Saturday, March 18, 2023

तिमीले रोजेको मान्छे


आकाशको नाङ्लाभरि छरेर तारा
बिचमा एउटै मात्र जून कसले राख्यो होला ?
बाँडेर सबैलाई अनेक कमसल धातू
मेरो भागमा नम्बरी सून कसले राख्यो होला ?
म त सोच्थेँ
एक्लै हिँड्नुपर्ने होला जिन्दगीको पट्यारलाग्दो यात्रामा
तर सँगै हिँड्न भनेर तिमी आयौ
अलमलिन्थेँ होला म गन्तव्यको खोजीमा
पैतालाको डाम बनेर अघि लाग्यौ
कतै बाटै पो भुल्यौ कि
मलाई अर्कै भन्ठान्यौ कि
नत्र त मलाई
दुखैदुखमा पुरिएको देखेर
नयाँ दुख पनि सधैं दुखि बनेर फर्किन्थ्यो
एक्लोपन र बेवास्ताले स्याण्डविच बनाएको देख्दा
आँसु पनि लतक्क पग्लिएर तर्किन्थ्यो
आफैं सोच त
बिचरा भनेर लेख्ने कलमसमेत किन्न नसक्ने म
कति विवश अनि गरिब थिएँ होला
दुखि बनेर रून पनि नसक्ने
मेरा आँखा कति बाँझा र सुख्खा थिए होला
भाग्य सिधा बाटो भएर हिँड्थ्यो भने यदि
मेरो निधारको नक्सा सधैंभरि नागबेली थियो
माया रसिलो जमिनमा फुल्थ्यो भने यदि
मेरो हृदयको बारीमा खडेरी थियो
पराजीतहरूको लस्करमा पनि म
पराजीत बनेरै
सबभन्दा पछाडिको लाममा उभिएको हुन्थेँ
असफलताको आरोहणमा पनि म
असफल बनेरै बेसक्याम्पमा छोडिएको हुन्थेँ
अनिश्चित नदीको मझधारमा पुगेको बेला
सुनौलो गन्तव्यको किनारमा लैजान भनेर तिमी आयौ
मैले आफैंलाई माया मारिसकेको बेला
मेरो अस्तित्वमा प्राण भर्न भनेर तिमी आयौ
तिमी त असंख्य सम्भावनाहरूको बंगैचामा
सूर्यमुखि बनेर फुलिरहेकि मान्छे
तिम्रो सौभाग्यको अनुहारमा हेर्दै आकाशको घाम
तिमीसँग आँखा जुधाउन यताउता सरिरहन्थ्यो
तिम्रो अस्तित्वको स्पर्श पाएरै हो
फूलहरूले सुगन्ध पाउने
फलहरूले रस पाउने
निर्जनहरूले प्राण पाउने
के थिएन र तिमीसँग
भाग्य लेख्ने अधिकार विधातालाई थियो भने
त्यसलाई फेर्ने ताकत केवल तिमीसँग थियो
सबैलाई दृष्टिगोचर गर्ने शक्ति ईश्वरसँग थियो भने
करूणाले हेर्ने नजर तिमीसँग थियो
त्यसैले त
सम्पत्तिवाल खोज्न सक्थ्यौ
रूपवान् रोज्न सक्थ्यौ
तैपनि तिमीले मलाई रोज्यौ
तिमीलाई थाहा थियो
तिमीसँग उभिने मान्छे कुरूप हुने छैन
तिमीलाई पछ्याउने मान्छे गरिब हुने छैन ।

Monday, July 18, 2022

तिम्रो नाम

 @ सुरेश बडाल




स्कुलका दिनहरु याद आउँछन् । बेन्चमा डटपेनले गाढा बनाएर लेख्ने गर्थें आफ्नो नाम । कक्षाका भित्ताहरुमा पेन्सिलले रगडेर लेख्ने गर्थें आफ्नो नाम । अचम्मको बेला थियो त्यो जताततै आफ्नो नाम लेख्ने रहर । कापीका शुरुका पानाहरुमा । किताबका अन्तिम पानाहरुमा । नोटबुकका जिल्दाहरुमा । कार्डबोर्डका चेप्ने मुन्तिर । हातको नाडीमा । सर्टको बाहुलामा । जताततै लेखेको हुन्थेँ आफ्नो नाम । तर तिमीलाई थाहा छ ? मान्छे जब आफ्नो नाम भुलेर अरुकै नाम लेख्न थाल्छ नि तब ऊ मायामा डुबेको हुन्छ रे ! हो, म पनि त तिम्रो मायामा डुबेको थिएँ । त्यसैले त स्कुलको पछाडिको भित्तामा चकले लेखेको थिएँ पहिलोचोटी तिम्रो नाम । हिउँदयामको कुनै दिन बस चढेर मामाघर जाँदै गर्दा झ्यालको सीटमा सासले हाsss गर्दै चोरऔंलाले लेखेको थिएँ तिम्रै नाम । एक अक्षर पनि नपढ़नु भएकी आमा छेउमा हुनु हुन्थ्यो तैपनि तिम्रो नाम पढ्नु होला भन्ने लाजले हत्तपत्त मेटेको थिएँ । मायामा जति लाज अनि डर त केहीमा पनि नहुँदो रहेछ ।


