Skip to main content

बसन्तपुर डायरी १

गाडि रत्नपार्कतिर हुइँकिँदै छ। म झ्यालको सीटमा बसेको छु। झ्यालबाहिर देखिने थरि-थरिका अनुहारहरू हेर्न मज्जा लाग्छ। ती अनुहारहरूमा म कथा देख्छु।
'ये मोह मोह के धागे, तेरे उंगलियोँमे जा उलझे!' गाडिमा गीत बज्छ। मेरो फेवरेट गीत। म गीतमा डुब्छु। आँखा चिम्म गर्छु। डल्ली गीतसँगै भन्छे,
'हजुर त पागल होइसिन्छ।'
'किन डल्लु?' म सोध्छु!
'हजुरले मलाई किन चुनिसेको त? हजारौँ थिए होला जोडि मिल्ने अरू!'
'जोडि उचाई हेरेर बन्दैन डल्ली, मन हेरेर बन्छ।' म भन्छु। 'तिमी बराबर बन्न त त्यो हजार लाख बन्नुपर्छ!' ऊ मुस्कुराउँछे।
गीत बन्द भयो। मेरा आँखा खुल्ला भए। ड्राइभरले हिन्दि गीत मन पराएन। मलाई पनि त कहाँ मन पर्छ र! तर कलाको देश हुँदैन। भावनाको सिमाना हुँदैन। मेरोजस्तै माया गर्ने, हाँस्ने, रूने मनहरू त्यो पराई देशमा पनि त छन्।
कहिलेकाहिँ म युद्धका चलचित्रहरू हेर्छु, अचम्म लाग्छ मर्ने र मार्ने दुबैको रगत रातो हुँदो रै'छ। धोका दिने र पाउने दुबैको आँशु नुनिलो भएजस्तै!
आरएनएसी ओर्लिन्छु। सडकपेटिमा हत्केला नभएको एउटा केटो नाडिले च्यापेर चित्र बनाउँदैछ। उसले सुन्दर आकृति बनाउँछ। म जिल्ल पर्छु र सोच्छु केहि हात भएकाहरू नै देश कुरूप बनाइरहेछन्। केहि टायर बालिरहेछन्, केहि गाडि जलाइरहेछन्!
बसन्तपुर पुग्छु। काठमाण्डुले कसैलाई भोको राखेको छैन। एउटि सानी केटि मेरो अगाडि मिनरल वाटरको बोत्तल देखाउँछे। पच्चीस रूपियाँ भन्छे।
म उसका खिरिला मयल परेका घाँटि हेर्छु। सुलुक्क सिँगान तानेर ऊ थोते मुखले मुस्काउँछे। मैले पानी किनेँ तर उसको मुस्कान किन्ने सामर्थ्य ममा थिएन। पर उजत्रै एउटि बच्चि पचास रूपियाँको आइसक्रिम खाँदै थिई। पानी सस्तो भएको छ। र सस्तो भएको छ पानीजस्तै चोखो प्रेम।
म ती नानीहरूलाई तुलना गर्छु। एउटिलाई बा'आमाले खुशी किनिदिएका छन् भने अर्किले बा'आमालाई नुनतेल!
डल्लीले फोटो खिच्न मानिन। मनमा बसिसकेकि ऊ ग्यालरीमा किन बस्थि र! हाम्रो छेउमा बसेको एक जोडि जिस्किरह्यो। केटोले झुक्याएर केटिलाई चुम्मा गर्यो। केटि दंग परि। मैले डल्लीलाई हेरेँ। ऊ हाँसि। मैले लगाइरहेको मास्क खोलेँ, ऊ रिसाई।
मात्तिएको साँझ हाम्रै छेउमा आयो। र आयो सँगै रीसाएको बादल। हामी हतार हतार निस्कियौँ। हात जोडले समात्यौँ र छुट्टियौँ।
बस बिहानकै थियो। लोक दोहोरी बज्दै थियो,
'तिम्ले बिहे आँटेको केटो त मेरो एकदम मिल्ने साथी हो....' गीत बजिरह्यो। मलाई शब्दले घोच्यो। अब डल्लीलाई भन्नुछ, मेरा साथीहरू कसैलाई एड नगर ल फेसबुकमा। अझ केटाहरूको रिक्वेस्ट आयो भने ब्लक हान्नु!
#बसन्तपुर_डायरी

