Tuesday, March 31, 2020

क्वारेन्टाइनबाट एउटा प्रेमपत्र । - सुरेश बडाल

काली,

कहिल्यै सोचेको थिइनँ यस्तो पनि दिन आउला भनेर । यसरी कुनै अदृश्य दुश्मनदेखि डराएर घरभित्रै लुकिरहनु पर्नेछ भनेर । सोचेको पनि थिइनँ कहिल्यै, जीवनको महत्व यति हुन्छ अनि मृत्युको भय यतिबिघ्न हुन्छ भनेर । क्वारेन्टाइनमा बसेको एक हप्ता बितेपछि महशुस हुँदैछ आज, संसारमा आफ्नो जति प्रेम अरु कसैको लाग्दो रहेनछ । तिमीलाई सुन्दा नराम्रो लाग्ला तर वास्तविकता यही नै रहेछ । तिमीलाई केही होला, घर परिवार, बा'आमालाई केही होला भनेर त एकपल पनि ख्याल आउँदो रहेनछ, रत्तिभर पिर पर्दो रहेनछ । केवल आफैँलाई केही होला कि भन्ने सन्त्रासले अँगाल्दो रहेछ ।

तिमी त्यता सुरक्षित नै बसेकी हौली । यता म पनि यही कोठाको चार भित्तोभित्र कैदीझैं समेटिएर बसेको छु । कहिलेकाहीँ झ्यालबाट बाहिर हेर्छु, बाटोमा, बतासमा जताततै भाइरस सल्बलाएको झैं देख्दछु । अनि आफूलाई घरको गेटबाट बाहिर निकाल्न सक्दिनँ ।

तिमी यो मुटुमा बसेकी छौ । मेरो कलेजीमा बसेकी छौ । मेरो अनुहारमा देखिने उज्यालो तिम्रै देन हो । अनि मेरो ओठहरुमा खेल्ने मुस्कान पनि त तिम्रै कोसेली हो । जब तिम्रो प्रेममा परें, त्यसै दिनदेखि मलाई मेरो सम्पूर्ण अस्तित्वप्रति प्रेम पलाएको हो । यसरी तिमीले बाँच्ने उत्कण्ठा जगाईदिएको यो शरिरलाई म कसरी त्यो दुष्ट भाइरसको संक्रमणद्वारा सिध्याउन सक्छु र । म बाँच्नु भनेको तिमीले मेरा आँखाहरुमा देखाइदिएको सपना बाँच्नु हो । मेरो थाप्लोमा बा'आमाको हत्केलाले थपक्क राखिदिएको आशिर्वाद बाँच्नु हो । त्यसैले आफूलाई अनुशासनहीन बनाएर म बाहिर निस्किन सकेको छैन ।

दिनहरु बित्दैछन् । कहिले सुत्छु कहिले उठ्छु । विश्वभरिका सिनेमाहरु छानी छानी डाउनलोड गरेर भरेको छु कम्प्युटर । हेर्दा हेर्दै दिन ढल्किन्छ । दराजभरि किताब छन् पढ्न बाँकी, एक एक गरेर पढ्दै छु । आधा बोरा चामल सुस्तरी सुस्तरी फेदतिर पुग्दैछ । बोरा रित्तिएपछि के गर्ने सोचेको छैन । मस्यौरा छन्, गुन्द्रुक छ, भटमास छ, खुट्टे खाटको मुनि अस्ति भर्खर घरबाट लेराएको आलु छ । केही समय अझै यी कुराहरुले जीवन टिकाउने छ ।

तिमीसँग बेला बेलामा कुरा हुन्छ । तिमी भन्छौ, यो पृथ्वीको आफ्नै निरन्तरको अभ्यास हो । शक्ति सन्तुलनको तरिका हो । तिमी भन्छौ यो अवस्था मानव सभ्यताको पुनर्ताजगीको अवस्था हो । तिमीले नै त हो नि मलाई अस्ति भर्खर यसो भनेर सम्झाएको । समस्या नआई सामाधानको लागि मान्छेले कहिले पो सोचेको छ र । कोरोना भाइरसले यसको एन्टीडोट पत्ता लगाउन दवाव बढाएको छ । र यो समय पनि टरेरै जानेछ भनेर तिमीले नै त हो नि मलाई बुझाएकी ।

जीवनमा दुखहरुले नै सुखको महत्व बुझाएर जान्छन् । बिछोडहरुले साथको महत्व बुझाएर जान्छन् । एक्लोपनले आज मलाई तिम्रो अभाव बुझाएजस्तै । जसरी यो एकान्तवास अनि निस्सारताले आज मलाई ती ख्यालै नगरेका पुराना रङ्गीन पलहरुको चित्र चहकिलो गरेर स्मृतिको ऐनामा देखाइरहेछ ।

तिमीले भनेजस्तै अब मान्छेले प्रकृतिको महत्व बुझ्नेछन् । सधैँ रफ्तार मात्र जिन्दगी हैन, आराम पनि जिन्दगी हो । हामीले हरेक शनिबार बिदा लिएझैं पृथ्वीलाई पनि त केही आराम चाहिन्छ यो धुवाँ धुलो अनि भागदौडबाट । सायद यो चेतना आउने छ सबैमा । तर तिमीसँग मेरो एउटा गुनासो छ काली । यति धेरै बुझेकी तिमी भने आज यता गएँ, आज उता गएँ भनेर फोटाहरु पठाइरहन्छौ । त्यतिबेला बल्ल मलाई तिम्रो पनि चिन्ता लागेर आउँछ । तिमी गाउँमा छौ । खुल्ला संसारमा छौ । मान्छेहरुको भीडभन्दा कतै पर छौ । तर पनि मलाई डर लाग्छ, भाइरसले गाउँ भन्ला र ?