कुनै दिन बा'ले एउटा नयाँ ज्यामिती बाकस किनेर ल्याइदिनुभएको थियो । लगेको थिएँ स्कुल । नाम लेख्न मेरा औंलाहरु सलबलाएका थिए । हातमा लिएर बाकसभित्रको दुइटा सियो भएको कम्पास, के लेखौं के लेखौं भएर टोलाएको थिएँ म । केही लामो सोचपछि, निकैबेर घोत्लिएपछि, मुस्कुराएको थिएँ म एक्लै एक्लै । मलाई त त्यो दुईचुच्चे कम्पास देखेपछि मसिना खुट्टा भएकी तिम्रो अनुहार बत्ती जाँदा निभाउन बिर्सेको बत्ती आधारातमा फ्याट्ट बलेझैं मगजमा झिलिक्क बलेको थियो । अनि कम्पासको चुच्चोले कोतरेर लेखेको थिएँ ज्यामिती बाकसमा तिम्रो नाम । संगालेर राख्ने गर्थें त्यो बाकस, झोलाको छातीनेर, मुटुजस्तै सानो गोजीमा

 

मेरो एउटा बानी तिमीलाई खुसुक्क भन्छु ल ! तिम्रो नामको छेउछाउमै पनि मलाई नराम्रा कुराहरु मन पर्थेन । यो त्यतिबेलाको कुरा हो जतिबेला तिमी धेरै दिन स्कुल आइनौ । सायद बिरामी परेकी थियौ । मिसले सोध्दा मात्र लाजले राती भएर, केही खुशीजस्तो बनेर, पेट दुखेर नआएको भनेकी थियौ । पेट दुखेर आउन नसक्दा पनि तिम्रो अनुहारको तेज र हर्ष देखेर आश्चर्यचकित भएको थिएँ म । पहिलोचोटी केटीमान्छेलाई मात्र दुख्छ रे यसरी पेट भनेर कसैले भनेको सुन्दा मलाई अचम्मले मर्नु बनाएको थियो । तर तिमी नआएको जनाउन हाजिरी कापीमा लेखिएको गयलको इन्टु चिन्हलाई डटपेनले घोटी घोटी राइट चिन्हमा बदलेको थिएँ । सरले त थाहा पाए, कसले गरेको थाहा पाएनन् । कस्सम मलाई तिम्रो नाम लेखिएको कहीँ कतै केही पनि नराम्रा चिन्हहरु मन पर्थेनन् ।

 

मलाई तिम्रो नाम तिम्रो लागि पोस्टकार्डमा नयाँ वर्षका शुभकामनाहरु लेख्दै गर्दा प्यारो लाग्थ्यो । मलाई याद छ पहिलोचोटी तिमीलाई पोस्टकार्ड दिएको दिन । तिमीलाई हिरोका फोटाहरु मन पर्थेन । तिमिलाई हिरोनिका फोटाहरु पनि मन पर्थेन । रित्तिक रोशनको फोटो पछाडि तिमीलाई नयाँ वर्षको शुभकामना लेखेको पोस्टकार्ड पठाउँदा तिमीले च्यापुको छाला एकै ठाउँमा चुमुर्किने गरेर माथिल्लो ओठलाई तल्लो ओठभित्र घुसारेर ओठ लेब्र्याएकी थियौ । "हिरो भएर के भो र, यो पनि हामीजस्तै मान्छे त हो नि", तिमीले यस्तै भनेकी थियौ । र निकैपछि तिमीलाई महादेव र पार्वती आधा आधा जोडिएको फोटो भएको पोस्टकार्डमा विजया दशमीको शुभकामना दिएको दिन मेरो जीवनको आसाध्यै खुशी भएको दिनको रुपमा अहिलेसम्म पनि दर्ता रहेको छ । तिमीले "पछाडि त्यही जाबो शुभकामना त हो नि" भन्दै "अगाडी धन्न देउता हुनु हुँदो रहेछ" भनेर पोस्टकार्ड निधारमा छुवाएर किताबको कापमा राखेकी थियौ । तिम्रो एउटा गोप्य कुरा भनुँ ? तिमीले त्यो देउताको पोस्टकार्ड झुक्किएर स्वास्थ्य, जनासंख्या तथा वातावरण किताबमा राखेकी रहेछौ । पछि झल्याँस्स भएर "आच्या ! मलाई पाप नलागोस् पर्भु", भन्दै निकालेर हत्तपत्त नेपाली किताबको कापमा राखेकी थियौ रे ! कति बुद्धु थियौ तिमी, प्रजनन अंगका फोटा हुँदैमा किताब कहाँ अशुद्ध हुन्छ र । देउताले नै बनाएका अंगका फोटा हुँदैमा देउता कहाँ रिसाउँथे र लाटी ।

तर तिमीले देउतालाई ढोग्दा इत्ति इत्ति मैले लेखेका अक्षरहरुलाई पनि ढोगेकी थियौ । मेरा अक्षरहरुले लेखेका तिमा नामहरुलाई पनि ढोगेकी थियौ । पठाउनेको नाममा मैले मेरो नाम पनि लेखेको हुन्थेँ । कहिले गणेश, कहिले दुर्गामाता, कहिले शिवपार्वतीसँगै दशैँ र नयाँ वर्षका शुभकामनाका पोस्टकार्डहरु पुग्दा मेरो नामले कहिल्यै तिम्रो निधार छुन पाएन होला है ? पाएको भए त सपक्क टाँसिन्थ्यो होला निम्रो निधारमा मेरो नाम । छापिन्थ्यो होला तिम्रो भाग्यमा मेरो उपस्थिति । तर बालापनका खुशीहरु, किशोरवयका रहरहरु कहाँ पुरा हुन्छन् र । ती त धोद्रो भएर स्वर फेरिएझैं बदलिंदा रै'छन् । जुँगाका रेखी बसेर छिप्पिएझैं छिप्पिंदा रै'छन् टर्रा बनेर खुशीहरु । बालापनमै माया गर्छु भनेको भए त्यो मायाको रुप अर्कै बुझिने थियो । हुर्किएर माया गर्छु भनौँ भन्दा ओठहरु डराए ।

 

