Friday, October 2, 2020

एक ठगिएको मृतकको बयान - उदय प्रकाश



जो असाधारण तरिकाले ठगियो, ठगहरु उसलाई देखेर हाँसिरहेछन्

जो ठग थिएनन्, उनीहरु पनि हाँसिरहेछन्

तर जो ठगिएको थियो, ऊ प्रयत्न गरिरहेछ हाँस्नलाई
र अन्तमा ऊ पनि हाँसेरै छोड्यो एक अजीब तरीकाले

उसको हाँसोमा कुनै युग छ जहाँ ऊ लाचार छ

जसलाई मारियो, मरिसकेपछि बेचैन भएर ऊ आफ्नो चश्मा खोजिरहेछ
ती अनुहारहरु 
जो उसको हत्यामा शामिल थिए

उनीहरुलाई ठीकसँग देखेको थिएन उसले मर्नुअघि,

मरिसकेपछि पनि पढ्न चाहन्छ ऊ केही किताबहरु
जसलाई मर्नुभन्दा ठीक अगाडि अनेक कटौति गरेर मुश्किलसँग किनेको थियो उसले

उसले मर्नुअघि कुनै चिट्ठा किनेर आएको थियो
त्यो चिट्ठा अहिले उसले जितेको त थियो
तर त्यो जित त उतै छ, जहाँ जीवन छ

त्यो जीवन त उसले गुमाइसकेको थियो

एक चिट्ठावाला हाँसिरहेछ
हाँसिरहेछन् अरु धेरै चिट्ठावालाहरु 
उनीहरुकै शासन छ त्यहाँ, जहाँ ऊ मर्नुअघि बस्ने गर्थ्यो

ए बाबु हो, म मरिसकेको छु
तिमीहरु बेकार मेहनत गरिरहेछौ
जाऊ, कुनै अर्को काम खोज
हत्याको पेशामा छैनन् आजभोलि कुनै बेरोज़गार

एउटा कुरा जुन ऊ मर्नुअघि सोध्न चाहन्थ्यो कविहरुलाई
त्यो कुरा अति मामूली थियो
जस्तो कि तिमीहरु जो आपसमा कविताहरु लेख्छौ
त्यही कविता मात्र फलाक्ने गर्छौ ?
या कुनै अर्को कामधन्दा पनि गर्छौ ?

यतिसम्मको हिंसा त कविमा पाइँदैन थियो

अक्सर यस्तो इतिहासका पानाहरूमा लेखिएको छ
मर्नुभन्दा अगाडि ऊ त्यो इतिहास पनि पढेर आएको थियो
जुन इतिहासलाई पनि पछिल्ला केही वर्षहरुमा बडो राम्रोसँग
नयाँ तरिकाले मारिएको थियो

जहाँ ऊ गाडिएको छ या जहाँ छरिएको छ उसको खरानी
त्यहाँ हावा चलेपछि सुनिन्छ त्यस आत्माको पातलो धुलोजस्तो मलिन आवाज

ऊ लगातार सोधिरहन्छ
ए बाबु हो, के कुनै चिज अब जिउँदो बचेको छ त दुनियाँमा ?

म खरानी हुँ फगत खरानी
नफुक्नु,
नत्र पोल्नेछ तिम्रै आँखा ।

 

-    अनुवाद : सुरेश बडाल

Tuesday, September 8, 2020

चन्द्रमाको कथा


प्रेम गर्नेहरुले त प्रेमिकालाई हावाले झोंक्काले पनि पनि दुखाउला, फूलको पत्रले पनि बिझाउला, झरीका बुँदहरुले पनि सताउला भनेर ख्याल गर्छन् । कहाँ सक्छन् र एसिड छ्यापेर असैह्य पीडा दिन । जरुरी छैन आफूलाई मन परेको मान्छेले आफूलाई पनि उत्तिकै मन पराओस् । जरुरी छैन, आफूले चाहेकै मान्छेसँग जिन्दगी बिताउन पाइयोस् । तर साँचो प्रेम गरेकीलाई पराईकै बने पनि चोट दिन मन लाग्दैन, धरधरी रुवाउन मन लाग्दैन । कोही आफूसँग यात्रा गर्न चाहँदैन भन्दैमा उसलाई कहाँ जबर्जस्ति गर्न पाइन्छ र । सबैको गन्तव्य एकै ठाउँ नहुन पनि त सक्छ । एसिड छ्यापेर कुरूप बनाइदिन्छु भन्ने सोच राख्नेहरुको आफ्नै मन र बिचार कुरूप हैन र ।

Pension Scheme for Acid Attack Survivors Announced in Uttarakhand

त्यो कस्तो प्रेम होला आफैँले मन पराएको फूललाई च्यात्न मन लाग्ने ? त्यो कस्तो चाहत होला आफूले हृदयमा राखेकै मान्छेलाई दुखाउन मन लाग्ने ? कसरी भन्न सक्छौ यसलाई प्रेम जब तिमी त्यो ओठमा हाँसो हैन ती आँखामा आँसुका ढिक्का देख्न चाहन्छौ । कसरी भन्छौ त्यो लालचलाई प्रेम जब तिमी उसलाई उसकै रहरको बाटोमा पाइला चाल्न अवरोध गर्दछौ । प्रेम त हत्केलामा थपक्क बस्न आएको सुन्दर पुतलीलाई नचलाईकन उसकै आकाशमा बेपर्वाह उड्न दिनु पो हो त । प्रेम त त्यो कलकल बगेको खोला हत्केलाहरुमा अडिँदैन, औंलाहरुमा समेटिँदैन, आफ्नै गतिमा बग्छ भनेर जान्दाजान्दै पनि त्यसैमा औंलाहरु चोबेर गर्नु पो हो त ।

कसैले प्रेम अस्वीकार गरिदियो, अनि तिम्रो अहममा चोट लाग्यो । जरुरी छ र संसारमा तिमीले चाहेका हरेकले तिम्रो प्रेम स्वीकार गर्न ? यहाँ देउता पनि सर्वस्वीकार्य छैनन् । हरेकका आफ्ना आफ्ना इश्वर छन् । तिमी कसरी सोच्न सक्छौ कि तिम्रो मनमा उठेकै भावनाका लहरहरु उसका मनमा पनि उठून् । प्रेम त माथिबाटै तय भएर आएको हुन्छ । जोडीहरु स्वर्गमै बनेर आएका हुन्छन् । किन गलत व्यक्तिलाई आफ्ना भावनाहरु स्वीकार्न बाध्य पार्दैछौ ? तिम्रो दाहिने खुट्टाको जुत्ता त तिम्रै देब्रे खुट्टामा पस्दैन भने कसरी सक्छन् तिम्रा आँखाहरुले देखेका हरकोही तिम्रो जीवनको आधा हिस्सा बन्न ?