रोगले धनी भन्दो रहेनछ, गरिब भन्दो रहेनछ । शक्तिशालि भन्दो रहेनछ, कमजोर भन्दो रहेनछ । जतिबेलै जसलाई पनि सुताउन सक्ने, थलाउन सक्ने रोगको अघिल्तिर आखिर कसको के लाग्दो रहेछ र । मान्छेले ठूला ठूला अन्वेषणहरु गर्लान्, ठुल्ठुला जहाजहरु बनाउलान् । समुद्रमा पुल हाल्न सक्लान्, चन्द्रमामा बस्ती बसाउन सक्लान् । तर काली, मान्छेको जीवन बचाउनु जत्तिको ठूलो कुरा अरु नहुँदो रहेछ । विश्वका विकसित देशहरु, शक्तिराष्ट्रहरुले बम बनाए, बारुद बनाए, आणविक हतियार बनाए । तर मान्छे मार्ने हतियार बनाउनु भन्दा ठूलो उपलब्धि त मान्छे बचाउने औसधि बनाउनु पो रहेछ । मान्छे मारेर भन्दा पनि मान्छे बचाएर जित्ने युद्ध महान हुने रहेछ । कम्ब्याट लुगा लगाएका गह्रुन्गा हतियार बोक्ने सेना भन्दा सेता लुगा लगाएका सुई र स्टेथेस्कोप बोक्ने सेनाहरु असलीयतमा मानव सभ्यता जोगाउने सेना रहेछन् ।

काली, म चिठ्ठीमा कता कता बरालिएँ, माफ गर्नु । आजकल एकैनासको होश रहँदैन मलाई । मेरा पैतालाहरुले बाटाहरु ननापेको धेरै भयो । मेरा छालाहरुको साँझपख कतै परबाट आउने बतासको स्पर्श नपाएको धेरै भयो । धेरै भयो मेरा आँखाहरुले यी कंक्रिटका भित्ताहरु छिचोलेर कतै पर डाँडाको डिलबाट अर्को अनि अर्को डाँडाको धमिला धर्साहरु क्षितिजमा नदेखको । आफूलाई एक्लो अनि अनुशासित राख्नु भनेको जीवनका तत्वहरु बुझ्ने स्वाध्ययनको पाठशाला पनि रहेछ । तर प्रकृतिबाट टाढा रहेर आफूलाई आफ्नै चिन्ता र गुम्फनको च्याम्बरभित्र थुन्नु भनेको फेरी अर्को घातक कैदखाना पनि रहेछ । त्यसैले त तिमीसँग कहिलेकाहीँ कुराकानी गर्छु र आफूलाई प्रकृतिसँग निकट पाउँछु । तिमी बोलिरहँदा तिम्रो पार्श्वमा रहेर तिमी झाडी बुट्यान, चौर वा खोल्सातिर निमग्न भएको पोल लगाइदिन चराहरु चिर्बिराएको सुन्छु । तिमी बोलिरहँदा तिम्रो पछिल्तिर खोलाले गरेको कलकल आवाज सुन्छु, नदीले सुसाएर स्वाँ गरेको सुन्छु । त्यतिबेला आफूलाई पनि तिमीसँगै प्रकृतिमा विचरण गरेको कल्पना गर्दछु ।

जसरी रातपछि सुनौलो बिहानी आउँछ, जसरी बर्सातपछि घमाइलो दिन आउँछ, जसरी पतझडको यामपछि फेरी हराभरा बसन्त आउँछ, जसरी पलाउँछ सुकेको बुढो रुखबाटै कलिला मुनाहरु, त्यसैगरि यो सन्त्रासको समय पनि बितेर जानेछ, र फर्किनेछ पहिले झैं सामान्य जीवन । तिमीले जगाएका आशाहरुले मलाई भरोसाको खाँबोमा बलियोगरि अढेसिन सघाएको छ काली ।

हामी फेरी भेट्नेछौँ यो प्रलयको बादल फाटेर गएपछि । त्यतिबेला तिमीलाई अंगाल्न मलाई केही कसैको डर हुने छैन । भाइरस सर्ला भनेर तर्किनु पर्नेछैन । मान्छेलाई मान्छेबाट टाढा बनाउने दुश्मनलाई जितेरै छाड्ने छौँ । हाम्रा हातहरु छुटाउन खोज्ने, अँगालोहरु हटाउन चाहने शत्रुलाई परास्त गर्ने छौँ ।

त्यतिन्जेल तिमी भीडहरुबाट टाढा बसेर संक्रमणको चक्र तोड्न मद्दत गर है, जसरी म यहाँ एक्लै बसिरहेछु ।
तिम्रो काले

मेरी आमा महान हैनन्

  @ सुरेश बडाल पाँच वर्षको उमेर। गाउँकै बोर्डिंग स्कुलको नर्सरी कक्षामा भर्ना भएर एउटा बेन्चको छेउमा डराई डराई बसिरहेको बेला हेर्दै डरलाग्...