Skip to main content

तिमीले रोजेको मान्छे


आकाशको नाङ्लाभरि छरेर तारा
बिचमा एउटै मात्र जून कसले राख्यो होला ?
बाँडेर सबैलाई अनेक कमसल धातू
मेरो भागमा नम्बरी सून कसले राख्यो होला ?
म त सोच्थेँ
एक्लै हिँड्नुपर्ने होला जिन्दगीको पट्यारलाग्दो यात्रामा
तर सँगै हिँड्न भनेर तिमी आयौ
अलमलिन्थेँ होला म गन्तव्यको खोजीमा
पैतालाको डाम बनेर अघि लाग्यौ
कतै बाटै पो भुल्यौ कि
मलाई अर्कै भन्ठान्यौ कि
नत्र त मलाई
दुखैदुखमा पुरिएको देखेर
नयाँ दुख पनि सधैं दुखि बनेर फर्किन्थ्यो
एक्लोपन र बेवास्ताले स्याण्डविच बनाएको देख्दा
आँसु पनि लतक्क पग्लिएर तर्किन्थ्यो
आफैं सोच त
बिचरा भनेर लेख्ने कलमसमेत किन्न नसक्ने म
कति विवश अनि गरिब थिएँ होला
दुखि बनेर रून पनि नसक्ने
मेरा आँखा कति बाँझा र सुख्खा थिए होला
भाग्य सिधा बाटो भएर हिँड्थ्यो भने यदि
मेरो निधारको नक्सा सधैंभरि नागबेली थियो
माया रसिलो जमिनमा फुल्थ्यो भने यदि
मेरो हृदयको बारीमा खडेरी थियो
पराजीतहरूको लस्करमा पनि म
पराजीत बनेरै
सबभन्दा पछाडिको लाममा उभिएको हुन्थेँ
असफलताको आरोहणमा पनि म
असफल बनेरै बेसक्याम्पमा छोडिएको हुन्थेँ
अनिश्चित नदीको मझधारमा पुगेको बेला
सुनौलो गन्तव्यको किनारमा लैजान भनेर तिमी आयौ
मैले आफैंलाई माया मारिसकेको बेला
मेरो अस्तित्वमा प्राण भर्न भनेर तिमी आयौ
तिमी त असंख्य सम्भावनाहरूको बंगैचामा
सूर्यमुखि बनेर फुलिरहेकि मान्छे
तिम्रो सौभाग्यको अनुहारमा हेर्दै आकाशको घाम
तिमीसँग आँखा जुधाउन यताउता सरिरहन्थ्यो
तिम्रो अस्तित्वको स्पर्श पाएरै हो
फूलहरूले सुगन्ध पाउने
फलहरूले रस पाउने
निर्जनहरूले प्राण पाउने
के थिएन र तिमीसँग
भाग्य लेख्ने अधिकार विधातालाई थियो भने
त्यसलाई फेर्ने ताकत केवल तिमीसँग थियो
सबैलाई दृष्टिगोचर गर्ने शक्ति ईश्वरसँग थियो भने
करूणाले हेर्ने नजर तिमीसँग थियो
त्यसैले त
सम्पत्तिवाल खोज्न सक्थ्यौ
रूपवान् रोज्न सक्थ्यौ
तैपनि तिमीले मलाई रोज्यौ
तिमीलाई थाहा थियो
तिमीसँग उभिने मान्छे कुरूप हुने छैन
तिमीलाई पछ्याउने मान्छे गरिब हुने छैन ।

Comments

Popular posts from this blog

चन्द्रमाको कथा

प्रेम गर्नेहरुले त प्रेमिकालाई हावाले झोंक्काले पनि पनि दुखाउला , फूलको पत्रले पनि बिझाउला , झरीका बुँदहरुले पनि सताउला भनेर ख्याल गर्छन् । कहाँ सक्छन् र एसिड छ्यापेर असैह्य पीडा दिन । जरुरी छैन आफूलाई मन परेको मान्छेले आफूलाई पनि उत्तिकै मन पराओस् । जरुरी छैन , आफूले चाहेकै मान्छेसँग जिन्दगी बिताउन पाइयोस् । तर साँचो प्रेम गरेकीलाई पराईकै बने पनि चोट दिन मन लाग्दैन , धरधरी रुवाउन मन लाग्दैन । कोही आफूसँग यात्रा गर्न चाहँदैन भन्दैमा उसलाई कहाँ जबर्जस्ति गर्न पाइन्छ र । सबैको गन्तव्य एकै ठाउँ नहुन पनि त सक्छ । एसिड छ्यापेर कुरूप बनाइदिन्छु भन्ने सोच राख्नेहरुको आफ्नै मन र बिचार कुरूप हैन र । त्यो कस्तो प्रेम होला आफैँले मन पराएको फूललाई च्यात्न मन लाग्ने ? त्यो कस्तो चाहत होला आफूले हृदयमा राखेकै मान्छेलाई दुखाउन मन लाग्ने ? कसरी भन्न सक्छौ यसलाई प्रेम जब तिमी त्यो ओठमा हाँसो हैन ती आँखामा आँसुका ढिक्का देख्न चाहन्छौ । कसरी भन्छौ त्यो लालचलाई प्रेम जब तिमी उसलाई उसकै रहरको बाटोमा पाइला चाल्न अवरोध गर्दछौ । प्रेम त हत्केलामा थपक्क बस्न आएको सुन्दर पुतलीलाई नचलाईकन उसकै आकाशमा बेपर्वा...