समय कति चाँडो बितीजाँदो रै'छ । आँखा झिमिक्क गर्दा नगर्दै फेरिए कैयौँ हिउँदहरु । आएर बलेसीमा रोएर गए कैयौँ बर्खाहरु । आजकल पनि दराजको कुनामा हेर्छु उसैगरी बसिरहेछ तिम्रो नाम लेखिएको बाकस । धुमिल भएको सम्झनाजस्तै खियाले छोपेको छ तिम्रो नाम । सायद तिम्रा नाम खोपीएका स्कुलका बेन्चीहरु पनि सकुसल छैनन् होला आजकल । बर्खाका लेउ र ढुसीहरुले छोपेका होलान् भित्ताहरुमा लेखिएका तिम्रा नामहरुलाई । अडिएनन् कहिल्यै पनि सिसाको बाफलाई औँलाले कोतरेर लेखेको तिम्रो नाम । सायद जलिसके या हराइसके होलान् तिम्रा नामहरु लेखेका पठाएका पोस्टकार्डहरु । केवल अस्ति भर्खर आइपुगेको बिहेको कार्डमा चम्किलो बनेर बसिरहेको छ तिम्रो नाम । "स्कुलका सब साथी भेट हुन्छन्, तँ नि आइज है" भन्ने आवाज तिमीले बच्चाबेलामा बोल्नेजस्तो लजालु थिएन । न त निम्तोको कार्डमा गोल्डेन कलरमा छापिएको अगाडी सुश्री लेखिएकी तिम्रो बाको आयुष्मति सुपुत्रीको नाम त्यति आत्मीय लाग्यो । किन थाहा छ ? मेरो बानी अझै पनि उस्तै छ । मलाई तिम्रो नामको छेउमा कहिल्यै केही नराम्रा कुराहरु भएको मन पर्दैन । मलाई तिम्रो नामको छेउमा भएको फलानाको आयुष्मान सुपुत्रको नाम पनि राम्रो लागेन ।

 

आजकल सबैतिरबाट मेटाएको छु तिम्रो नाम । निधारमा नलेखिएको नाम अन्त जता लेखे पनि केही अर्थ नहुँदो रहेछ । छातीमै ट्याटु खोपाएर लेखे पनि मन परेको मान्छेको नाम, त्यही मान्छे मुटुमा नबसे पछि केही महत्व नहुँदो रहेछ ।

Listen this in YouTube

Thursday, June 30, 2022

चुइगम

 कथा | सुरेश बडाल 


मोटो डन्डीको भए पनि उनको चश्मा स्टाइलिश थियो । लगाउन त पाइन्टमा सामान्य टप्स नै लगाएकी थिइन् तैपनि लुगा स्टाइलिश नै देखिन्थ्यो । हेर्दा सामान्य कालो लेदरको ब्याग काखमा च्यापेकी थिइन् । तर ब्याग पनि स्टाइलिश नै देखिन्थ्यो । खासमा भन्नुपर्दा लुगा, झोला अनि अरू ग्याजेटमा खास केही हुँदैन, मान्छे सुन्दर भएपछि यसै स्टाइलिश देखिन्छ ।

"हजुरको सीट पनि यही हो ?" झ्यालको आफ्नो सीटमा गजधुम्म परेर बस्दै कानमा इअरफोन कोच्ने तयारी गरिरहेको मलाई उही स्टाइलिश केटीले छेउमा आएर भनिन् । कानमा कोच्न लागेको इअरफोन गुजुमुजु पारेर खल्तीमा कोचेर उनका आँखामा वाल्ल परेर हेर्दै मुन्टो तलमाथि हल्लाएँ । उनी भने मलाई नहेरि फलफुल, तरकारीको झोला सीटमाथि कोच्न थालिन् । झोला माथि कोचेपनि स्याऊ तलै थियो, उनको गालामा । सुन्तला तलै थियो, उनको ओठमा ।

"मेरो झ्यालको सीट हो ।" मुट्ठीमा कच्याककुचुक पारेर अँठ्याएको बसको टिकट फैलाएर देखाउँदै उनले भनिन् । झ्यालको सीट मैले काटेको थिएँ । तर म कसरी यति सुन्दर केटीसँग जाबो सीटको लागि बहस गरौँ । आखिर म छेउमा बसौँ या झ्यालमा, बस्ने त उनीसँगै हो । उनले देखाएको टिकट हेर्दै नहेरि खुशीखुशी म छेउमा सरेँ । मेरा घुँडाहरूलाई आफ्ना घुँडाहरूले छुवाउँदै हाँसीहाँसी उनी कुनामा पसिन् ।

बस गुड्यो । बसभन्दा छिटो मेरो मन गुड्यो । कुन्नि कतकता पुग्यो उही छेउकी केटीसँग । बस घच्याक्क गर्दा यसो चिहाएर हेरेँ उनलाई । एकटकले झ्यालबाहिर हेर्दै थिइन् । बाटोका मान्छेहरू, बाटोछेउका पसलहरू, रूखहरू, घरहरू । खै के-के हेरिन् उनले । तर मैले त उनको दाहिने गाला हेरेँ । गालामै एउटा मसिनो कोठी हेरेँ । दाहिने कान हेरेँ । काजुझैँ नरम लाग्ने कानको लोती हेरेँ । त्यही लोतीमा अल्झिएको ल्वाँगजस्तो टप हेरेँ ।

झसंग्ग भएँ जब एकाएक उनका आँखाहरूले मेरा आँखाहरूलाई हेरे । त्यसपछि लजाएर अन्तै अन्तै हेरेँ । पाकेटमारदेखि सावधान लेखिएको बसको भित्तो हेरेँ । बुढाको काँधमा टाउको अड्याएर उँघिरहेकी अघिल्लो सीटकी आईमाई हेरेँ । बाटोमा हेरेर स्टेरिंग घुमाइरहेको ड्राइभरलाई हेरेँ । बनेटमा बसेर ड्राइभरलाई हेरिरहेकी नक्कली नक्कली केटीलाई हेरेँ । तर उनलाई हेरिनँ, छेउकी केटीलाई ।

