Monday, February 12, 2018

फेसबुक स्टोरी

फेसबुक खोलेको रमाइलो याद छ । बाह्र कक्षा पढ्दा साथी प्रतिकले सोधेको थियो, ‘तिमीले फेसबुक खोलेको छैनौ ?’

बुक भनेपछि सहि गरेर छोडिएको खाली चेकबुक पनि खोल्न अल्छी लाग्थ्यो ! यसले कुन बुकको कुरा गरेको होला ? म अचम्ममा परेको थिएँ ।

‘के हो फेसबुक भनेको ?’ सोधेको थिएँ ।

‘यसमा फोटो हाल्न, अनि केहि कुरा लेख्न पनि मिल्छ । खासमा आफ्ना साथीहरु के गर्दै छन् भनेर थाहा पाउन सकिन्छ ।’ उसले मलाई बताएको थियो, ‘अलिअलि याहु मेसेन्जरजस्तो पनि अलिअलि हाइफाइभ जस्तो पनि !’

‘ए ए’ भन्दै साइबर पसेर बनाएको थिएँ फेसबुक । प्रतिककै पछिपछि लागेर । फोटो थिएन । एउटा फूलको फोटो राखिदिएको थियो उसैले । सायद मेरो फोटो राख्न पाएको भए पनि मान्छेहरुले फुल नै भन्थे होला मलाई, अंग्रेजीको !

आइडी खोलिरहँदा सबै सिकाउँदै उसले मलाई ‘एउटा सम्झिने खालको पासओर्ड लेख’ भनेर अर्कोपट्टि फर्किएको थियो ।

‘सुजिता ।’ सुटुक्क लेखेको थिएँ मैले ।

काली काली हिस्सी परेकि केटि थिई सुजिता । मेरी क्लासमेट । तर कहिल्यै बोलचाल भएन हाम्रो । लेख्न त उसको नाम धेरैले मनको भित्तामा लेखेका थिए । केहि फटाहाहरुले ट्वाइलेटको भित्तामा पनि लेखेका थिए । तर फेसबुकको पासओर्डमा त्यतिबेला मैले मात्र लेखेको थिएँ कि ?

जेहोस्, पहिलोचोटी फेसबुक बनाएको थिएँ । साथीहरु बारे थाहा पाइन्छ भन्थ्यो प्रतिक, तर उसैको अत्तोपत्तो भएन बाह्र कक्षापछि । फोटो त देखिन्थ्यो फेसबुकमा तर चाईंचुई केहि थिएन उसको । धेरै साथीहरु बिराना भएर हराए । केवल यादमा आइरहि सुजिता पासओर्ड बनेर । तर ऊ नै ‘याड’ थिइन मेरो फेसबुकमा !

केहि दर्जन निष्क्रिय साथीहरु । खालि खालि म्यासेजको इन्बक्स । मेरो मन खासै रमेन फेसबुकमा ।

ब्याचलर पढ्दा भने अलिअलि रस बस्दै गयो यसको । कारण थियो नोकिया मोबाइल अनि त्यसमा भएको ओपेरा मिनी । मोबाइलबाटै चल्न थाल्यो फेसबुक । खोजि खोजि केहि राम्रा अंग्रेजी कोट्स राख्थें म, स्टाटस बनाएर । तर फेसबुक पनि निर्दयी बनिदियो । छुट्याउन थाल्यो यसले वर्ग । देखाउन थाल्यो यसले औकात । मोबाइलबाट चलाउने गरिब अनि कम्प्युटरबाट चलाउने धनी । त्यस्तै धनीमध्यकि एउटी साथी थिई रूशा । घरमै इन्टरनेट जोडेकि अनि कम्प्युटरबाट फेसबुक चलाउने !

‘तिमिले फेसबुकमा फोटो किन नराखेको ?’ सोधेकि थिई उसले ।

‘मोबाइल त यस्तो छ अनि कसरि राख्नु नि ?’ क्यामेरा नभएको मोबाइल देखाउँदै निन्याउरो मुख लगाएको थिएँ मैले ।

‘खै यता हेर त’ आफ्नो नोकियाको मोबाइल जसमा क्यामेरा पनि थियो त्यसैले मेरो फोटो खिचिदिएकि थिई उसले । ‘खै पास्ओर्ड भन, भरे फोटो राख्दिन्छु तिम्रो ।’

भनौँ कि नभनौँको दोसाँधमा फोटो राख्ने तिर्खाले भन्दिएको थिएँ, ‘सुजिता !’