क्वारेन्टाइनबाट एउटा प्रेमपत्र । - सुरेश बडाल

काली, कहिल्यै सोचेको थिइनँ यस्तो पनि दिन आउला भनेर । यसरी कुनै अदृश्य दुश्मनदेखि डराएर घरभित्रै लुकिरहनु पर्नेछ भनेर । सोचेको पनि थिइनँ कहिल्यै, जीवनको महत्व यति हुन्छ अनि मृत्युको भय यतिबिघ्न हुन्छ भनेर । क्वारेन्टाइनमा बसेको एक हप्ता बितेपछि महशुस हुँदैछ आज, संसारमा आफ्नो जति प्रेम अरु कसैको लाग्दो रहेनछ । तिमीलाई सुन्दा नराम्रो लाग्ला तर वास्तविकता यही नै रहेछ । तिमीलाई केही होला, घर परिवार, बा'आमालाई केही होला भनेर त एकपल पनि ख्याल आउँदो रहेनछ, रत्तिभर पिर पर्दो रहेनछ । केवल आफैँलाई केही होला कि भन्ने सन्त्रासले अँगाल्दो रहेछ । तिमी त्यता सुरक्षित नै बसेकी हौली । यता म पनि यही कोठाको चार भित्तोभित्र कैदीझैं समेटिएर बसेको छु । कहिलेकाहीँ झ्यालबाट बाहिर हेर्छु, बाटोमा, बतासमा जताततै भाइरस सल्बलाएको झैं देख्दछु । अनि आफूलाई घरको गेटबाट बाहिर निकाल्न सक्दिनँ । तिमी यो मुटुमा बसेकी छौ । मेरो कलेजीमा बसेकी छौ । मेरो अनुहारमा देखिने उज्यालो तिम्रै देन हो । अनि मेरो ओठहरुमा खेल्ने मुस्कान पनि त तिम्रै कोसेली हो । जब तिम्रो प्रेममा परें, त्यसै दिनदेखि मलाई मेरो सम्पूर्ण अस्...

बिहेको बिरुद्धमा!

देशको प्रधानमन्त्रीसमेत भएका सन्त नेता कृष्णप्रसाद भट्टराई जीवनभर अविवाहित थिए। त्यस्तै पटक-पटक देशको प्रधानमन्त्री र नेपाली कांग्रेसको शक्तिशाली सभापति भएका गिरिजाप्रसाद कोइराला पनि जीवनको पछिल्लो कालखण्ड जतिबेला उनी शक्तिको केन्द्रमा थिए, एकल पुरुष थिए। एक हिसाबले यी नेताहरुको सफलतामा जीवनसंगिनीको बाधा रहेन! विश्वमै पनि यस्ता धेरै नेताहरु छन् जसले बिहेलाई भन्दा आफ्नो राजनीतिलाई महत्व दिएर सफलता हात पारे। श्रीमती त्यागेका कारण प्रधानमन्त्री भएका नरेन्द्र मोदीदेखि श्रीमतीलाई महत्व दिँदा आफ्नो तीसौं बर्षको राजनीति सिध्याएका जिम्बाब्वेका रोबर्ट मुगाबेसम्मका उदाहरणहरु छन्। नेपाली सिनेजगतका महानायक राजेश हमाल महानायक बन्नुमा पनि उनी जीवनको लामो समय अविवाहित रहनुले भूमिका खेल्यो। दुई तीनपटक बिहे गरेका कारण जति नै राम्रा र हिट चलचित्र दिए पनि भुवन केसी महानायक भनिएनन् भन्ने मेरो ठम्याई हो! नेपालमा मात्र हैन बिहे नगरेकै कारण हिन्दी सिनेजगतमा सलमान खान पनि सुपरस्टार भएका हुन्! नत्र उनको अभिनय हेर्दा त सुपरस्टार र उनी भनेका दिन र रातझैँ कहिल्यै नभेटिने जस्ता लाग्दछन्। बिहे भने एक किस...