Skip to main content

बिहेको बिरुद्धमा!


देशको प्रधानमन्त्रीसमेत भएका सन्त नेता कृष्णप्रसाद भट्टराई जीवनभर अविवाहित थिए। त्यस्तै पटक-पटक देशको प्रधानमन्त्री र नेपाली कांग्रेसको शक्तिशाली सभापति भएका गिरिजाप्रसाद कोइराला पनि जीवनको पछिल्लो कालखण्ड जतिबेला उनी शक्तिको केन्द्रमा थिए, एकल पुरुष थिए। एक हिसाबले यी नेताहरुको सफलतामा जीवनसंगिनीको बाधा रहेन! विश्वमै पनि यस्ता धेरै नेताहरु छन् जसले बिहेलाई भन्दा आफ्नो राजनीतिलाई महत्व दिएर सफलता हात पारे। श्रीमती त्यागेका कारण प्रधानमन्त्री भएका नरेन्द्र मोदीदेखि श्रीमतीलाई महत्व दिँदा आफ्नो तीसौं बर्षको राजनीति सिध्याएका जिम्बाब्वेका रोबर्ट मुगाबेसम्मका उदाहरणहरु छन्।

नेपाली सिनेजगतका महानायक राजेश हमाल महानायक बन्नुमा पनि उनी जीवनको लामो समय अविवाहित रहनुले भूमिका खेल्यो। दुई तीनपटक बिहे गरेका कारण जति नै राम्रा र हिट चलचित्र दिए पनि भुवन केसी महानायक भनिएनन् भन्ने मेरो ठम्याई हो! नेपालमा मात्र हैन बिहे नगरेकै कारण हिन्दी सिनेजगतमा सलमान खान पनि सुपरस्टार भएका हुन्! नत्र उनको अभिनय हेर्दा त सुपरस्टार र उनी भनेका दिन र रातझैँ कहिल्यै नभेटिने जस्ता लाग्दछन्।

बिहे भने एक किसिमको बन्धन हो। यो भौतिक रुपमा नदेखिने किसिमको सामाजिक कारावास हो। यहाँ पर्नेहरु जिन्दगीको धेरै मिठा सफलताहरु गुमाउन पुग्दछन्। म एउटा ताजा दृष्टान्त दिन चाहन्छु। केहि समय अघि एक चर्चित कवि तथा लेखिकाले आफ्नो पारपाचुकेको सालगिराह मनाइन्। यदि उनी सामान्य महिला हुन्थिन् भने उनको त्यो सेलिब्रेसनलाई त्यति महत्व दिइदैनथ्यो। तर उनी एक सफल लेखिका थिइन् त्यसैले यसको बारेमा ब्यापक चर्चा परिचर्चा भयो। मलाई उनको उत्सव हेर्दा यो नतिजामा पुग्न गाह्रो परेन कि उनले आफ्नो सफलताको श्रेय विवाहको बन्धन त्यागेको दिनलाई दिइन्।


कहिलेकाहिँ सोच्छु चराहरु किन यतिबिघ्न खुशी भएर आकाशमा उँडिरहेका होलान्? जीवजन्तुहरु किन यतिबिघ्न स्वच्छन्द छन्? अनि गम्छु आफैँसँग। उनीहरु त मान्छेजस्तो बिहे गर्दैनन्। तर ‘घामपानी घामपानी स्यालको बिहे’ भनेर हामीले सानामा पढेका थियौँ। त्यो स्यालको बिहे अपबाद थियो। बिहे गरेकै कारण स्यालको हैसियत जनावरहरुमा एकदम तल रहेको छ! नत्र अरु जनावरहरुको पनि बिहे हुने भए कस्तो भयावह अवस्था हुन्थ्यो होला सोच्नुस् त। घरमा दुध खान पालेका गाईभैँसी बिहे गरेर आ-आफ्ना राँगा, गोरुधनीका घर गए भने कति घाटा लाग्ला? भोलिपल्टबाटै फिका चिया खानु परेन बिहानै?