बोत्तल निकालेर पानी पिएँ तर प्यास मेटिएन । चोरीचोरी फेरि उनैलाई हेरेँ । कच्याउकच्याउ चुइंगम चपाउँदै झ्यालबाहिर हेरिरहेकी थिइन् । एकछिन हेरिरहेँ, बल्ल प्यास मेटियो ।

"चुइंगम ?" हातभरि सेन्टर फ्रुट चुइंगम फैलाएर उनले सोधिन् ।

"नाइँ ।" निच्च परेर अस्वीकार गरिदिएँ ।

"खानुस् न ।" उनले कर गरिन् ।

"नाइँ । बाहिरतिरको कहिल्यै खाँदिनँ ।"

हातको चुइंगम झोलामा राखेर फेरी झ्यालतिरै फर्कीन् उनी । मलाई पछुतो लाग्यो । किन खाइनँ मैले चुइंगम ? म लजाएँ कि एटिच्युड देखाएँ ? झ्यालको सीट छोडेर पग्लिसकेको मान्छे चुइंगम नखाएर फेरि किन जमेँ ? बाहिरतिर केही नखाने पल्टेर इमान्दार र सोझो पल्टिने प्रयास आत्मघाती त भएन ? मैले आफ्नो कदमप्रति खेद व्यक्त गरें ।

खाजा खाने ठाउँमा बस रोकियो । सबै यात्रु उत्रिए । म पनि उत्रेँ । उनी पनि उत्रिइन् । उनलाई छेउमा पाएरै अघाएको मान्छे म । उनलाई हेरेरै प्यास मेटाएको । मलाई खाजा खाने मान्छेहरू वाहियात लागे । बाहिरतिर नखाने छवि पनि त मेन्टेन गर्नु थियो । बसछेउमै उभिएँ । केही खाइनँ ।

पेट भरेका मान्छेहरूले रित्तो बस भरियो । अघाएका मान्छेहरू बोकेको बस कुद्यो । उनले कुरकुरेको प्याकेट फुटाइन् । अब भने मैले आफ्नो गल्ती सच्याउने मौका थियो । उनले अफर गरेदेखि खाने थिएँ तर अफसोस, दिइनन् । एउटा टुक्रा क्रुमक्रुम पारेर चपाइन् उनले । मेरो मुखभित्र रसको मुहान छुट्यो । अर्को टुक्रो चपाइन् । झ्यालतिर हेर्दै कुरकुरेको कर्याककर्याक गर्ने प्याकेट बजाएर दर्जनौं टुक्रा क्रुमक्रुम पारिरहिन् । मेरो मुखभित्रको नाइल नदी घाँटीको बाटो हुँदै पेटसम्म आन्द्रा घोच्नेगरि बगिरह्यो ।

"सुन्तला खानुहुन्छ ?" आफ्नो झोलाबाट सुन्तला निकालेर उनको कुममा हल्का छोएर बोलाउँदै अफर गरेँ । कुरकुरेको धुलो लागेको हातका औँलाहरू चाटिरहेकी उनले पुलुक्क मलाई हेरिन् अनि मेरो हातको सुन्तला हेरिन् ।

"नाइँ", मुसुक्क हाँसेर उनले अस्वीकार गरिन् ।

"खानुस् न", मैले कर गरेँ ।

"नाइँ, घाँटी दुखेको छ । चीसो कुरा खाँदिन", यति भनेर उनी झ्यालतिरै फर्किन् । म चुपचाप सुन्तला केलाउन थालेँ । मलाई त्यो सुन्तला खल्लो लाग्यो । बिरसिलो लाग्यो ।

बीचतिर कतै उनी उत्रिन् । मलाई गएँ पनि भनिनन् । बाई पनि भनिनन् । कुनै सामान्य दिनको कुनै सामान्य अपरिचित हमसफ़र जस्तैगरि गइन् उनी, मेरो मनमा अनि जीवनमा रतिभर प्रभाव नपारीकन ।

तर छेउको खाली सीट र आउनै बाँकी मेरो गन्तव्यका कारण उनको झझल्को अझै केहीबेर आइरह्यो । आफ्नै मनको कुनै गहिराईमा पुगेर देखें आफ्नै जिन्दगीको अर्को समानान्तर रेखा । मेरै आफ्नो अर्को प्रतिरुप देखें मैले । सायद यो विशाल अन्तरिक्ष र निराकार समयको प्रभावका कारण थियो । कुनै समानान्तर ब्रह्माण्डमा आफूलाई पुन: पाएँ । म त्यहाँ पनि थिएँ जहाँ उनी मेरै छेउमा थिइन्, त्रिशुली जाने बसको ७, ८ लेखिएको बी साइडको सीटमा । उही भावमा हत्केला फैलाएर उनले त्यही बिन्दुबाट उसैगरी सोधिन् मलाई, "चुइंगम ?"

"हुन्छ", मुसुक्क हाँसेर उनको हत्केलाबाट मैले एउटा सेन्टरफ्रुट टिपें ।

"अरु पनि लिनुस् न ।" उनले कर गरिन् ।

"हैन, एउटा भए पुग्छ ।"

हातको बाँकी चुइंगम झोलामा राखेर मतिर फर्कीन् उनी । मलाई के गरौँ के भनौं भयो ।

"त्रिशुलीसम्मै हो ?" सोधेँ उनलाई ।

"हैन, अलि वरै, देवीघाटसम्म । हजुर त ?"