कसैको रुपमा लट्ठिएर आकर्षण पैदा हुनु स्वभाविक होला । तर के त्यसलाई प्रेमको नाम दिनु स्वभाविक हुन्छ ? आकर्षण र आशक्ति त लोभ हुन्छ, लालच हुन्छ, कदापि प्रेम हुन सक्दैन । प्रेम त तटस्थताको त्यो अवस्था हो जहाँ कसैलाई पाउनु र गुमाउनुको कुनै सरोकार रहँदैन । प्रेम त बलिरहेको मैनबत्तीलाई हेरेर त्यसको उज्यालोमा रमाउनु हो, त्यसैलाई छुन, समाउन खोज्नु हैन । प्रेम त चम्किरहेका ताराहरु हेर्नु, उदाएको घाम अनि जूनलाई हेर्नु हो, त्यसैलाई समाउन भीरबाट उफ्रिन खोज्नु हैन ।

तिम्रो पनि त यो दुनियाँमा कोही अर्कै "सोलमेट" होला जसलाई विधाताले तिम्रै निम्ति यस धर्तिमा पठाएको हुन सक्छ । तिमीसँग सँगै हिँड्नु छ भने तिम्रो जन्म जन्मको साथी तिमीलाई चिनेरै तिमीसामु आइहाल्छ नि । यदि मनमा रहेका कलुषित भावनाहरु बढारेर फ्याँक्यौ भने चिन्नेछौ आफ्नी सहयात्रीलाई । यदि दिमागमा भरिएको "कन्सन्ट्रेटेड एसिड"लाई असल सोचहरुले "डाइल्युट" गराएर हेर्यौ भने थाहा पाउने छौ, आफूलाई माया गर्ने मान्छे कतै पक्कै छ भनेर । किन कसैलाई आफ्नो वशमा पार्न गलत बाटो पहिल्याउँछौ ?

यदि मनमा इश्वर छ भने परपीडामा तिमीलाई रत्तिभर शान्ति मिल्दैन । एकछिनको आवेशलाई कतै पन्छाएर ध्यानस्थ भएर सोच त । कसैको अनुहारमा एसिड छ्याप्नुअघि एकपटक आफ्नै अनुहार ऐनाअघि उभिएर हेर त । एकछिन त तिम्रो अहङ्कारले सन्तुष्टी पाउला, के तिमी सधैंभरि आफ्नै मनभित्रको इश्वरका सामुन्नेमा आफ्नो अनुहार देखाएर उभिन सक्छौ त ?

कसैलाई एसिड छ्याप्नुअघि सम्झनु तिम्रा कुकृत्यको तेजाब तिम्रा आफ्नाहरुको अनुहारमा गएर छ्यापिनेछ र जल्नेछन् ती मुहारका आभाहरु लज्जाको ज्वालाले ।

कसैलाई जबर्जस्ति गर्नुअघि सम्झनु हरेक मान्छेसँग ब्रहम हुन्छ जसले तिमीलाई नस्वीकार्ने उत्तिकै सम्भावना रहने गर्छ ।

कसैलाई कुरूप पारिदिन्छु भनेर सोच्नुअघि सम्झनु सुन्दरताको अर्थ केवल सुन्दर अनुहारमा मात्र निहित रहेको हुँदैन, असल व्यवहारमा पनि बसेको हुन्छ ।

के अर्थ त्यो सुन्दरताको जब त्यसको अन्तर्यमा एउटा चोखो आत्मा बसेको हुँदैन भने ? के अर्थ तिम्रो पुरुषत्वको जब त्यसले कुनै निर्बलको सुरक्षा हैन, त्यसलाई हानी पुर्याउँछ भने ? के अर्थ तिम्रो चेतनाको जब तिमी हिँसामा उत्रिन्छौ भने ?

के कसैको अनुहार विभत्स गरिदिनु नै उसको सुन्दरता नामेट पारिदिनु हो ? कसैको अंगभंग गरिदिनु नै उसलाई असक्षम बनाइदिनु हो ?

म यहाँ एउटा कथा जोड्न चाहन्छु ।

कुनै समय एकजना चक्रवर्ती राजा थिए । राजाले आफ्नो साहस र पराक्रमले पृथ्वीको लगभग सबै जमिन जितेका थिए । उनले आफूले जितेका सारा ठाउँमा जनतालाई आफ्नो अधिनमा लिएर शासन गर्न थालेका थिए । राजाका लागि पृथ्वी अब त्यति ठूलो ठाउँ रहेन । एकपछि अर्को, अनि अर्को गर्दै सारा पराया जमिनहरु जित्दै जित्दै पराया प्रजाहरुलाई आफ्नो रैती बनाउँदै गएका राजामा सारा संसार जितेपछि पनि एक खालको असन्तोष कायमै रह्यो ।

जुन जमिन अब आफ्नै हो, त्यसलाई फेरी जितिराख्नु जरुरि थिएन । जो रैतीहरु नीरिह बनेर राजाका अगाडि लम्पसार परेका थिए अब उनीहरुलाई फेरी हतियार देखाएर, लघारेर, पछारेर जितिराख्नु जरुरी थिएन । तर जीतको रस बसेका, विजयको झन्डा फर्फराईरहेको हेरेर उन्मुक्त हुने बानी परेका राजालाई जीतको शिलशिला टुटेकोमा नमिठो लागिरह्यो । शिखर चढ्नेहरु शिखरको चुचुरोमा पुगेपछि फेरी त्यसबाट माथि उक्लिन अर्को ठाउँ नभएपछि पटक पटक चढेर पर्वतारोहण गरिराख्छन् । शिखरलाई पटक पटक टेकेर विजय हासिल गरिराख्छन् ।

तर जो जमिन आफ्नै हो, त्यसलाई पटक पटक जित्नु राजालाई आवश्यकता थिएन । आफ्नो अनुहारमै सीधा हेर्न नसक्ने रैतीलाई पटक पटक दमन गर्नु राजालाई जरुरी थिएन । राजालाई नया ठाउँ जित्नु थियो, नयाँ दुश्मनमाथि शासन गर्नु थियो ।

राजाले निस्चय गरे, अब पाताल र आकाशमा आक्रमण गर्छु । जलचर, थलचर, किराफट्यांग्रालाई अधिनस्थ गर्छु । चराहरुमाथि शासन गर्छु । देवताहरुलाई जित्छु । ताराहरु, नक्षत्र, सुर्य, चन्द्रमा सबैलाई आफ्नो वशमा राख्छु ।

चक्रवर्ती सम्राटले युद्धको शंखघोष गरे । उनले समुन्द्र जिते, पाताल जिते । आकाशमा आक्रमण गरे । देवताहरुलाई जिते । सबैलाई गुलाम बनाएका राजालाई चन्द्रमाको सुन्दरताले मोहीत बनायो । उनले चन्द्रमालाई पनि जितेर धर्तीमा ल्याउन चाहे । एउटा ठूलो लल्कार गरेर राजाले चन्द्रमालाई धर्तीमा ओर्लिन भने । तर चन्द्रमाले आफ्नो ठाउँ आकाशमै भएको कारण आफू धर्तीमा नओर्लिने बताइन् ।