बिहे एक किसिमको मानवताबिरोधि कदम हो। मंग्सिर, माघको जाडोमा खड्कुलोमा खुट्टा राखेर करुवाको चिसो पानीले निलो हुनेगरी खुट्टा धोइदिनु। अनि सकिएपछि जाडो भएर जुत्ता लगाउन खोज्दा साली भनाउँदा लुटेराहरुको जत्थाले जुत्ता लुकाइदिनु। यो मानवताबिरोधि अपराध नभएर के हो त आखिर? अझ जुत्ता फिर्तीका लागि भनेर हजारौं रुपैयाँको माग गर्छन्। के मान्छेको दुख पैसासँग तुलना गर्न मिल्छ?

संसार बदल्छु भन्ने मान्छेहरु बिहेका कारण घरमै ग्याँसको सिलिन्डर बदलेर बसेका छन्। देश चलाउँछु भन्नेहरु तरकारी चलाएर बसेका छन्। चन्द्रमाको दाग पखाल्छु भन्नेहरु छोराछोरीले छेरेका सुरुवाल पखालेर बसेका छन्। आखिर देश किन अगाडी बढेन? कसैले सोचेको छ यो बारेमा? प्रगतिको पथमा लम्किनु पर्नेहरु अरुको समेत बाटो छेकेर बाटोमा बाजा बजाउँदै घिस्रीरहेका छन्। अनि कसरी बन्छ त देश?

बहत्तर साल असोज तीन गते जारी भएको संविधान त्रुटीपूर्ण छ। यसमा बिहे गर्न नपाइने प्रावधान समेटिनु पर्ने थियो। तर रङ्गरमाइलोका भोगीहरुले यस बारेमा केहि सोचेनन्। सम्बृद्ध नेपाल सुखी नेपाली कार्यक्रम बिहे गर्ने नीति कायम रहँदा कसरी सम्भव हुन सक्छ? उसैको भोज खाएर उसैको कुरा काट्ने। उसैको बिहेमा नाचेर आएर उसैकी स्वास्नी नराम्री रै’छे भन्ने संस्कारले सम्वृद्धि हाम्रै पालामा कसरी सम्भव हुन्छ र!

बिहे त काँतरहरुका निम्ति हो। एक्लै सुत्न डराउनेहरुको निम्ति हो। बहादुरहरुलाई कोहि कसैको साथ चाहिन्न। आफ्नो जिन्दगिको जिजीबिषा आफैँ धान्न छोडेर अरुलाई दुख दिनु के यो न्यायोचित हुन्छ? जन्मिदा एक्लै जन्मिनुपर्ने, मर्दा एक्लै जानुपर्ने, तर केको लागि बिहे गरेर बस्नुपर्ने हो फ्याँकेको चुरोटको ठुटोजस्तो छोटो जिन्दगीमा? आखिर जन्मअघि र मृत्युपछिको अनन्त दुनियाँमा पनि त कसैको साथ चाहिन्थ्यो होला त। किन सँगै मर्छु भनेर आफ्नै घाँटी थिचेर यमलोक डिलक्समा सँगै चढ्न आउँदैनन् त सँगै बिहे गरेर जीवनसाथी भएकाहरु?

बिहेका कारण मान्छे कमजोर भएको छ। बिहेका कारण मानव सभ्यता परनिर्भर भएको छ। यहाँ भात पकाउने मान्छे खोजेर बिहे गर्ने चलन बसेको छ। भाँडा माझ्दिने मान्छे रोजेर बिहे गर्ने नियत भएको छ। अरु त अरु आफ्नो खुट्टामा चिल्लो लगाइदिने मान्छे सोचेर बिहे गर्दैछन् छोराको। यदि कसैको श्रमको उपभोग गर्नकै लागि बिहे गर्ने हो भने किन बिहे भनेर भोज खुवाइरहनुपर्यो। यो त अमेरिकामा अब्राहम लिंकनले उहिले नै हटाइसकेको दासप्रथाको पुनारावृती हैन र? अनि यस्तो मानवताबिरोधि कार्यलाई बिहे भनेर दर्ता किन गर्दैछ स्थानीय सरकार?