Comments

Popular posts from this blog

चन्द्रमाको कथा

प्रेम गर्नेहरुले त प्रेमिकालाई हावाले झोंक्काले पनि पनि दुखाउला , फूलको पत्रले पनि बिझाउला , झरीका बुँदहरुले पनि सताउला भनेर ख्याल गर्छन् । कहाँ सक्छन् र एसिड छ्यापेर असैह्य पीडा दिन । जरुरी छैन आफूलाई मन परेको मान्छेले आफूलाई पनि उत्तिकै मन पराओस् । जरुरी छैन , आफूले चाहेकै मान्छेसँग जिन्दगी बिताउन पाइयोस् । तर साँचो प्रेम गरेकीलाई पराईकै बने पनि चोट दिन मन लाग्दैन , धरधरी रुवाउन मन लाग्दैन । कोही आफूसँग यात्रा गर्न चाहँदैन भन्दैमा उसलाई कहाँ जबर्जस्ति गर्न पाइन्छ र । सबैको गन्तव्य एकै ठाउँ नहुन पनि त सक्छ । एसिड छ्यापेर कुरूप बनाइदिन्छु भन्ने सोच राख्नेहरुको आफ्नै मन र बिचार कुरूप हैन र । त्यो कस्तो प्रेम होला आफैँले मन पराएको फूललाई च्यात्न मन लाग्ने ? त्यो कस्तो चाहत होला आफूले हृदयमा राखेकै मान्छेलाई दुखाउन मन लाग्ने ? कसरी भन्न सक्छौ यसलाई प्रेम जब तिमी त्यो ओठमा हाँसो हैन ती आँखामा आँसुका ढिक्का देख्न चाहन्छौ । कसरी भन्छौ त्यो लालचलाई प्रेम जब तिमी उसलाई उसकै रहरको बाटोमा पाइला चाल्न अवरोध गर्दछौ । प्रेम त हत्केलामा थपक्क बस्न आएको सुन्दर पुतलीलाई नचलाईकन उसकै आकाशमा बेपर्वा...

क्वारेन्टाइनबाट एउटा प्रेमपत्र । - सुरेश बडाल

काली, कहिल्यै सोचेको थिइनँ यस्तो पनि दिन आउला भनेर । यसरी कुनै अदृश्य दुश्मनदेखि डराएर घरभित्रै लुकिरहनु पर्नेछ भनेर । सोचेको पनि थिइनँ कहिल्यै, जीवनको महत्व यति हुन्छ अनि मृत्युको भय यतिबिघ्न हुन्छ भनेर । क्वारेन्टाइनमा बसेको एक हप्ता बितेपछि महशुस हुँदैछ आज, संसारमा आफ्नो जति प्रेम अरु कसैको लाग्दो रहेनछ । तिमीलाई सुन्दा नराम्रो लाग्ला तर वास्तविकता यही नै रहेछ । तिमीलाई केही होला, घर परिवार, बा'आमालाई केही होला भनेर त एकपल पनि ख्याल आउँदो रहेनछ, रत्तिभर पिर पर्दो रहेनछ । केवल आफैँलाई केही होला कि भन्ने सन्त्रासले अँगाल्दो रहेछ । तिमी त्यता सुरक्षित नै बसेकी हौली । यता म पनि यही कोठाको चार भित्तोभित्र कैदीझैं समेटिएर बसेको छु । कहिलेकाहीँ झ्यालबाट बाहिर हेर्छु, बाटोमा, बतासमा जताततै भाइरस सल्बलाएको झैं देख्दछु । अनि आफूलाई घरको गेटबाट बाहिर निकाल्न सक्दिनँ । तिमी यो मुटुमा बसेकी छौ । मेरो कलेजीमा बसेकी छौ । मेरो अनुहारमा देखिने उज्यालो तिम्रै देन हो । अनि मेरो ओठहरुमा खेल्ने मुस्कान पनि त तिम्रै कोसेली हो । जब तिम्रो प्रेममा परें, त्यसै दिनदेखि मलाई मेरो सम्पूर्ण अस्...

बिहेको बिरुद्धमा!

देशको प्रधानमन्त्रीसमेत भएका सन्त नेता कृष्णप्रसाद भट्टराई जीवनभर अविवाहित थिए। त्यस्तै पटक-पटक देशको प्रधानमन्त्री र नेपाली कांग्रेसको शक्तिशाली सभापति भएका गिरिजाप्रसाद कोइराला पनि जीवनको पछिल्लो कालखण्ड जतिबेला उनी शक्तिको केन्द्रमा थिए, एकल पुरुष थिए। एक हिसाबले यी नेताहरुको सफलतामा जीवनसंगिनीको बाधा रहेन! विश्वमै पनि यस्ता धेरै नेताहरु छन् जसले बिहेलाई भन्दा आफ्नो राजनीतिलाई महत्व दिएर सफलता हात पारे। श्रीमती त्यागेका कारण प्रधानमन्त्री भएका नरेन्द्र मोदीदेखि श्रीमतीलाई महत्व दिँदा आफ्नो तीसौं बर्षको राजनीति सिध्याएका जिम्बाब्वेका रोबर्ट मुगाबेसम्मका उदाहरणहरु छन्। नेपाली सिनेजगतका महानायक राजेश हमाल महानायक बन्नुमा पनि उनी जीवनको लामो समय अविवाहित रहनुले भूमिका खेल्यो। दुई तीनपटक बिहे गरेका कारण जति नै राम्रा र हिट चलचित्र दिए पनि भुवन केसी महानायक भनिएनन् भन्ने मेरो ठम्याई हो! नेपालमा मात्र हैन बिहे नगरेकै कारण हिन्दी सिनेजगतमा सलमान खान पनि सुपरस्टार भएका हुन्! नत्र उनको अभिनय हेर्दा त सुपरस्टार र उनी भनेका दिन र रातझैँ कहिल्यै नभेटिने जस्ता लाग्दछन्। बिहे भने एक किस...