हरेक खालको सम्पन्नता र ऐश्वर्य भएको मान्छेलाई सुन्दरता पनि उसैको गुलाम होस् भन्ने चाहत रहेको हुन्छ । चन्द्रमाको अस्विकारले राजाको अहङ्कारमा चोट लाग्यो । उनले धेरैपटक चन्द्रमालाई आफ्नो बन्न आदेश दिए, हुंकार गरे । तर चन्द्रमाले आफू कसैको नहुने, आफ्नो सुन्दरता कसैको अधिनस्थ हुन हैन बरु सारा जगले नियाल्नका निम्ति हो भनिन् ।

राजाको मनमा आफ्नो नभएको त्यो सुन्दरता कोही कसैले पनि नहेरोस् भन्ने भावना पलायो । उनले रिसले आँखा देखेनन् । आफ्नो हतियार भण्डारबाट एक भाँडो तेजाब निकालेर उनले चन्द्रमाको अनुहारमा छ्यापिदिए । असैह्य पीडाले चन्द्रमाको अनुहार रातो हुँदै आयो । आँशुका थोपाहरु शीत बनेर खसे ।

समयसँगै पोलेको घाउ निको हुँदै गयो । अनुहारमा दाग बस्यो । तर पनि चन्द्रमाले हिम्मत हारिनन् । मुस्कुराउन किन्चित छोडिनन् । उनको मुस्कान देखेर सारा जगले खुसुखुसु उनको सुन्दरताको तारिफ गरि नै रह्यो । सधैं हाँसीरहेको मान्छे भन्दा रोइसकेर हाँसेको मान्छे ज्यादा सुन्दर देखिन्छ किनकि त्यो हाँसोमा आत्मविश्वास मिस्सिएको हुन्छ ।

चन्द्रमाको आत्मविश्वास देखेर मान्छेहरुले सुन्दरता झन् धेरै निखारिएको कुरा गरे । त्यो दाग त झन् सुहाउने बताए । यता राजाले पनि यस कुराको सुइँको पाए । उनलाई ग्लानि भयो । उनी भित्र भित्र गले । कसैले हराउन खोज्दा पनि नहार्ने, कमजोर बनाउन खोज्दा पनि आत्मबलले जित्ने चन्द्रमाको निरन्तरको मुस्कानबाट नै राजाको पराजयको शिलशिला शुरु भयो ।

कसैले जित्न खोज्छन्, तर आफू हार्नु हुँदैन । कसैले दबाउन खोज्छन्, तर आफू संकुचित हुनु हुँदैन । कसैले टुक्रा टुक्रा पार्न खोज्छन्, तर आफू छिरलिनु हुँदैन । आफ्नो प्रारब्ध, आफ्नो कर्म, आफ्नो अस्तित्व, अनि आफ्नो उपस्थितिलाई कहिल्यै आफैँले अवमुल्यन गर्नु हुँदैन ।

अनुहार जलाउनेले तपाईंको आभा जलाउन सक्दैन । ओठ जलाउनेले मुस्कान जलाउन सक्दैन । बलात्कार गर्नेले इज्जत र सम्मान लुट्न सक्दैन । आफूमा आइलागेको पहाड आफैंले पन्छाउन सक्नु नै जीवन हो । जीवनको परिभाषा अर्थोक केही हुँदैन ।

@sureshbadal 

Monday, June 1, 2020

महामारी लागेको थियो - गुलजार

Image may contain: 1 person

घरतिर कुदेका थिए सबै मजदूर, मिस्त्री
कलपुर्जा बन्द हुन थालेका थिए शहरका सबै
जसमा हातखुट्टा चलिरहन्थे
नत्र जिन्दगी त गाऊँमै रोपेर आएका थिए

त्यो एक दुई कठ्ठा जमिन, या पाँचै कठ्ठा
रोप्नु, फलाउनु सबै त्यहीँ त थियो

गहुँ, धान, मकै, बजार सबै
त्यो अंशबण्डा, काका र ठूल्बाहरूसँग
कुलोको निहुँ, नालीमा हुने झगडा
झगडिया आफ्नै, कहिले उनीहरूका

त्यो हजुरामा, हजुरबाहरूका मुद्दा
विवाह, व्रतबन्ध, चौतारी
पहिरो, बाढी, कहिले झरी त कहिले खडेरी
मर्नेछौँ त्यहीँ गएर जहाँ जिन्दगी छ
यहाँ त शरीर ल्याएर प्लग जोडेका थियौँ !

निकाल्दिए प्लग र तारहरू सबैले
"
जाऊँ आफ्नै घर फर्किऊँ"- र हिँडे सबै
मर्नेछौँ त्यहीँ गएर जहाँ जिन्दगी छ !

अनुवाद- सुरेश बडाल



Sunday, May 24, 2020

ट्युसन



"बेत्रावती बजारमा ट्युसन सेन्टर खुल्या छ रे ।" हाम्रो इस्कुलमा गाईँगुईँ हल्ला चल्यो ।

सबजना गुनगुन गर्दै ट्युसनका कुरा गर्थे । फलानो-फलानो साँझमा ट्युसन जान्छ रे । यस्ता कुरा यसो कान थापेर ल्याउँदा म पनि सुन्थेँ । मलाई अचम्म लाग्थ्यो के जिनिस होला यो ट्युसन भन्नि चाहीँ ? किन जाँदा रै'छन् केटाहरू लर्कन लाएर ?

"अर्को इस्कुलका केटीहरू नि आउँछन् ।" उनीहरू भन्थे । मलाई अचम्मले मर्नु भो ।

"केटीहरू पनि ?" मैले जिब्रो टोकेँ ।

"होत्त !" उनीहरू सामान्य मानेर भन्थे ।

सबैलाई थाहा भा'को कुरो । मलाई थाहा छैन भनेजसरी कसरी सोध्नु । साह्रै बित्यास पर्यो ।

"तँ नि ट्युसन जान्छस् ?" एकदिन साथी कामदेवले सोध्यो ।

बोल्दाओर्दा धेरै काम्ने भएर उसलाई कामदेव भनिन्थ्यो । कामदेवको अर्थ अर्कै हुँदो रहेछ भन्नि पछि थाहा भयो ! धन्न पहिल्यै थाहा भाको भए साथीहरूले त्यो नाम मलाई नै राख्दिन्थे होला हहह !

अँ साँच्चि, कामदेवको मुखमा हेरेर भनेँ, "खई !"

"जाऊँ न हिँड् । दुईजना भइयो भने पैसा घटा भन्न पाइन्च !"

कुरो ठीकै हो । जाम् क्यारे । अरू स्कुलका केटी कुन माटाले बन्या रैचन् । हेर्दिम् न !
+++


घराँ "म नि ट्युसन जान्चु" भनेर भन्न सारै दकस भो । नभने कसरी पैसो झार्नु । तर फेरी सम्झिएँ कामदेवको कुरो- एक दुई दिन गाको पैसा पर्दैन । ट्युसन मन परो भने मात्र मैना मरेसी लिन्छन् रे पैसा !