"म त त्रिशुलीसम्मै ।"

लस्काएर "ए" भनेपछि निकैबेर चुप भइन् उनी ।

सधैंभरि केटामान्छे मात्र बोलिरहनु पर्छ भन्ने कहाँ लेखिएको छ र । केटीमान्छेहरुले पनि त बोलाउनु हुन्छ नि । आजकल बुलेट बाइक त चलाउँछन् केटीहरु । बन्जी हन्छन्, प्याराग्लाइडिंग गर्छन् । यति आँटिला भएपछि आफैँ कुरा झिक्न केको आइतबार ।

मेरो मनमा खेलिरहेको कुराको भेउ पाएरै होला उनले सोधिन्, "तपाईंको फेसबुकमा के नाम छ नि ?"

एकछिन त अवाक भएँ । सीधै परिचय सोधेको भए भैहाल्थ्यो त, घुमाएर फेसबुकको नाम सोध्न के खाँचो थियो र । तैपनि भनिदिएँ, "रियल नाम जे हो फेसबुकमा पनि त्यही छ ।"

"हाहाहा यु आर सो फन्नी" भनेर उनले एकचोटी मेरो तिघ्रामा प्याट्ट हिर्काइन् ।

उनी स्टाइलिश छिन् ठिकै छ । आजकलका केटीहरु फरवार्ड अनि आँटिला हुन्छन् । यो पनि ठिकै थियो । तर यसरी कसैलाई चिनजान गर्नु अगाडि नै दुख्नेगरि हिर्काउनु जरुरि थियो र ? मैले अँध्यारो मुख लगाएँ ।

खित्का छोडेर हाँस्दा हाँस्दै झट्ट रोकिएर उनले सिरियस अनुहार बनाइन्, "सरी, म त साथी ठानेर अलिक बढी नै जिस्किएछु । तपाईंलाई नराम्रो त लागेन ?"

अब भने मलाई नराम्रो लाग्यो । त्यति खिल्खिलाउँदि सुन्दरीले जाबो प्याट्ट एकचोटी तिघ्रामा हान्दैमा केलाई अँध्यारिनु पर्थ्यो र मैले पनि ।

"हैन, हैन ठिकै छ । म पनि साथी नै त हो नि ।"

उनले मोबाइलमा खोलेको फेसबुकको सर्च गर्ने कोठामा मैले मेरो नाम टाइप गर्न लगाएँ । उनले एड बटन थिचेपछि मेरा फोटाहरु हेर्न लागिन् ।

"कति ह्यान्डसम हो मान्छे त आबुई आबुई आबुई", उनी मलाई साना केटाकेटीलाई जिस्काएझैं गरेर पो जिस्काउन थालिन् । म पनि के कम, भन्दिएँ, "साक्षात् मान्छे यहिँ छ, के फोटो हेरेर ह्यान्डसम भनेकी नि ?"

"आहा, होन्त है ? कति हिरो के तिमी त । गर्लफ्रेन्ड छैन तिम्रो ?"

"अहिलेसम्म त छैन, अब आजैबाट बन्न बेर छैन", एउटा आँखो यस्सो झिम्काएर भनें ।

"उस् उस् उस्" भनेर उनी मसँग हाइफाइब गरेर हाँस्न थालिन् ।

हाम्रा गफहरु बढ्दै गए, हाँसोहरु फैलिँदै गए । बसका अरु यात्रुहरु पनि जिल्ल परेर हेर्न थाले हामीलाई । के यिनीहरु पहिलेदेखि नै चिनेका साथीहरु हुन् ? फगत एक घण्टाको यात्रामै कोही कसरी हात हालेर चल्ने, तिमी तिमी भन्नेगरि नजिकिन सक्छ र ?

खाजा खाने ठाउँमा बस रोकियो । सबै यात्रु उत्रिए । म पनि उत्रेँ । उनी पनि मसँगै उत्रिइन् । उनलाई छेउमा पाएरै अघाएको मान्छे म । उनलाई हेरेरै प्यास मेटाएको । उनीसँग जिस्किएर चलेरै टन्न थियो मन । मलाई खाजा खाने मान्छेहरू वाहियात लागे ।

बसछेउमै उभिएँ । केही खाइनँ । मसँगै उभिएकी उनले भने "एकछिन है" भनेर मेरो हातमा आफ्नो ब्याग थमाइदिएर निस्किन लागिन् ।

"ए, कता तिमी ?" उनको पछिपछि दुई पाइला हिँडें ।

"सुसु गर्न जान लाको । दर्शन गर्न जान्छौ ?" उनी बेस्सरी खित्खिताइन् । म निलोकालो भएँ ।

पेट हल्का गरेर उनी फर्किइन् । आउँदा उनको हातमा कुर्कुरेको ठूलो प्याकेट थियो । पेट भरेका मान्छेहरूले रित्तो बस भरियो । अघाएका मान्छेहरू बोकेको बस कुद्यो । उनले कुरकुरेको प्याकेट फुटाइन् । एउटा टुक्रा आफू खान्थिन्, अर्को मलाई खुवाउँथिन् । कुरकुरे सकियो तर कुत्कुती लाग्ने हाम्रा फ्लर्टहरु सकिएनन् ।

रसिला गफहरु हुँदाहुँदै पनि बोल्दा बोल्दा ओठमुख सुके । अनि झल्याँस्स सम्झिएर आफ्नो झोलाको सिक्री खोलें ।

"सुन्तला खान्छौ ?" आफ्नो झोलाबाट सुन्तला निकालेर उनको कुममा हल्का छोएर बोलाउँदै अफर गरेँ । कुरकुरेको धुलो लागेका हातका औँलाहरू चाटिरहेकी उनले पुलुक्क मलाई हेरिन् अनि मेरो हातको सुन्तला हेरिन् ।

"खुवाइदेउ न", उनले मुसुक्क हाँसेर भनिन् ।

एकछिन त वाल्ल परेँ ।

"हात फोहोर छ, हेर न", यति भनेर उनले मुख आँ गरिन् । सुन्तला केलाएर केस्रा केस्रा गरेर उनको मुखमा राख्दिन थालेँ । सुन्तलाभन्दा बढी त त्यो पल नै रसिलो लाग्यो ।

