जो असाधारण तरिकाले ठगियो, ठगहरु उसलाई देखेर हाँसिरहेछन्
जो ठग थिएनन्, उनीहरु पनि हाँसिरहेछन्
तर जो ठगिएको थियो, ऊ प्रयत्न गरिरहेछ हाँस्नलाई
र अन्तमा ऊ पनि हाँसेरै छोड्यो एक अजीब तरीकाले
उसको हाँसोमा कुनै युग छ जहाँ ऊ लाचार छ
जसलाई मारियो, मरिसकेपछि बेचैन भएर ऊ आफ्नो चश्मा खोजिरहेछ
ती अनुहारहरु जो उसको हत्यामा शामिल थिए
उनीहरुलाई ठीकसँग देखेको थिएन उसले मर्नुअघि,
मरिसकेपछि पनि पढ्न चाहन्छ ऊ केही किताबहरु
जसलाई मर्नुभन्दा ठीक अगाडि अनेक कटौति गरेर मुश्किलसँग किनेको
थियो उसले
उसले मर्नुअघि कुनै चिट्ठा किनेर आएको थियो
त्यो चिट्ठा अहिले उसले जितेको त थियो
तर त्यो जित त उतै छ, जहाँ जीवन छ
त्यो जीवन त उसले गुमाइसकेको थियो
एक चिट्ठावाला हाँसिरहेछ
हाँसिरहेछन् अरु धेरै चिट्ठावालाहरु
उनीहरुकै शासन छ त्यहाँ, जहाँ ऊ मर्नुअघि बस्ने गर्थ्यो
ए बाबु हो, म मरिसकेको छु
तिमीहरु बेकार मेहनत गरिरहेछौ
जाऊ, कुनै अर्को काम खोज
हत्याको पेशामा छैनन् आजभोलि कुनै बेरोज़गार
एउटा कुरा जुन ऊ मर्नुअघि सोध्न चाहन्थ्यो कविहरुलाई
त्यो कुरा अति मामूली थियो
जस्तो कि तिमीहरु जो आपसमा कविताहरु लेख्छौ
त्यही कविता मात्र फलाक्ने गर्छौ ?
या कुनै अर्को कामधन्दा पनि गर्छौ ?
यतिसम्मको हिंसा त कविमा पाइँदैन थियो
अक्सर यस्तो इतिहासका पानाहरूमा लेखिएको
छ
मर्नुभन्दा अगाडि ऊ त्यो इतिहास पनि पढेर आएको थियो
जुन इतिहासलाई पनि पछिल्ला केही वर्षहरुमा बडो राम्रोसँग
नयाँ तरिकाले मारिएको थियो
जहाँ ऊ गाडिएको छ या जहाँ छरिएको छ उसको खरानी
त्यहाँ हावा चलेपछि सुनिन्छ त्यस आत्माको पातलो धुलोजस्तो मलिन
आवाज
ऊ लगातार सोधिरहन्छ
ए बाबु हो, के कुनै चिज अब जिउँदो बचेको छ त दुनियाँमा ?
म खरानी हुँ फगत खरानी
नफुक्नु,
नत्र पोल्नेछ तिम्रै आँखा ।
-
अनुवाद : सुरेश
बडाल
Comments
Post a Comment