धन्न ! एक दुई दिन जाम् त्यसपछि भन्या देखा जाएगा । यस्तै सोचेर सुतियो । भोलिपल्ट साँझमा ट्युसन जानु थियो । स्कुलमा दिनैभरी पढाईमा ध्यान गएन । ध्यान त बेत्रावतीकै ट्युसन सेन्टरतिर कुदेको कुद्यै बाबै !

घण्टि बज्नासाथ हतार हतार घर आएँ । काउकुति लागेको लाग्यै छ । खुल्दुली बढेको बढ्यै छ । अनि काँ पाएर खाजा रूच्नु ? पैलोपाली होला दही चिउरामा केरा मुछ्या खाजा नि छोडेर कुद्या । रन्को ट्युसनको थ्यो । वहाँमाथी कामदेव घरमुन्तिर आएर कराइराथ्यो ।

"खई त कापी ?" उसले सोध्यो ।

"कापी नि चाइन्च र ?" म जिल्ल परेँ ।

कामे मोरोले नयाँ पोन कापी पाइन्टको पछाडि खल्तीमा बटारेर राख्या रइछ ।

"नयाँ कापी छइन्त मसँ ।" म खिन्न भएँ ।

"आज मेरो कापी बिच्चबाट थुतेर पाना दिउँला । हिन् जाऊँ ।" कामदेवेले हात तान्यो ।

म बेत्रावतीतिर तानिएँ ।
+++


गुच्चा बेच्नी पसल भाकै घरको पछाडिको कोठामा रै'छ ट्युसन सेन्टर । मनमा अनेक कुराको कल्पना आछ । काउकुति लागेर गुदुदु गरेर पेट छड्किरा'छ । आची पो आउँछ कि क्या हो कुटाइममा ? "हे राममन्दिरकी माता यो ढल नफुटोस् हई पर्भु" भनेर प्रार्थना गरेँ !

"भाइहरू बोडिंगको हो ?" एउटाले ढोकाबाट चिहाएर सोध्यो । कामदेवेले नकामी "होहो" भन्यो ।

"भनेसी आज दुईजाना मात्र हुनि भो । बस्दै गराओ हई सर आउनु हुन्च ।" आवाज ढोका ढप्काएर गयो ।

आफू जिल्ल परिराछु । सोधम् भने कामदेवे जस्ता थांग्नालाई के सोध्नु । त्यो भन्दा मै छु बाठो । तर यो ट्युसनमा के हुन्छ अझै पत्तो छइन । अरू इस्कुलका केटी नि आउँछन् भन्थे, प्रचार मात्र हो जस्तो छ ।

अलिबारमा एउटा मान्छे पस्यो । हातमा साइनपेन लिएर आको मान्छेले अगाडिको सेतो पाटीमा दनादन धस्काउन थाल्यो ।
+++


मास्टरले एक घण्टा पिसाब रोकेर हिसाब पढाएपछि बल्ल मेरा घैंटामा घाम लाग्यो - तेरीमा ! ट्युसनमा केक्केन गर्छन् होला भन्या पढाउँदो पो रइछ । थुक्क !
+++

Tuesday, May 5, 2020

झरी परेको रात


25+ Ideas Photography Night Window Dreams For 2019 #photography
झरीलाई के छ र । न दिन न रातको छ पर्वाह । आफूलाई मन लाग्यो, झरिदियो । गुम्स्याएर राख्नु छैन पिरहरुको बादल । न त थाम्नु छ पर क्षितिजपारी लगेर भक्कानो । झरीलाई त के छ र । जे जे छ मनमा जमेको कुण्ठा । आफूलाई मन लाग्यो, पोखिदियो । झरी त मेरो मनमा पनि छ । तर आफूले चाहेको बेला नझरिदिने । अड्काएर राखिरहनु पर्ने रुद्रघन्टिमा भक्कानो । झरीले जस्तो नसकिने मेघ बनेर गर्जिन । नसकिने बिजुली बनेर चम्किन । झरी हुनु सजिलो छ । झर्न सक्नु पनि सजिलो छ । गाह्रो त खस्न नसक्नु रै’छ आफ्नै आँखाबाट आँशु बनेर । आफ्नै घाउबाट दुखाई बनेर । नसकिने रै’छ आफ्नै पिडाबाट रोदन बनेर ।

जब थालहरुमा बेरोजगारी पस्कन्छ समय । कचौरामा निरासाको पातलो दाल देख्छु । अनि कतै देख्दिनँ अवसरको तरकारी । तब खल्लो लाग्छ जिन्दगी । आँशु पनि नुनिलो हुन्छ । आखिर आँशु भनेकै जिन्दगी खल्लो भएकाहरुका लागि न हो । स्वादिलो जिन्दगी भोग्नेहरुका लागि त मुस्कानका जलेबीहरु हुन्छन् । जेलिएका मुस्कान । बटारिएका हाँसो । कुटिल भंगीमा हुन्छन् । सरल बाटोमा हिँडिरहेकाहरुका लागि जिन्दगी पनि पिचरोडजस्तै हुन्छ । अप्ठ्यारामा हिँडेकाहरुका लागि जिन्दगी हिलो बाटो हो । टेकेका खुट्टाहरु फस्छन् रोजीरोटीको दलदलमा । छेप्छ आफ्नै पैतालाले थाप्लोमा ग्लानिको हिलो । झरी परेको रातमा जिन्दगी सोचेर बसिरहेको मलाई यस्तो खयाल आउँछ, कठिन पथमा हिँड्नेहरुको बाटो भनेका गोरेटाहरु हुन् । हिलो बाटोहरु हुन् । अक्केराहरु हुन् ।

झरी परेको रातमा रुन्छ कोही पर बसेर एक्लै । तर सुनिँदैन अँध्यारोमा कसैको क्रन्दन । झरी परेको रातमा देखिँदैन कसैका आँशु । अँध्यारो अनुहार बनाएर पृथ्वी, लाग्छ रोइरहेछ यावत दुखि जीवहरुको पिडामा । लाग्छ रोइरहेछ सृष्टि आफ्नै सिर्जनाहरुको अवसानमा । जब ब्रह्माण्ड रोइरहेको देख्छु, तब लाग्छ केही छैन मभित्र दुख नामको चिज । छैन मभित्र आँशु नामको पानी । छैन मभित्र रोदन नामको आवाज ।

जब मुटुभरी बसिदिन्छ कसैको मुस्कुराईरहेको तस्वीर । जब आँखाभरी बसिदिन्छ कोही आँखाकै नानी बनेर । जब नशाभरी बगिदिन्छ कोही रातो रङ्गको पानी बनेर । तब लाग्छ यो जगत मेरै निम्ती बनेको हो । लाग्छ यो रगत उसकै निम्ती बगेको हो । ऊ, जो जन्मिएको हो मेरै निम्ती भनेर । ऊ, जो भेटिएको हो जिन्दगीको गोरेटोमा हमसफ़र बनेर । तब जन्महरुको उत्सव मनाउन मन लाग्दो रहेछ । भय लाग्दो रहेछ मृत्युदेखि । फेरी झरी परेको रातमा याद आउँछ त्यो अनुहारको जो खसेको थियो उहिल्यै आँखाको डिलबाट । निस्किएर गएको थियो त्यो पाहुना अनायासै दिलबाट । जसले निकालेको थियो मलाई, आफ्नो मुटुको घाउको खिल सम्झेर । जसले मोडेको थियो बाटो, मेरो गोरेटोलाई मुश्किल सम्झेर । तब लाग्दो रहेछ माया सजिलो बाटोमा कदापि हिँड्दैन । प्रेम त्यो राजमार्गको नाम हो जो कहिल्यै पिच हुँदैन । त्यहाँ घातको खाल्डो पर्छ जहाँ जमिरहन्छ कोही कसैको आँशु । प्रेम त्यो आकाशको नाम हो जो खुल्दैन बर्खामा । जसलाई छोपिरहन्छ धोकाको बादलले ।