मलाई उनीसँगको यात्रा कहाँसम्म पुग्ने हो भन्ने कौतुहलताले अधीर बनायो । मलाई हेर्नु थियो आफूले बाँचेको जीवनको रेखाबाट जिन्दगीको त्यो अर्को समानान्तर रेखामा जहाँ उनीसँग बिताउँदै थिएँ म आफूले बाँच्न सक्ने भन्दा पनि भव्य एउटा वर्णनातीत प्रेमिल पल ।

त्यस जीवनरेखाको एउटा बिन्दुमा हामी आ-आफ्ना बिसौनीहरुमा पुगेपछि बसबाट उत्रियौं । तर एकछिनलाई छुटेपनि हाम्रा सम्पर्कहरु बाक्लिन थाले । फोन, च्याट, र भिडियो कलमा हाम्रा हाँसोहरु साटिए, आँशुहरु साटिए । उनको साथ मलाई प्रिय लाग्न थाले । उनीसँग खर्च गरेका समयहरुले मलाई असिम आनन्द दिन थाले । के उनी मसँग प्रेममा छिन् ? मलाई यो प्रश्न सोध्न पनि हिम्मत आउँदैन थियो । मलाई नकारात्मक उत्तरको त्रासले न्याक्थ्यो । यदि उनले प्रेम छैन भनिन् के म सुन्न सकुँला र ?

हिउँदहरु बिते, केही थान बर्खाहरु पनि बितेर गए । उनको हातबाट टपक्क टिपेर खाएको त्यो चुइंगम मनमा गएर पो टाँस्सिएको रहेछ । उनलाई केवल साथीमात्रको हैसियत दिएर मनबाट छुटाउन मन मान्दैन थियो । तर आफ्नो मन पो आफ्नो वशमा हुन्छ त पराईको मनको त के भरोसा ।

जे नसुन्नु पर्ने थियो त्यही सुन्नु पर्यो । आफ्नो चार वर्षको प्रेम सफल भएको जानकारी दिँदै मङ्सिरको एक बिहान उनले बिहेको निम्ता गरिन् । भनिन्, "बाटोमा भेटेर चिनेर, त्यसपछि फेसबुकबाट एड गरेर पनि यति क्लोज फ्रेण्ड भाको तिमी मात्र हो यार । बिहेमा जसरी नि आउ ल ? अत्ति क्लोजहरुलाई मात्र बोलाको छु नि । नाई भन्न पाउँदैनौ है ?"

मेरो आशामाथि दुखको पहाड खस्यो । म:मको कीमा जसरी छिया छिया भयो मन । गाडीको सहचालकले "त्रिशुली आइपुग्यो" भनेर कराएपछि प्यारालाल युनीभर्सबाट पुरानै दुनियाँमा आएर धड्याम्म बजारिएँ । धन्न चुइंगम नखाएर ठिकै गरेछु । नत्र उताजस्तो झण्ड जिन्दगी हुने रहेछ यार । बेकारमा मन मात्र अमिलिने ।

जीवन न हो जुन रेखामा हिँडियो, राम्रै बाटो हिँडिने रहेछ । जीवनमा पश्चातापहरुलाई बिल्कुल ठाउँ दिनु हुँदैन भन्ने मन्त्र मनमा खेलाउँदै बसपार्कमा उत्रिएँ ।

+++

Friday, May 28, 2021

असल मान्छे बनेस्, नेता नबनेस्


पैसानेताहरुले धेरै कमाउँथे, नमस्ते पनि धेरै नेताहरुले नै खान्थे । तर पनि बाआमाहरुले कहिल्यै नेता भएस्, मन्त्री, प्रधानमन्त्री भएस् भनेर आशिर्वाद दिनुभएन । वहाँहरुले डाक्टर भएस् भन्नुभो, इन्जिनियर भएस भन्नुभो डाक्टरले ज्यान बचाउँछ भन्ने वहाँहरुलाई थाहा छ तर कैयन् राजनीतिक नेतृत्वले ज्यान लिएको पनि वहाँहरुले देख्नुभएको छ । इन्जिनियरले भौतिक संरचनाहरु बनाएको वहाँहरुले देख्नुभएको छ तर नेताहरुले संरचना भत्काएको पनि देख्नुभएको छ । डाक्टरहरुले, मास्टरहरुले जे हो त्यो सत्य भन्छन् तर नेताहरुले ज्यादा झुठ बोल्छन् । यही कारणले होला बाआमाहरुले सन्तानलाई असल मानिस बनोस् भनेर आशिर्वाद दिनुभयो, नेता बनोस् भनेर आशिर्वाद दिनुभएन । बरु कसैले हावादारी गफ लगाएको थाहा पाउँदा भन्नुभो, "वाहियात कुरा गरेर नेता नबन् !"