‘हिहिही गर्लफ्रेण्ड ?’ आँखा झिम्क्याएर सोधेकि थिई उसले ।

‘हैन बैनीको नाम हो । यतिकै राखेको सम्झिन सजिलो भएर ।’ मन बाँधेर ढाँटेको थिएँ मैले । न प्रेमिका बन्ली भन्नु, न बिहेको सम्भावना, हराइसकेकि सुजितालाई बैनी भन्न केको पाप ?

भोलिपल्ट कलेजमा मुस्कुराउँदै भनेकी थिई रूशाले, ‘मैले भाईलाई तिम्रो फोटो देखाको । मन परेन रे ।’

म खुशी र दुखि एकैपटक भएको थिएँ, घाम लाग्दा लाग्दै पानी परेको दिनजस्तै ।

उसले मेरो फोटो किन देखाई त भाईलाई ? के उसले मलाई मन पराउँछे ? तेरो हुनेवाला भिनाजु यहि हो भनेर देखाई त मेरो फोटो ? कल्पनामै मैले गुलियो जेरी चपाएको थिएँ । अनि उसको भाईले किन मन परेन भन्यो त ? सायद आसजिलो लाग्यो होला दिदिले कोहि केटाको फोटो देखाउँदा । मलाई दुख थोरै लाग्यो । खुशी धेरै लाग्यो, झरी रोकिएर खुलेको दिनजस्तै ।

‘फोटो राख्दिएँ । पासओर्ड फेर्ने भए फेर है ?’ यति भनेर ऊ केटिहरुकै हुलमा मिसिन पुगेकी थिई ।

घर आएर फेसबुक खोलेँ । सेटिंगमा गएँ । पासओर्ड फेर्न खोज्दा कुनै नामहरु जुरेनन् । सम्झनलाएक कुनै शब्दहरु पनि फुरेनन् । यादमा रूशा नै आई । नयाँ पासओर्डमा खरर टाइप गरें उसको नाम । छोटो भयो भन्यो फेसबुकले । पासओर्ड बनाउन मानेन । होची होची उसलाई मनले पनि मनमा सजाउन मानेन ।

समय बितिरह्यो । संचारले फड्को मार्यो । औँलाको स्पर्शमा दुनिया मुट्ठीमा आउँदै थियो । जमाना स्मार्ट फोनको थियो । डिग्री पहिलो वर्ष पढ्नेताका मेरो हातमा पनि पर्यो स्मार्ट फोन । त्यसैबेलातिर काठमाडौँ आउनुभएको थियो बा’।

खाटमा गुडुल्को परेर मोबाइलमा फेसबुक चलाइरहेको मेरो छेउमा फ्यात्त आफ्नो मोबाइल फ्याँकेर भन्नुभएको थियो बा’ले, ‘ला मेरो पनि फेसबुक बनाइदे त !’

जिल्ल पर्दै बा’को मोबाइल समातेर फेसबुक खोलिदिएको थिएँ । जथाभाबि लाइक साइक नगर्नु अनि जे पायो त्यो नलेख्नु भनेर सिकाएको थिएँ मैले । गाउँकै एकजना दाईले नजानेर छाडा फोटो शेयर गरेका थिए कुनैबेला । लाजमर्नु भएको थियो उनलाई । यहि सम्झेर सम्झाएको थिएँ बा’लाई ।

‘ल ल था’छ मलाई नि ।’ ढाकाटोपी ढलक्क ढल्काएको फोटो प्रोफाइल पिक्चर देखेपछि बा’ गमक्क परेका थिए । अब फेसबुक बनाएपछि मेरो पनि जासुसी गर्लान् बुढाले भनेर उनकै अकाउन्टबाट मैले आफुलाई ब्लक गरेको थिएँ खुसुक्क ।

‘बादलले त खत्रा खत्रा लेख्दो रै’छ नि त फेसबुकमा हेर्नुभो सर ?’ आफ्ना स्टाफहरुले सोध्दा रैछन् बा’लाई ।

‘अँ अँ त्यसले राम्रो लेख्छ पहिल्यैदेखि ।’

न देख्नु, न पढ्नु तैपनि गजक्क परेर फुर्ति लगाउँदा रै’छन् बा’ !

मेरी आमा महान हैनन्

  @ सुरेश बडाल पाँच वर्षको उमेर। गाउँकै बोर्डिंग स्कुलको नर्सरी कक्षामा भर्ना भएर एउटा बेन्चको छेउमा डराई डराई बसिरहेको बेला हेर्दै डरलाग्...