झरी परेको रातमा एक्कासी गैदिन्छ बिजुली । निभिदिन्छ मेरो आफ्नै अनुहार । छाउँछ वातावरणमा अँध्यारो । तब यस्तो खयाल आउँछ मनमा । अँध्यारो भनेको भविष्यको नाम हो । उज्यालो भनेको दुश्मनको नाम हो । सन्नाटा भनेको साथीको नाम हो । त्यही साथी जसले साथ छोडेको थियो । त्यही साथी जसले घात गरेको थियो । जसको एक कल फोन मिसकल बनेर बोलाउँथ्यो बिहानै चिया पिउने अड्डाहरुमा । जसको एक मिसकल फोन बनेर जान्थ्यो र भेटाउँथ्यो साँझमा बियर पिउने अड्डाहरुमा । झरी परेको रातमा अँध्यारो हुन्छ मन । आउँदैन त्यो साथी अब कहिल्यै पनि गिलास जुधाउन । कहिल्यै कराउँदैन अब ऊ चिया पिउँदै झगडा गर्न । एक अर्कालाई सत्तोसराप गर्ने ओठहरुलाई एउटै ठुटो चुरोटले जोडिरहेको हुन्थ्यो । अलग अलग हिँड्ने बाटाहरुलाई एउटै टेबलले भेटाएको हुन्थ्यो । तर झरी परेको रातमा केवल सम्झना आउँछ साथीको, आउँदैन त्यो साथी अब कहिल्यै सँगैको कुर्सीमा बस्नलाई । ठुटो चुरोट तान्नलाई । मेरा तर्कहरु काट्नलाई । मलाई होच्याएर उँडाउनलाई ।

समय बतास हो जसले सम्झनाहरु राखेर अरु सबै उडाउँछ । समय झरी परेको रातमा चलेको बतास हो जसले सबथोक लडाउँछ, मात्र उडाउँदैन । उज्यालोको बतासले अगाडी बढ्न सघाउँछ । सम्झनालाई काखी च्यापेर हिँड्न सिकाउँछ । तर झरी परेको रातमा चलेको बतासले न त बस्न दिन्छ न उठ्न दिन्छ । न अगाडि बढ्न दिन्छ, न पछाडि फर्किन दिन्छ । तर पनि बतासले गएर छुन्छ उसलाई जसलाई अरु कसैले अंगालेको हुन्छ । सिरिंग चल्छ काउकुती उसैको बदनमा जसको स्पर्श कैयौँ समयअघि आफ्ना औंलाहरुले गरेका हुन्छन् । चस्स दुख्छ छाती, त्यहि छाती जसमा लामो समयअघि उही टाँसिएर निदाउँथ्यो । तर पनि ठान्दछ मन उसलाई प्रेम अझै छ । मान्दछ मन भावना उही छ । संसार अस्थीरताको नाम हो । सभ्यता अस्थीरताको नाम हो । तर भावना मात्र स्थिरताको नाम हो ।

भावनामा पनि प्रेम मात्र स्थिर रहन्छ । समय बुढो हुँदै जान्छ । प्रेम जवान हुँदै जान्छ । कन्चटबाट फुल्न थाल्छन् वैंशका पातहरु । तर हृदयमा चिचिलै हुन्छ प्रेमको दाना । थाप्लोबाट सकिँदै जान्छन् यौवनका झुप्पाहरु । तर आँखाहरुमा पल्टिरहन्छन् यादका पानाहरु । त्यही अनुहारहरुका नामहरु जो छापिएका हुन्छन् अझै मानसपटलमा । त्यही नामहरु जो कहिल्यै बिराना हुँदैनन् । मान्छे बिराना भैजान्छन् । नाता अजनबी भैजान्छन् । अनुहार धुमिल भैजान्छन् । तर पनि कहिँ कतै सुन्दाखेरि ती नामहरु, ती आफ्नै हुन् झैं लाग्दछन् । झरी परेको रातमा खयाल आउँछ मनमा । जानेहरु दिल तोडेर गैदिन्छन् । नाता तोडेर गैदिन्छन् । राख्दैनन् केहि बाँकी हिसाबकिताब । फोटोहरु मेटाएर गैदिन्छन् । सम्पर्कहरु, चिठीहरु, फोन नम्बरहरु हटाएर गैदिन्छन् । तर किन उप्काउँदैनन् कसैको मनको भित्तामा चिप्काएको आफ्नै नामको पोस्टर ? किन टाँगीदिन्छन् बीच चोकमा ठडिएको होडिंग बोर्डझैं कसैको मानसपटलमा ठड्याएर आफ्नो अनुहार ?

मान्छे सुखको भोगि हो । जीवन सुखकै खोज हो । यहाँ दुख खेप्ने कोहि कसैको लालसा हुँदैन । प्रसवपीडामा दुख हुन्छ भन्ने जान्दाजान्दै गर्भवती बन्छन् नारीहरु । तर त्यहाँ पनि सुखकै लोभ हुने गर्छ । मातृत्वको सुखको । आमा बन्नु नारी हुनुको सम्पूर्णता हो । आमा बन्ने रहर हरेक छोरीलाई हुन्छ । त्यही रहरको अभिलाषा आँखामा लिएर हेरेको थियो कसैले कुनैदिन । आमा बन्न बाउ चाहिन्छ । बाउ बन्न बिहे गर्नु पर्छ । बिहे गर्न उमेर मात्र भएर पुग्दैन । प्रेमको बाटो मनदेखि मनसम्मको हुन्छ । गृहस्थीको बाटो तनदेखि धनसम्मको हुन्छ । अभावको पासोमा पिरतीका चराहरु कसिएका भेटिन्छन् । बेरोजगारीको मारमा प्रेमका बलिहरु रेटिन्छन् । झिलिक्क बिजुली चम्केजसरी यादको झिल्को बल्छ वरिपरी । देख्छु कसैको आँशु भरिएका आँखाहरु जो भन्दैथिए- मैले तिमीलाई पर्खिएँ तर उमेरले मलाई पर्खिएन । मैले तिमीलाई माया गरें तर संसारले मलाई घृणा गर्यो । प्रेम मात्र सुख हैन । गृहस्थी पनि सुख हो । मातृत्व पनि सुख हो । शरीरले मनलाई पर्खिन नसक्ने भयो । मन अटेरी आफ्नो वशमा फर्किन नसक्ने भयो । बिदा । यो जुनीमा यस्तै भैगयो ।

