@ सुरेश बडाल
उमेर के हो ? के हो यसको परिभाषा ? यसैलाई मनन गरिल्याउँदा आउँछन् अनेक कुराहरु । यस धर्तीमा पहिलो पाइला टेकेदेखि सेकेन्डलाई मिनेट, मिनेटलाई घण्टा, घण्टालाई दिन, त्यसपछि हप्ता, महिना अनि बर्षको थुप्रोमा थुपारेर जोखेपछि जति परिमाण निस्किन्छ त्यसैलाई उमेर भनिन्छ । यसैको खुशियालीमा, आफू धर्तीमा उत्रिएको दिनको सम्झनामा मान्छेहरु जन्मदिन मनाउने गर्दछन् । उत्सव मनाउने गर्दछन् । उमेर भनेको जिन्दगीको बारीको त्यो पाटो हो जहाँ मृत्युले हरदम हलो जोतिरहेको हुन्छ । मृत्युको हलो बारीको छेउछाउ जोत्दै जोत्दै बिचमा आइपुग्छ अनि फेरिन्छ जिन्दगिको अनुहार ।जिन्दगी गर्मीयामको कुनै
घमाइलो दिनमा बाटोमा कुनै बच्चाले चुसिरहेको बर्फिलो कुल्फी हो जो पल-पल
पग्लिरहेको हुन्छ । त्यो तत्काल त सकिँदैन तर सकिन्छ अवश्य । मुखबाहिर राख्दा पनि आफैँ
पग्लिएर सकिन्छ । मुखभित्र राख्दा पनि चुसिएर सकिन्छ । जिन्दगि त त्यहि बच्चाको
छेउमा उभिएर उसकै बाउले तानिरहेको चुरोटको खिल्ली पनि हो जो ओठमा टाँसिरहँदा पनि
सकिन्छ, हावामा नाचिरहँदा पनि सकिन्छ ।
उमेर त जिउन बाँकी
जिन्दगिको समयको नापो पनि हो । मान्छेले यदि थाहा पाउँदो हो त आफू यस लोक छोडेर
परलोक जाने दिन, बेला, घडी र पला । उसले मनाउँदो हो उत्सव मर्ने दिनको तिथि
निकालेर । थाहा पाउँदैन र त निरासिन्छ मान्छे । दुखि हुन्छ सानो-सानो कुरामा ।
मृत्यु निश्चित छ । त्यो जुन दिन पनि प्राप्त हुन सक्छ । त्यसैले भनिएको हो, हरेक
दिनलाई अन्तिम दिन मानेर जिन्दगि उत्सवमय बनाउनु पर्छ ।
मलाई सानो छँदा सधैँ ठूलो
हुने चाहना रहन्थ्यो । यति ठूलो कि बा’को जस्तै ठूलो चप्पल लगाउन सकौं । यति ठूलो
कि एक्लै-एक्लै बजार जान सकौं । यति ठूलो कि झयाप्प दाह्री पाल्न सकौं । जुँगा
मुसार्न सकौं । दाह्रीजुँगा उमार्ने बहानामा लुकी-लुकी बाको दाह्री काट्ने मेसिनमा
ब्लेड राखेर आफ्ना कलिला चिल्ला गालाहरुमा दौडाएको अझै सम्झना आउँछ । गालामा त
दाह्री थिएन तर उत्तेजना थाम्न नसकेर दाह्रीजुँगाजस्तै त हो नि भनेर निर्दोष
आँखिभौंहरुलाई निधारनिकाला गरेको आजैजस्तो लाग्छ । यति गर्दा पनि खुइलिएको
अनुहारले मलाई उमेरको थुप्रो कोसेली दिने काम गरेन । बरु बाँदरजस्तो देखियो भनेर
सारा दुनियाँका लागि जिस्काउने अवसर भनेर अवश्य प्रदान गरेको थियो ।
ठूलो हुनुपर्ने आवश्यकता
मलाई यस कारण थियो कि सानो भएका कारण मसँग धेरै सीमितताहरु थिए । म सात बर्षको
हुँदा मलाई कसैले ‘कति बर्षको भइस् ?’ भनेर सोध्यो भने ‘आठ वर्ष’ भन्थेँ । मेरो
हिसाब थियो- म जन्मेको दिनमा नै एक बर्षको भएको थिएँ । मसँगैका सिगाने बच्चाहरु जो
मभन्दा केहि महिनाले जेठा हुन्थे, उनीहरुको भाइ हुन म तयार थिइनँ । यसर्थ पनि मलाई
आफ्नो तर्कले भ्याउने एक बर्ष उमेर बढाउनु जरुरि थियो ।
उमेर एउटा मनोविज्ञान रहेछ,
सुपेरिअरिटि अनि इन्फेरीअरिटिको । मैले देखेदेखि नै मेरा बा’को कपाल ढडडु भएर