नेता हुनु भनेको खराब हुनु हो भन्ने विचार कसरी हाम्रो मनस्थितिमा पलाउन थाल्यो होला ? देशलाई जहानिया राणा शासनबाट मुक्त गर्ने आन्दोलनलाई नेतृत्व गर्ने नेताहरु नै थिए । देशलाई निरङ्कुश पंचायती शासनबाट बहुदलीय प्रजातन्त्रमा डोहोर्याउने जनसागरको बहावलाई सही प्रवाह दिने पनि नेताहरु नै थिए । माओवादी युद्धले त्राहीमाम बनाएको देशमा निरङ्कुश राजाले शासनसत्ता हातमा लिँदा त्यो अवस्थाबाट शान्ती र लोकतान्त्रिक गणतन्त्रको बाटोमा देशलाई हिँडाउने पनि नेताहरु नै थिए । तर यति हुँदाहुँदै पनि किन बाहरुले सरकारी जागिरे भएस्, मास्टर भएस भन्नुभो, नेता बनेस् भन्नुभएन

असल आचरण र त्याग अनि निष्ठा बोकेका नेताहरु इतिहास भैसके । त आज कृष्णप्रसाद भट्टराई जस्ता सन्त नेताहरु छन्, त गणेशमान सिंह जस्ता हातमै आएको प्रधानमन्त्री पद अस्वीकार गर्ने राजनेता छन् । नेल्सन मण्डेला, गान्धीजस्ता ठूलो परिवर्तनलाई नेतृत्व गरिसकेपछि सत्ताको छिनाझपटीमा नलाग्ने नेताहरु आजकल पाउँदै पाइन्नन् । भ्रष्टाचारको आहालमा चुर्लुम्मै डुबेर मृत्युशैयासम्म पदमा लिसो टाँस्सिएझैं टाँस्सिने चरित्र भएका नेताहरुको बोलवाला भएको ठाउँमा आफ्ना सन्तानहरु पनि नैतिकपतन भएर क्षणिक सुखसुविधाको लोभमा बाटो नबिराउन् भनेरै होला सायद बाआमाहरुले भन्नुहुन्छ, 'नेता नबनेस् ।' 



कुरा नेता बन्नु या नबन्नुको मात्र हैन । कुरा राजनीतिमा कस्ता मान्छे आउने भन्ने हो । सही के हो र गलत के हो भन्ने ठम्याउन सक्ने, न्याय के हो र धर्म के हो भनेर बताउन सक्ने सत्चरित्र भएका चेतनशील मान्छेहरु राजनीतिमा नआउँदासम्म राजनीतिप्रतिको बितृष्णा पुस्तान्तर भएर गैराख्छ र त्यसले समाजको सकारात्मक रुपान्तरणको गति धीमा बनाइराख्छ ।

हामीले विद्यार्थी छँदा देखिनै झोलामा तरबार र खुकुरी लिएर कलेज छिर्ने विद्यार्थी नेताहरु देख्यौं । विद्यार्थीको हकहितमा काम गर्नुपर्ने संगठनका नेताहरु ठेक्कापट्टा टेण्डरका लागि भिडेका देख्यौं वातावरण विज्ञान पढा हुने कलेजकै अगाडि त्यसका विद्यार्थी नेताहरुले टायर बालेको देख्यौं । सुसंस्कृत राजनीतिको शुरुवात हुनुपर्ने प्राज्ञिक ठाउँबाट नै प्रदुषित आचरण बोकेर निस्किएकाहरुले देशको राजनीति संग्लो बनाउलान् भनेर कसरी आशा राख्न सकिन्छ र ? जसले अर्को संगठनको मान्छेको हात छिन्ने गरेर खुकुरी हान्न सक्यो त्यो नै उपल्लो कमिटीहरुमा मनोनित हुँदै जाने परम्पराले सैद्धान्तिक र वैचारिक राजनीतिलाई किनारा लगाइदिनु नै थियो ।

प्राज्ञिक थलोको अवस्था यस्तो भैरहेको अवस्थामा निष्ठावान् कार्यकर्ताहरुको भीडबाट ठेक्कापट्टा र गुण्डागर्दीबाट अकुत सम्पत्ति र बाहुबल हासिल गरेकाहरु माथि निस्किनु र चुनावको टिकट हासिल गर्नु नौलो भएन । बाहुबल र सम्पत्तिको बलमा राजनीतिक शक्ती मिस्सिँदा खराब नेताको चयन हुन पुग्यो । यो एउटा यस्तो संयन्त्र बन्न पुग्यो कि हामी पुस्तौंसम्म यस्तै नेतृत्वबाट शासित हुन अभिशप्त भयौं ।

केही पूर्वमन्त्रीहरु कोही सामुहिक हत्याको मुद्दामा जेलभित्र छन्, कोही अपहरणको मुद्दामा । केही भ्रष्टाचारको आरोपमा मुद्दा खेपिरहेछन् त केहीलाई यौन दुराचारको आरोप लागेको छ । आजको दिनमा कुनै पनि संगिन आरोप नलागेका नेता बिरलै होलान् । धेरै पछाडि जानै पर्दैन, अपराधको दुनियामा कुख्यात बनिसकेका मान्छेहरु समेत मन्त्री बनेको हामीसँग निकट इतिहास छ ।

अहिले संसार कोरोना भाइरसको संक्रमणको महामारीले त्राहीमाम छ । यस्तो विषम घडीमा पनि हाम्रा नेताहरु भने इतिहासमा कहिल्यै नभएको कुर्सीजात्रामा मग्न छन् । जनता उपचार नपाएर मरिरहेका छन अस्पतालहरुमा शैय्या छैन । भेन्टिलेटर छैन, अक्सिजन छैन । अरु त अरु अब सिटामोल र स्टेरोइडको पनि अभाव देखिन थालेको छ । तर जनता बचाउनु पर्ने सरकार कुर्सी बचाउन तल्लिन छ । दैनिक सैयौं मान्छेहरु मरिरहँदा राजधानीमा नेताहरुको सैयौं बैठकहरु भएका छन् । तर बिडम्बना, बैठकको विषयवस्तु कोरोनाको नियन्त्रण, स्वास्थ्य संरचनाको शिघ्र व्यवस्थापन नभएर सत्ताको अंकगणित कता भारी बनाउने भन्ने रहेको छ । यस्तो लाग्छ हाम्रो राजनीति मसानघाटमा बलिरहेको चिताको उज्यालोमा उत्सव मनाइरहेछ ।