धर्तिलाई बादलले कालो घुम्टो ओढाएको पल कसैले उसलाई रातो घुम्टो ओढाएको थियो । आकाश रोएको पल म रोएको थिएँ । सायद झुकेको नजर अनि ओढेको घुम्टोले उसको आँशु लुकाएको थियो । त्यो आँशु बिछोडको थियो । तर त्यो कुन बिछोडको थियो ? मसँग कि आफैँसँग ? शरीरको मनसँग ? कि मनको मनसँगै ? खैर, झरी परेको रातमा केवल देख्छु म दलिनमा अंकुसिएको फलामे बल्छी जहाँ झुन्डिरहेछ बाहु फैलाएर पंखा । लाग्छ आत्महत्या गरेको छ उसले । लाग्छ मृत छ यो बाँच्ने अभिलाषा त्यागेर । तर आउँछ बिजुली केही बेरमा । छटपटिँदै रिङ्न थाल्छ ऊ आफ्नै रफ्तारमा । अक्सर केहि मृत्यहरु कसैलाई शितलता दिन पनि काम लाग्ने गर्छन् । तर के मरेर समस्या सकिन्छ र ? जिन्दगिको सार्थकता मृत्यु हैन । जिन्दगिको अस्तित्व पनि मृत्यु हैन । मृत्यु जिन्दगीको अन्तिम त्रैमासिक परिक्षा हो जहाँबाट पास भएर जीवन अर्को कक्षामा पुग्दछ । अर्को कक्षामा के पढाई हुन्छ अनुत्तीर्ण हुनेहरुले जान्दैनन् । त्यसैले जिन्दगीको कक्षा पुरै नबुझी मृत्युको परिक्षामा सामेल नहुँदा राम्रो हुन्छ । मलाई घुमिरहेको पंखा जीवित लाग्दछ । लाग्दछ ऊ पृथ्वी हो जो घुमेरै बचाइरहेछ आफ्नो अस्तित्व ।

झरी परेको रातमा कुनै पल थामिन्छ झरी । बिलाउँछ कुनै घडी जगतबाट अँध्यारो । आरुका दानामा लागेझैं लाग्छ क्षितिजमा रातो लाली । फल्छ त्यतै कतै एउटा चिचिलो घाम । जीवन सधैँ झरी परेको रातझैँ कठोर हुदैन । जीवन त घाम लागेको दिनझैँ कोमल पनि हुन्छ ।
@sureshbadal
+++

Sunday, April 26, 2020

भन के-के राखेकी छौ उसको नाम ?


Image may contain: 1 person

एकाबिहानै नुहाएर बाथरूमबाट
कपाल झड्कार्दै निस्किएर
उसको समिपमा जाँदा तिमी
श्याम्पुको बास्नाले लट्ठिएर उसले
तिम्रो कम्मरमा समाउला
लाजले तर्केलाउ तिमी
झटपट समाउला उसले नाडीमा तिम्रो
बज्लान् छिन् छिन् गरेर चुराहरू,
त्यतिबेला कर्के आँखा बनाएर उसलाई
"धत् पागल" भुलेर पनि नभन्नु,
तिमीलाई मेरो याद आउन सक्छ
आँखाहरू आँशुले भिज्न सक्छ
मलाई तिम्रो याद आउन सक्छ
बाडुल्कीले सास थामिन सक्छ ।


पिएर उसैको काखमा बसेर चिया
पिएर उसैको कपबाट चिया
भुलेर पनि नसम्झिनु मलाई
तिम्रा ओठहरूले कपको बीटमा
मेरै नाम लेख्न सक्छन् ।
गएर हतपत किचेनमा
मेटाइहाल्नु कपमा छापिएको मेरो नाम
आँखामा छापिएको मेरो चित्र ।
तब बसालेर तावा र कराई
नपकाउनु रोटी तरकारी,
तिमीलाई मेरो सम्झना आउन सक्छ
घाँटीमा रूवाई अड्किन सक्छ ।
तब तिम्रो टोहोलो परेको अनुहारलाई
फूलझैँ फुलाउन
तिम्रा निधारमा जून र
च्युँडोमा ताराहरू झुलाउन
पछाडिबाट उसले झक्झकाएर तर्साउन सक्छ,
तर्साएर जिस्काउन सक्छ,
त्यतिबेला "धत् बौलाहा" नभन्नु तिमी
तिमीलाई मेरो याद आउन सक्छ
मन भारी हुन सक्छ
मलाई तिम्रो झल्को आउन सक्छ
बाडुल्कीले सास रोकिन सक्छ ।


कतै घुम्न जानेछौ तिमी
समाउने छ उसले बाटोमा कतै पुगेर तिम्रो हात
देखाउने छ तिमीलाई बंगैचाहरू, फूलहरू
उसको चोरऔंलाको बाटो भएर
देख्नेछौ तिमीले
हामीले नै हाम्रा आँखाहरूले एकैपटक देखेका ठाउँहरू
हिँड्नेछौ ऊ सँगसँगै तिमी
हाम्रै पाइलाहरूले पहिले सँगै टेकेका बाटाहरूमा
कतै अडिएर चौतारीहरूमा
या बाटोछेउका बेन्चहरूमा
या कुनै शपिंग मलका बरण्डाहरूमा
थकाई मार्नेछौ तिमी
तब तिम्रा निधारमा, नाकमा, गालामा
टिल्पिलाएका पसिनाका थोपाहरू
उसका औंलाहरूले पुछिदिँदा
ती औँलाहरूलाई सुस्तरी छोएर
"लभ यु बाबा" बिर्सेर पनि नभन्नु
तिमीलाई मेरो याद आउन सक्छ
छाती बेस्सरी चिरिन सक्छ
मलाई तिम्रो खयाल आउन सक्छ
दिउँसै ऐंठन हुन सक्छ ।


तर तिमी गएदेखि
मलाई एक दिन पनि बाडुल्की लागेको छैन
आएकै छैन एकै पल तिम्रो झ-झल्को
न त तिमीलाई कतै देखे देखे झैँ भएर
तिम्रो बोली सुने सुने झैँ भएर
ऐंठन भएको छ मलाई ।
लाग्छ तिमीले चटक्कै भुलिसक्यौ मलाई
या उसलाई तिमी पागल भन्दिनौ
बौलाहा भन्दिनौ, राजा भन्दिनौ
बाबा भन्दिनौ, कालु भन्दिनौ
यदि मेरो याद आउने सबै सबै नामहरू
मनको दराजबाट निकालेर
ओठको ढोकाबाट फ्याँकिसक्यौ भने
भन के-के राखेकी छौ त उसको नाम ?