फुलेको थियो । मैले कहिल्यै बा’लाई कालो कपालमा देखिनँ । भलै एक समय थियो बा’ले
कपालमा कालो लगाउनु भएको थियो । त्यो रमाइलो किस्सा छ । याद भयो र समय भएमा त्यसको
चर्चा तल अर्को अनुच्छेदमा गरौंला ।
बा’ बेला नहुँदै बुढो
देखिन थाल्नु भयो । उमेर भनेको सधैँ जिन्दगिको नदीमा समयको नाउले छिचोलेको दूरीमात्र
नहुँदो रहेछ । उमेर त कुनै साधुले ललाटमा चन्दनका धर्साहरु केरेझैँ दुखका धर्साहरु
निधारमा केर्नु पनि रहेछ । कति धर्साहरु बढे भनेर हेर्नु पनि रहेछ । मान्छे उमेरले
भन्दा पनि दुखले बुढो हुने रहेछ, जिम्मेवारीले प्रौढ हुने रहेछ । यसै भनिएका हैनन्
यी कुरा । मेरै बा’लाई हेरेर भनिएका पो हुन् कि ?
झ्याप्प फुलेका कपाल अनि
ढाकाटोपी । बुढो हुन के चाहियो ? मलाई मेरा बा’ गाउँभरि नै सबैभन्दा जेठोजस्तो
लाग्थ्यो जसरी सिगाने बच्चाहरुको हुलमा म आफू नै जेठोजस्तो लाग्थ्यो । तर यथार्थ
फरक हुँदो रहेछ । एकदिन बा’ले आफूभन्दा पनि कलिलो देखिने एकजना पसलेलाई दाइ भन्नु भयो
। सबभन्दा धेरै हिनताबोध मलाई भएको थियो । एकजना जिन्स र सर्ट अनि कालो चश्मा
लगाएका मान्छेलाई बजारमा भेट्दा बा’ले ‘यो मसँगै पढेको बच्चा बेलाको साथी' भनेर
चिनाउनु भयो । मैले नमस्ते गरें तर म धेरै दुखि भएको थिएँ ।
बा’ जिम्मेवारीले छिट्टै बुढो
हुनु भयो । गाउँको दुख र चिन्ताले छिट्टै प्रौढ देखिनु भयो । तर बा’का पसले,
ठेकेदार आदि इत्यादि साथीहरुले रमाइलोमा आफूलाई भुल्याए । उमङ्गमा रंगिए ।
बुढ्यौली उनीहरुलाई जिन्दगिको कुनै चोकमा कुरिरह्यो, उनीहरु थाहा पाएरै त्यता
जाँदै गएनन् !
जिन्दगीको भागदौडमा म पनि
कहिले बच्चा देखिएँ कहिले बुढो देखिएँ । कहिले आफूभन्दा ठूलाले पनि दाइ भने कहिले
आफुभन्दा सानाले पनि भाइ भने । दाह्री काट्दा पाँच वर्ष कलिलो र दाह्री पाल्दा
त्यति नै बुढो देखिने भएको थिएँ । तर उमेर बढाउन खोज्ने मनोविज्ञान भने उस्तै थियो
। प्रकृतिले नै पुरुषहरुलाई अलि पाको बन्न, परिपक्व बन्न सघाउने रहेछ । खासमा बुढो
नदेखिने पुरुष प्रकृतिले निर्धारण गरेको पौरुषत्वको बिरुद्धमा गएको रहेछ ।
मेरा एकजना काकाकी छोरी थिई,
दिदी । पढेलेखेकी नै थिई । जागिर पनि खान्थी । खै के के कारणले हो बिहे हुन नसकेकी
। हामी भाइहरु हुर्कंदै आएपछि दिदी झन् मसिनी देखिन थालिन् । भाइहरुको पालैपालो
बिहे भैसक्दा पनि दिदीको बिहे हुन सकेको थिएन । यो काकाको निम्ति ठूलो चिन्ताको विषय
थियो । उमेरकी कलिली केटी खोज्ने समाजमा दिदी ‘नबिक्ने’ हुन थालेकी थिइन् ! दिदी धेरै
पटक धेरै केटाहरुबाट ‘रिजेक्ट’ भैसकेकी थिइन् ।
एकदिन काकाले मलाई बोलाएर
भन्नुभो, ‘बैनीको बिहे गर्न गाह्रो पर्दैछ । तेरो कोही केटा साथीहरु छैनन् ? खोज्
न ।’
एकछिन वाल्ल परें । कोही
बैनी थिएनन् परिवारमा जसको बिहे गर्न हतार परेको होस् । को बैनीको बारेमा कुरा
गरेको जस्तो लागेर सोचेँ । अनि प्रश्नको आँखा तर्दै काकालाई सोधेँ, ‘को बैनी ?’