बिहे सम्पूर्ण सामाजिक समस्याको जड हो। प्रगतिपथको बाधक हो। सम्वृद्धिको स्पिडब्रेकर हो। सुखी नेपाली बनाउने सरकारी लक्ष्यको अवरोध हो। मान्छे जीवनभर दुख गर्छ, छोरीको बिहेमा दाइजो जुटाउनका लागि। केटो रातदिन नभनी काम गर्छ, साथीभाईलाई भोज खुवाउनका लागि। ऊ किताब पढ्ने समय निकाल्न सक्दैन तर दम्पतिसहित उडन्ते सिनेमा हेर्न फिल्महल पुग्दछ। ऊ अध्ययन भ्रमण गर्ने समय निकाल्न सक्दैन तर हनिमुन भनेर फेवातालमा डुंगामा सयर गरेर समय बर्बाद गर्न सक्दछ।

प्रश्न उठ्न सक्छ- बिहे नगरे सृष्टि कसरी चलाउने त? जवाफ पनि तयारि छ- के करोडौं जीवजन्तुले बिहे गरेर नै यो सृष्टि धानीआएका हुन्? डायानोसरहरु बिवाह नगरेका कारण लोप भएर गएका हुन् र? बिहे नगरे सन्तान नहुने हो? सृष्टि नचल्ने हो र? आमामात्रको नामबाट पनि नागरिकता दिनुपर्छ भन्ने मागप्रति मेरो समर्थन छ। बिहेको सामाजिक मान्यता थियो होला। अब त्यो सामाजिक संरचना बदलिनु पर्छ भन्ने मेरो भनाई हो। जसरी कुन राँगोको संसर्गबाट जन्मियो त्यो ख्याल नगरी घरको पाडी आफ्नै हो भनेर स्विकारिन्छ, उसैगरी बाबु को हो भनेर कुनै बच्चाको परिचय खोजिनु हुन्न भन्ने मेरो भनाई हो। आखिर मान्छे पनि प्रकृतिको एउटा हिस्सा हो। प्रजनन, जन्म, जीवन, मृत्यु उसको जीवनचक्रको एउटा हिस्सा न हो।

दाइजोमा आएका सामान हेरेर गरिने माया र सम्मान बदलिनु पर्छ अब। आफ्नो कोखको मालिक महिला आफैँ हुनुपर्छ। बिहे भन्ने कुरा यथाशीघ्र हट्नुपर्छ। बिहेले पहिचान खोज्छ। पहिचानले सामाजिक मान्यता खोज्छ। समाजमा विभेद छ। विभेदले अल्पसंख्यकहरुलाई किनारामा पार्छ। किनारमा पारिएकाहरु मूलधारमा आउन गाह्रो हुन्छ। किनकि मुलधारमा चलिरहेको डुंगामा भएको माझीले किनाराका मान्छेहरुलाई बोक्न मान्दैन। तर बिडम्बना, डुंगा प्वाल परिसकेको छ। माझीलाई नै थाहा छैन!

यसर्थ, आउनुस् बिहेको बिरुद्धमा आवाज उठाऔँ। दुई तिनओटा बिहे भएकाहरु, एउटा पनि बिहे नभएकाहरु, डिभोर्स गरेकाहरु, नगरेकाहरु सबै एक जुट बनौँ। बिहेको बिरुद्धमा आवाज उठाऔँ!