Saturday, April 18, 2020

डेरा- कथा

Image may contain: Suresh Badal
नयाँ डेरा सरेको दिन मलाई त्यो ठाउँ, घर र परिवेश अनौठो लागिरहेको थियो । साँझमा सामान झारेर केही साथीहरूको सहयोगमा म कोठामा सामान मिलाइरहेको थिएँ । घरबेटि बा'ले ढोकामा उभिएर घरका काइदा कानुन सम्झाइरहँदा मेरा आँखाहरू उनकै पछिल्तिर उभिएको एउटा उज्यालो मुहारमा गएर ठोकिए । लोडसेडिंग भएको साँझमा मलाई त्यो गालाको लाली र सेता आँखाहरू प्रष्ट नजरमा आए ।
घरबेटिकी छोरीसँग बोल्नु र हिमचिम गर्नु अति नै गाह्रो थियो । तर मनमा भने उनीसँग बोलुँ र मित्रता गरौँजस्तो लाग्थ्यो । कहिलेकाहिँ लुगा सुकाउन, घाम ताप्न छतमा जाँदा पनि केही असजिलो महशुस हुन्थ्यो । कसैले नराम्रो सोचिहाल्छन् कि भनेर उनीतिर गएका आफ्नै नजरहरूसँग पनि डर लाग्थ्यो ।
सोझो र पढ्ने खालको केटो हो भनेर फुपुको विश्वासमा बल्लतल्ल पाएको सुविधाजनक कोठा गुमाउनु मेरा लागि घातक नै हुने थियो । यसकारण उनीसँग औपचारिक बोलचाल बाहेक म केही गर्न सक्दैनथेँ । तर पनि मनमा पलाएको प्रेमको टुसा झन्-झन् बढ्दै गइरहेको थियो ।
मेरा भावनासँग अन्जान उनी बेलाबखत मसँग बोल्न खोज्थिन् तर म भने ठिक्क जवाफमात्र दिएर तर्किन्थेँ । उनी पनि मलाई विशेष चासो दिन्छिन् कि जस्तो भने लागिरहन्थ्यो । फोहोर उठाउने आउँदा, धारामा पानी आउँदा मैले उनीबाट नै खबर पाउँथेँ ।
बीएस्सी पढ्ने म र प्लस टु मै साइन्स पढिरहेकी उनी । हाम्रो सम्बन्धको सेतु भनेकै मेरा पुराना नोट र केही सन्धर्भ पुस्तकहरूको लेनदेन थियो । उनी मसँग नोटहरू लिने र केही नजानेका कुराहरू सिकाइमाग्ने बहानामा छतमा बोलाउँथिन् । हामीहरू पढाइका कुराहरू गरिरहँदा पर बसेका उनका बा'आमा दंग परेर हेर्दथे ।
बिस्तारै हाम्रो सम्बन्ध साथीजस्तै भइसकेको थियो । उनी मसँग खुलेर कुरा गर्थिन् भने म धेरै नै धकाउँथेँ । ऊ आफ्नो ब्वाइफ्रेण्डको बारेमा सुनाउँथि, मलाई असह्य हुन्थ्यो तर पनि फिक्का हाँसो हाँसेर सुनिदिन्थेँ । मलाई गर्लफ्रेण्को बारेमा बताउन भन्थि । तर म मन अमिलो बनाएर छैन भनिदिन्थेँ । उसको प्रेम केवल केटाकेटीपन हो जस्तो लाग्थ्यो । केही दिनको हाँसखेल मात्र न हो प्लसटुको प्रेम । परिपक्वता आएपछि त उसलाई आफ्नो भावनाले अँगालेर कसो राख्न नसकिएला र भन्ने आत्मविश्वासले आफुलाई सम्हाल्ने गर्दथेँ ।
जाडो बिदाका दिनमा ऊ घरमै थिई । मेरो भने बिहानको कलेज र प्राक्टिकलले गर्दा दिउँसो एक बजेमात्र कोठामा फर्किन्थेँ । एकदिन म अलि चाँडै कोठामा फर्किएँ । सबै कोठाका मानिसहरू आ-आफ्ना काममा गएकाले होला घर बिल्कुल सुनसान थियो । घरबेटि बा' र आमा पनि दुवैजना अफिस जान्थे । मैले बिहान भिजाएका लुगाहरू धोएँ र सुकाउन भनि छतमा गएँ । छतमा उक्लिँदै गर्दा माथिल्लो तलाको चेनगेट लगाइएको देखेँ । मैले गेट घ्वार्रर्र तानेँ । मैले गेटबाटै भित्र फ्ल्याटमा कोही केटामान्छे हातमा केही लुगाहरू च्यापेर बाथरूममा पसेको देखेँ । म अचम्ममा परेँ । म छतमा जाँदैगर्दा घरबेटिकी छोरी जिंग्रिंग्ग कपाल र खजमजिएका भर्खर लगाइएजस्ता लुगा लगाएर मेरो पछि-पछि आएजस्तो लाग्यो । मैले यसो पछाडि फर्केर हेरेँ । अघि देखेको केटा उनकै आडमा छेलिएर खुर्रर्र भरेंगबाट भाग्यो । म जिल्ल परेँ । केही बोल्ने शब्दहरू नै आएनन् । मलाई तस्वीर स्पष्ट भइसकेको थियो ।
"आज कलेजबाट चाँडै आउनुभएछ नि", अघिपछि भन्दा केही गम्भिर बनेर उसले सोधि ।
"अँ, चाँडै भयो", यति भनेर म लुगा सुकाउन थालेँ । तर ऊ पर उभिएर केही बहानाहरू बनाउन लागि ।
"मेरो ब्वाईफ्रेण्ड आएको थियो अघि । गफ गर्दैगर्दा तपाईँ आइपुग्नु भयो अनि डराएर भाग्यो भन्या", ऊ बनावटी हाँसो हाँस्न खोज्दै थिई । तर मैले उसलाई र उसका कुरामा ध्यान दिइनँ ।
म त्यो दिउँसोको दृश्यले रातभर सुत्न सकिनँ । मेरो टुसाएको प्रेम मरिसकेको थियो । मलाई उनको मुहार सम्झिँदा पनि घिन लागेर आयो । अब मैले कति दिन त्यो घिनलाग्दो मुहार हेरिरहनुपर्ने हो भन्ने सम्झेर अत्यास लाग्यो ।
एकाबिहानै घरबेटि आमाले ढोका ढक्ढकाइन् । केही छुच्चि स्वाभवकी उनी मैले ढोका खोल्नासाथ कड्किन थालिन् ।
"ए भाई यस्तो पारा चाहिँ भएन है । झन् सोझो मान्छे भनेर डेरा दिएको यसरी भरोसा तोड्न मिल्छ ? छि: छि:"
"किन के भयो र आन्टि ?" मलाई अचम्म लाग्यो किन बुढि यसरी एकोहोरो मसँग रिसाइन् भनेर ।
"अझै के भयो रे ! यसरी बिहे नभा'को केटाले कोही नभा'को मौका पारेर दिनभरि दुनियाँ केटी ल्याएर कोठाभित्र बस्ने ? तिमीलाई केही नहोला तर हामी त इज्जतदार मान्छे हौँ । हाम्रा छोरीचेली छन् यस्तो देखेर के सिक्लान् भन त ? अब अन्तै बस्ने व्यवस्था गर बाबु । यस्ता मान्छे हामीलाई चाहिँदैन ।" यति भनेर बुढि फत्फताउँदै उक्लिन् । छोरीचाहिँ पनि सँगै रहिछ सायद गुन्गुन गर्दै गएको सुनेँ । उसले आफ्नो कर्तुत छोप्न मलाई गर्दै नगरेको कुराको पोल लगाएर बदनाम गराइछ ।
मैले जवाफ दिने ठाउँ पनि थिएन । उनीहरूका निम्ति त केटाकेटी छोरी शीलस्वाभवकै थिई । मैले बोल्ने सत्य त केवल आफ्नो बचाउमा गरिएको उनीहरूको इज्जतमाथिको झन् ठूलो हमला ठहर्थ्यो । म हारेँ । आफ्नो सोझोपनले वा परिस्थितिले जे होस् म हारेँ । तर हारे पनि मेरो निम्ति स्वतन्त्रता थियो त्यस नर्कबाट मुक्ति ।
मैले हतार-हतार गरेर दोस्रो दिनमै कोठा सरेँ ।
+++