‘सरिता ।’
‘त्यो त मेरी दिदी हो
बुढा, तिन वर्ष जेठी छ ।’
‘था’छ था’छ । अब दिदी नै भनिराख्
अनि बुढीकन्या नै बस्छे सरिते !’ काका आँखा राता पार्दै हान्निएर हिँडे । काकासँगै
एउटा निर्मम लाचारी पछि लागेको थियो । ननिस्किएको रुवाई अघि लागेको थियो । म
अकमक्क परें ।
त्यो दिनबाट सरिता दिदी मेरी
बैनी भएकी थिई ।
उमेर सँगसँगै मान्छेका
सोचहरु फेरिँदा रहेछन् । रहरहरु बदलिँदा रहेछन् । हिजोका चाहनाहरुको प्यास लाग्दो
रहेनछ आज । हिजोका खित्काहरुमा आज हाँसो लाग्दो रहेनछ । जस्तो कि हिजो चप्पल उल्टो
देख्दा पनि हाँसो लाग्थ्यो । मोजा सुल्टो देख्दा पनि हाँसो लाग्थ्यो । आज हिजोका जस्ता
रुने बहानाहरु छैनन् । केही अर्कै छन् बहाना जसले परेलीका डिलसम्म आँशु ल्याएर राखिदिन्छन्
। घाँटीको रुद्रघन्टीमै भक्कानो ल्याएर राखिदिन्छन् । अक्सर रुने बहानाहरु अधुरा
प्रेमका नाममा आइदिन्छन् । त्यही अधुरो प्रेमकी नायिका थिई ऊ ।
‘तिमी कति सालको ?’ कुनैदिन
उसले सोधेकी थिई ।
‘पैंतालीस ! तिमी नि ?’
ऊ चुप बसेकी थिई । उसका
आँखाहरुले पराजित मुस्कान मुस्कुराएका थिए ।
‘भन न ।’
‘म पनि पैंतालिसको नै हो’,
झुटको ग्लस पोतेको ओठबाट भनेकी थिई उसले ।
‘अँ होला’, मैले भनेको
थिएँ ।
‘हिहिही हो के ।’
‘साँच्ची भन न ।’
‘म त छयालीसको तर तिमीभन्दा
धेरै कान्छी चाहिँ हैन है, ठ्याक्कै बैसाखमै हो जन्मेको’, यति भनेर उसले मसँग
बराबरी गर्न खोजेकी थिई । तर मैले त उसलाई चिढ्याउने बहाना पाइसकेको थिएँ ।
‘तोइट बच्चाहरु भएर दाइ...’
म दाइ शब्दमा अडिएको थिएँ । खै के थियो मेरो अवचेतन मनमा म उसको दाइ हुन तैयार
बेहोसीमा पनि थिइनँ । अनि एकछिन अडिएपछि भनेको थिएँ, ‘बच्चा भएर ठूलामान्छे सँग गफ
गर्न आउने हो ?’
‘को ठूलो मान्छे ?...तिमी ?’
