भने यदि मेरो हृदयको बारीमा खडेरी थियो पराजीतहरूको लस्करमा पनि म पराजीत बनेरै सबभन्दा पछाडिको लाममा उभिएको हुन्थेँ असफलताको आरोहणमा पनि म असफल बनेरै बेसक्याम्पमा छोडिएको हुन्थेँ अनिश्चित नदीको मझधारमा पुगेको बेला सुनौलो गन्तव्यको किनारमा लैजान भनेर तिम...