Friday, April 17, 2020

बसन्तपुर डायरी



हर्न बजाउन नपाइने भएर होला लैनचैरको जाममा माइक्रोबस चुपचाप थियो । माइक्रोभित्रको म पनि चुपचाप थिएँ । बोलिरहेकी थिई त एउटि केटी, अघिल्लो सीटकी, फोनमा । ऊ पछाडिबाट औधि राम्री लागेकी छ, बोली पनि मीठो छ तर अनुहार देख्न पाएको छैन । मेरो कल्पनामा धेरैथरि अनुहारहरू आए तर उसको बोली सुनिरहँदा कोही राम्रा लागेनन् ।


मलाई त्यो केटी एकछिनमै नराम्री लागिहाली जब मेरो कल्पनामा मेरी उनी आइन् । उनी घन्टि बजाएर मोबाइलको स्क्रिनमै आइन् ।


"कता हो हजुर ?"


"जमल", मैले ढाँटेँ ।


"आइस्यो छिटो", उनले फोन राखिन् । मैले हातमै घुमाइरहेँ फोन ।

गाडि कुद्यो ।

भृकुटिमण्डपमा केटी झरि । मुखमा मास्क लगाएकी उसको अनुहार देखिएन । तिघ्रा देखिने कट्टु लगाएकी रै'छ । सेता चिल्ला तिघ्रा हेर्दा लाग्यो केटी अचम्म राम्री हुनुपर्छ । मुखमा धुलो पर्छ भनेर मास्क लगाएकी उसले तिघ्रामा पनि फोहोर नजर पर्ला भनेर किन सोचिन होला । हुन त लुगा न हो आफ्नै रहरको लगाई नि ।


शहिदगेट पनि धरहरा नभएर एक्लै टोलाइरहेको छ । यसो बोल्ने साथी नहुँदा च्याउँदो लाग्दो हो विचरालाई । रंग उप्किएको, धुस्रे फुस्रे काठमाण्डु मलभित्र करोडौँका पसलहरू छन् । काठमाण्डु मल र देश उस्तै लाग्यो, धनी व्यापारीहरू बस्ने थोत्रो घर ।

सडकपेटिमा लहरै किताब बेच्न राखेका छन् । अलिपर न्युरोड पुगेपछि हेरेँ, सिसाको सोकेसभित्र जुत्ता बेच्न राखिएका छन् । तर मलाई नमज्जा लागेन । किनकि किनेर लगेपछि किताब दराजमा हुनेछ भने जुत्ता छिँडिको चोयाको र्याकमा । केही मान्छेहरू जुत्ताजस्तै हुन्छन् । कसैले फाइदाको लागि लगाएर हिँड्छन् अनि छिँडिमै फुकालेर जान्छन् । केहिबेर सुख पाइयो भनेर कहिल्यै मात्तिनु हुँदैन । किताबजस्तै ज्ञानी हुनुपर्छ, जहाँ पनि रमाउन सक्ने ।

बसन्तपुरमा भीड छ । मायालुहरूको, माग्नेहरूको अनि पर्यटकहरूको ।


एउटा टुरिस्टले उसकी प्रेमिकालाई खुलेयाम चुम्मा गर्यो । मेरी उनीले मेरो हात च्याप्प समाइन् । हेरेँ उनले त लाजको गाजल लगाइसकिछन् आँखामा । माया त लुकेरै गर्नुमा मजा हुन्छ । मन पनि पावरहाउसजस्तै हो । पानी जति जमायो उति बिजुली निस्किन्छ । भावनाहरू जति जमायो उति माया निस्किन्छ । हामी भावनाहरू थुन्छौँ, कुनैदिन आउला नि बत्ती बाल्ने दिन । कस्सम झलमल्लै पार्दिन्छु ।


"छि छाडा", उनी लजाउँछिन् ।


एक हुल फोहोरी फुच्चेहरू फोहोर शब्द बोल्दै आए । यीनीहरू गाउँ गाउँबाट भागेर आएका होलान् । बसन्तपुरमा माग्छन्, खान्छन् । यहि मन्दिर पेटीहरूमा सुत्छन् ।


एउटा सानो फुच्चेले मन्दिरमा चढाएको पैसा टिप्यो र चाउचाउ किनेर ल्यायो । धेरै दिनमा खान पाएजसरी मसला र खुर्सानी मिसाएर एक फाँको खायो । उसको अनुहार उज्यालियो । तर एकैछिनमा त्यो उज्यालो हरायो किनकि उसको हातबाट चाउचाउको प्याकेट हरायो । अर्को बलियोले खोसेर लग्यो ।

फुच्चे रूँला रूँलाजस्तो गर्यो, रोएन । उसको आँखाले आँशु थाम्यो या भोकले उसँग आँशु नै थिएन, आँशु बगाएन । मलाई उसलाई चाउचाउ किन्दिउँजस्तो लाग्यो । सोचेँ त्यो दशजनाको भीड नै पछि लाग्यो भने ? भोलिबाट पछि लागेर सताए भने ?

मान्छेहरू जानाजान स्वार्थी हुँदैनन् । पहिला आफू बाँच्नु नै मान्छेको धर्म हो ।

पश्चिमी आकाशमा घामले सिन्दुर छर्न थालिसकेछ । हामी बिस्तारै निस्कियौँ । लाग्यो त्यो साँझसँग सिन्दुर मागेर उनको सिउँदो सजाइदिउँ । तर मोरीले त सलले टाउको र कपाल ढाकिसकिछन् ।
+++
फेसबुक वालमा ८ अप्रिल २०१७ मा पहिलो पटक प्रकाशित । तस्वीरका लागि साथी संगीता थापालाई धन्यवाद ।
@sureshbadal

मेरी आमा महान हैनन्

  @ सुरेश बडाल पाँच वर्षको उमेर। गाउँकै बोर्डिंग स्कुलको नर्सरी कक्षामा भर्ना भएर एउटा बेन्चको छेउमा डराई डराई बसिरहेको बेला हेर्दै डरलाग्...