कोभिडको महामारीले थिलथिलो बनाएको अवस्थामा समेत राजनीतिको घृणित खेलमा अभिसप्त नेताहरु भएपछि कसले आदर्श मान्ने नेताहरुलाई ? नेताहरु त लागिपरेकै छन् । आफूले सिन्को भाँच्न नसके पनि अनुदानमा वा सहयोगमा आएका अक्सिजनका सिलिन्डर बोकेर ठाउँ ठाउँमा पुगेका छन्, चुनावको भोटको आधार तयार गर्न । जब मान्छेको सासको सौदा हुन थाल्छ, जब त्यो सास समेत रोकिएपछि त्यसको लाशमा पनि राजनीति हुन थाल्छ, तब बुझ्दा हुन्छ यो समाज अब नैतिकताको जगबाट भास्सिइसक्यो ।

कोरोनाको महामारी आएको पनि एक वर्ष भैसक्यो । यो एक वर्ष तयारीका लागि सानो समय पक्कै पनि थिएन । तर हामीले यो एक वर्ष बेसारका गफ छाँटेर बितायौं हामीले बीर नेपालीका इम्युनिटीका बारेमा कथा हाल्यौं । हजारौं मान्छेहरुलाई जुलुसमा बोलायौं । निर्लज्जताको एउटा नाङ्गो नाच देखायौं । अहिले आएर एउटा सानो पश्चाताप पनि गरेनौं । नेतृत्वको यो हदको गैरजिम्मेवारपनाको मुल्यमा हामीले हजारौं अमुल्य प्राणहरु गुमाउनु पर्यो ।

संसारमा संकट सधैं अवसर बनेर आएको हुन्छ । तर हामीले सकारात्मक बाटोमा हिड्ने अवसरहरु गुमाएका छौं । हिजो भूकम्पमा राहत सामग्रीमा भ्रष्टाचार भयो, त्रिपाल, जस्तापाता अनि पुनर्निर्माणका नाम केही नेताहरुले अवसरको स्वाद चाखे । नाकाबन्दि केही मान्छेका लागि कालोबजारीबाट कमाउने अवसर बन्यो । कसैका लागि नक्कली राष्ट्रवादको विज्ञापन गरेर सत्ताको भर्यांग चढ्ने अवसर बन्यो ।

आज मानवताकै यति बिघ्न संकट उत्पन्न हुँदा पनि शुरुमा टेष्ट किटको खरिदमा घोटाला भयो । त्यसपछि अहिले प्राणरक्षक खोपको खरिदमा लेनदेनकै कुरामा ढिलाई भैरहेको छ । के यतिसम्म निर्मम हुन्छ र राजनीति ? आज अक्सिजनको अभावमा छटपटाईरहेका, औसधि र खोप कुरेर आतंकित हुँदै घरभित्र थुनिएका मान्छेहरुलाई जोगाउन नसक्ने हो भने भोलि कसका लागि गर्ने हो राजनीति ? यसरी दिगमिग लाग्दो नाङ्गो नाचलाई राजनीति भनिरहने हो भने, यसरी आमानवियताको चरमोत्कर्षलाई राजनीति भनिरहने हो भने, यसरी बेथिति, अशान्ती र सत्ताको छिनझपटीलाई नै राजनीति मानिरहने हो भने, हामीले राजनीतिको सही अर्थ के हो भनेर बिर्सिसकेका छौं ।

महामारीमा अर्को देशले औसधी गरिदिनु पर्ने, प्राकृतिक प्रकोपमा पनि अर्को देशले आएर उद्धार गरिदिनु पर्ने, विषम परिस्थितिमा एकजुट भएर संकटको सामना गर्नुपर्ने बेलामा हामी झन् भन्दा झन् अहंकार स्वार्थको दहमा डुबेर बस्ने, आफ्नो संसद पटक पटक विघटन गरेर हामी अर्काको देशको संसदमा हाम्रो बिपत्तिको निराकरणका बारेमा भएका छलफलहरुको समाचार सुन्नुपर्ने, यो भन्दा लाजमर्दो अरु के हुन्छ ?

आज जनता घर बाहिर निस्किए रोगले, घरभित्रै बस्नुपर्दा भोकले मर्नुपर्ने स्थिति छ । यस्तोमा ती पिडित जनताको संवेदनामै प्रहार गर्ने काम भैरहेको छ । निषेधाज्ञाको डन्डीले लखेटेर घरभित्र बन्दि बनेकालाई नै कुरीकुरी गरेर गिज्याउने पारामा भीडका भीड गर्दै कहिले अदालतमा नाटक त कहिले पत्रकार सम्मेलनका नाममा बालुवाटारमा नौटंकी गरेर देखाउने काम भैरहेको छ ।

संसारमा कुनै पनि संविधान पूर्ण हुँदैन । कुनै पनि व्यवस्था खोटरहित हुँदैन । हरेक चिजबिजको गुणवेत्ता त्यसको संचालनकर्ताको सीपमा निहित रहेको हुन्छ । पटक पटकको व्यवस्था परिवर्तन, पटक पटकको नयाँ संविधानको लेखनपछि पनि हामीकहाँ नसुध्रिएको एउटै कुरा हो नेतृत्व र राजनीतिक संस्कार । यसर्थ नेताहरु जन्माउने मुहान नसंग्लिएसम्म, राजनीतिक नेतृत्वमा असल संस्कार नबसेसम्म हाम्रो अहिलेको पुस्ता बुढाबुढी भएपछि पनि आशिर्वादको स्वरूप उस्तै रहने निश्चित छ, 'असल मान्छे बनेस्, नेता नबनेस् ।'

तिमीले रोजेको मान्छे

आकाशको नाङ्लाभरि छरेर तारा बिचमा एउटै मात्र जून कसले राख्यो होला ? बाँडेर सबैलाई अनेक कमसल धातू मेरो भागमा नम्बरी सून कसले राख्यो होला ? म त...