Comments

Post a Comment

Popular posts from this blog

चन्द्रमाको कथा

प्रेम गर्नेहरुले त प्रेमिकालाई हावाले झोंक्काले पनि पनि दुखाउला , फूलको पत्रले पनि बिझाउला , झरीका बुँदहरुले पनि सताउला भनेर ख्याल गर्छन् । कहाँ सक्छन् र एसिड छ्यापेर असैह्य पीडा दिन । जरुरी छैन आफूलाई मन परेको मान्छेले आफूलाई पनि उत्तिकै मन पराओस् । जरुरी छैन , आफूले चाहेकै मान्छेसँग जिन्दगी बिताउन पाइयोस् । तर साँचो प्रेम गरेकीलाई पराईकै बने पनि चोट दिन मन लाग्दैन , धरधरी रुवाउन मन लाग्दैन । कोही आफूसँग यात्रा गर्न चाहँदैन भन्दैमा उसलाई कहाँ जबर्जस्ति गर्न पाइन्छ र । सबैको गन्तव्य एकै ठाउँ नहुन पनि त सक्छ । एसिड छ्यापेर कुरूप बनाइदिन्छु भन्ने सोच राख्नेहरुको आफ्नै मन र बिचार कुरूप हैन र । त्यो कस्तो प्रेम होला आफैँले मन पराएको फूललाई च्यात्न मन लाग्ने ? त्यो कस्तो चाहत होला आफूले हृदयमा राखेकै मान्छेलाई दुखाउन मन लाग्ने ? कसरी भन्न सक्छौ यसलाई प्रेम जब तिमी त्यो ओठमा हाँसो हैन ती आँखामा आँसुका ढिक्का देख्न चाहन्छौ । कसरी भन्छौ त्यो लालचलाई प्रेम जब तिमी उसलाई उसकै रहरको बाटोमा पाइला चाल्न अवरोध गर्दछौ । प्रेम त हत्केलामा थपक्क बस्न आएको सुन्दर पुतलीलाई नचलाईकन उसकै आकाशमा बेपर्वा...

तिमीले रोजेको मान्छे

आकाशको नाङ्लाभरि छरेर तारा बिचमा एउटै मात्र जून कसले राख्यो होला ? बाँडेर सबैलाई अनेक कमसल धातू मेरो भागमा नम्बरी सून कसले राख्यो होला ? म त सोच्थेँ एक्लै हिँड्नुपर्ने होला जिन्दगीको पट्यारलाग्दो यात्रामा तर सँगै हिँड्न भनेर तिमी आयौ अलमलिन्थेँ होला म गन्तव्यको खोजीमा पैतालाको डाम बनेर अघि लाग्यौ कतै बाटै पो भुल्यौ कि मलाई अर्कै भन्ठान्यौ कि नत्र त मलाई दुखैदुखमा पुरिएको देखेर नयाँ दुख पनि सधैं दुखि बनेर फर्किन्थ्यो एक्लोपन र बेवास्ताले स्याण्डविच बनाएको देख्दा आँसु पनि लतक्क पग्लिएर तर्किन्थ्यो आफैं सोच त बिचरा भनेर लेख्ने कलमसमेत किन्न नसक्ने म कति विवश अनि गरिब थिएँ होला दुखि बनेर रून पनि नसक्ने मेरा आँखा कति बाँझा र सुख्खा थिए होला भाग्य सिधा बाटो भएर हिँड्थ्यो भने यदि मेरो निधारको नक्सा सधैंभरि नागबेली थियो माया रसिलो जमिनमा फुल्थ्यो भने यदि मेरो हृदयको बारीमा खडेरी थियो पराजीतहरूको लस्करमा पनि म पराजीत बनेरै सबभन्दा पछाडिको लाममा उभिएको हुन्थेँ असफलताको आरोहणमा पनि म असफल बनेरै बेसक्याम्पमा छोडिएको हुन्थेँ अनिश्चित नदीको मझधारमा पुगेको बेला सुनौलो गन्तव्यको किनारमा लैजान भनेर तिम...