उसले अट्टहास गरेकी थिई । म निच्च परेको थिएँ ।
‘मजस्तो बच्चासँग एउटै
क्लासमा पढ्ने पनि ठूलो मान्छे ?’ ऊ मलाई कहिल्यै जित्न दिँदैन थिई । सधैँ
आफूमात्र जित्थी ।
कुरैकुरामा एकदिन उसलाई
भनेको थिएँ, ‘म त तिमीसँग बिहे गर्ने हो ।’
‘छि छि कसले गर्छ तिमीसँग
बिहे ?’ उसले तन्दा खुज्मुजिएजस्तो खुज्मुजिएको मुख बनाएर भनेकी थिई ।
‘किन र ?’ म वाल्ल परेको
थिएँ ।
‘तिम्रो डन्डीफोर छ ।
चुप्प खानै घिन लाग्छ ।’
ऊ साँच्चै बच्चा थिई ।
कसलाई के पर्छ केहि नसोची भन्थी । उसका शब्दहरुले म बेस्सरी टुटेको थिएँ ।
बेसनको पिठो दलेको थिएँ,
रक्तचन्दन पोतेको थिएँ, घ्यु खाइनँ, पानी गाईवस्तुले जसरि पिउँथें । बल्ल हराएको
थियो डन्डीफोर । तर खाटाहरु बाँकी नै थिए, गालामा पनि, मनमा पनि । तर म पनि के कम
थिएँ, मौका पाउनासाथ जिस्काइहाल्थें उसलाई ।
‘तिमीले आज जुँगा काटिनौ ?’
उसको माथिल्लो ओठमाथि पातलो जुँगाजस्तो देखिने रौँका रेखीलाई देखाउँदै सोध्थें ।
हत्केलाले मुख ढाकेर
निन्याउरो रुन्चे अनुहार बनाएर चित्त काटिनेगरि भन्थी ऊ, ‘म कति धेरै नराम्री छु
है ?’
‘हैन, तिमी साह्रै सुन्दर
छौ । मलाई त तिम्रो त्यो जुँगाको रेखिलाई पनि चुमिदिन मन लाग्छ ।’
‘छि छि फोहोरी’, यति
भनिसक्दा उसको अनुहारमा ताराहरुका बथान झिल्मिलाई सक्थे ।
हामी साथी थियौँ । या अझै
माथि थियौँ कि ? मित्रता चोखो छ भने बिटुलिएला भन्ने डरले प्रेम पनि बीचमा आउन
डराउँदो रै’छ ! हामीमा त्यस्तै भएको थियो सायद ।
‘मलाई के दिन्छौ बर्थडेमा ?’
उसले सोधेकी थिई । मैले दुई तिन थान उपन्यासहरु दिएको थिएँ उसलाई । र भनेको थिएँ,
‘यसैगरी वर्ष वर्षमा किताब दिएर तिम्रो घरलाई लाइब्रेरी बनाइदिनेछु ।’ तर कैयौँ
साल बिते, उसलाई नभेटेको, नबोलेको, किताबहरु नदिएको । सुनेको छु, बच्चाजस्ती ऊ
आफैँ बच्चाकी आमा भएकी छ रे ! लाइब्रेरी नै त नबन्ला तर उसले सिरानीमा खुसुक्क
राखेर बेलाबखत सुमसुम्याएर हेरिराख्न छिट्टै नै कोसेली दिने चाहना छ उसलाई एउटा
किताब, आफैंले लेखेको !
कता कता पो बरालिएछु
! खैर छोडम् । अब अन्त्य गर्नुपर्छ यो लेखलाई । बा’ले कपाल रंग्याएर कालो पार्नु
भएको किस्सा अहिले बिस्तारमा सुनाउन भ्याइनँ । छोटकरीमा भन्छु, बुढाले डुब्लिकेट
रङ्ग लगाउनु भएछ कपालमा । कपाल कालो बनाएकै साँझ एलर्जीले अनुहार फुल्यो । जिउभरि
डाबर उठ्यो । अस्पताल जानुपर्ने भयो, र जानुभयो । अस्पातलबाट फर्किंदा बा’ झोलाभरी
औसधि बोकेर आउनुभयो । अनि आउनुभयो रित्तो टाउको लिएर । हिजो कालो भएका कपाल आज
तालुनिकाला भएका थिए । भोलिपल्ट देखि नै बा’को टाउकोबाट पुरानै श्वेत रङ्गका
रोमहरु टुसाउन थालेका थिए ।
Comments
Post a Comment