@ सुरेश बडाल
पाँच वर्षको उमेर। गाउँकै बोर्डिंग स्कुलको नर्सरी कक्षामा भर्ना भएर एउटा बेन्चको छेउमा डराई डराई बसिरहेको बेला हेर्दै डरलाग्दी मिसले "रोल नम्बर फोर्टीफाइब सुरेश बडाल" भनेपछि आफूअघिका साथीहरुले जस्तैगरि मसिनो आवाजमा "यास मिस" भनेको दिन मेरो नाम सुरेश बडाल रहेछ भन्ने मलाई थाहा भएको थियो ।
योभन्दा अझै केही वर्षअगाडि बुझिनेगरि बोल्न, सुन्न र हेर्न नसकेको बेलैमा म झलुंगोमा उभिएर आँगनको छेउतिर यताउता हिँडिरहेको एउटा आकृति देख्ने गर्थें। त्यो आकृति हेर्दैमा पीडित देखिन्थ्यो। ऊ मलाई हग्न, मुत्न र भोकभोकै झलुंगोमा उभिएर रुन छोडेर खाई न पाईसँग मरिमेटेर काम गर्थ्यो, आफूभन्दा ठूलो भारी बोक्थ्यो। ऊ बर्खामा झरीले भिज्थ्यो, गर्मीमा पसिनाले भिझ्थ्यो। काममा एकोहोरिरहँदा बल्ल कुनैबेला फुर्सदमा यस्सो सम्झिएर मलाई काखमा लिएर दुध चुसाउँथ्यो, लेग्रा बनेर टाँस्सिएका आँशुहरु पुछिदिँदै "कोलायो कोलायो" भनेर मलाई छातीमा टाँस्थ्यो। त्यतिबेला मलाई यो मान्छे मेरो आफ्नै कोही हो भन्ने लागिसकेको हुन्थ्यो। त्यही मान्छेलाई सम्झिएर मैले अलिअलि अक्षर चिन्न थालेपछि केजी कक्षाको होमवर्क कापीमा लेखेको थिएँ, "मेरी आमाको नाम सीता बडाल हो।" अनि मलाई थाहा हुँदै आयो म सीता बडालको छोरो रहेछु।
सानै छँदा एकदिन मैले झगडा गरेर आमासँग पैसा मागें। तर म सतर्क थिएँ, त्यो पैसा मलाई बुबाबाट लिनु थिएन किनकि साथीहरु र गाउँका दाइहरुको पछिपछि लागेर मैले त्यो पैसा फिल्म हलको टिकट काउन्टरमा बुझाउनु थियो। फिल्म हलको टिकट काउन्टरमा बुझाएर राजेश हमालको फाइट हेर्ने पैसा बुबाबाट माग्नु भनेको लगभग राजेश हमालकै लेभलको घुस्सा मैले मेरो चाकको फिलामा पहिल्यै भेट्नु थियो। स्वभाविक रुपमा ममा यो पिटाईको रहर थिएन। त्यसैले बुबाले थाहा नपाउनेगरि आमासँग पैसा माग्नुको बिकल्प थिएन।
तर न त जागिर न त अरु कुनै व्यवसाय, आमासँग मलाई दिने पैसा थिएन। छ न त थिए होला बेलाबखत माइत जाँदा यसो टिका लगाइदिएर मावली हजुरबाले दक्षिणामा दिनुभएका नोटहरु। अनि बाटो लाग्दै गर्दा त्यो दक्षिणाको आशिर्वादमा अलिकति थप माया मिसाएर हजुरबाले खुसुक्क आमाको पोल्टोमा राखिदिनुभएका थपुवा नोटहरु। तर सासु, ससुरा, जेठाजु, जेठानी नामका अनेक अनेक आँखाहरुले एउटी निर्बल आमाले छोरालाई फिल्म हेर्न जान खर्च दिँदै गरेको दृश्य कहाँ पचाउन सक्नु। कहाँ सक्नु लाटी, गोज्यान्ग्री, पैसा नाचिनेकी, केही थाहा नपाएकी भैदिनुपर्ने जीवले बाठी पल्टेर कमाई न धमाई खर्च दिएको कुरा शासक आँखाहरुले पचाउन!
त्यसैले आमाले मलाई पैसा दिनुभएन। म रोएँ, कराएँ, अनेक घुर्की देखाएँ, तर मैले आमाका विवशता बुझिनँ। थाहा पाउँदो हुँ त, सबैका अघिल्तिर आमाका फरियाको सप्कोमा झुण्डिएर म किन रडाको मच्चाउँथें होला र। थाहा पाएको भए आमाको मनको कुरा, जानेको भए पढ्न, आमाले नबोलेरै बोलेका कुराहरु, म कतै एकान्त पारेर खुसुक्क माग्थें होला आमासँग पैसा। तर म त आमाले गरेको बेवास्ताबाट आक्रोशित हुँदै भेटिएजत्ति कुराहरुले झट्टी हान्न थालेछु।
त्यही दिन थियो मैले आमा साँच्चिकै रुनुभएको देखेको। आमाका पाखुरामा सुम्ला थिए अनि मेरो हातमा आमाकै थाप्लोमा सधैंभरि टाँस्सिइराख्ने नाम्लोको पातो। सुम्ला नबसेको हातले आमा नाम्लोको बरियो समाइरहनु भएको थियो जो एकछिन अघि अर्को हातमा बज्रिएको थियो। मैले आमाका आँशु देखें, ती साँच्चैका थिए। त्यतिबेला मलाई एकछिन अघिको समयलाई मेरो जिन्दगीको कालोपाटीबाट धुलो झर्नेगरी मेटाउन मन थियो। तर जीवनका नमीठा सम्झनाहरु मेट्ने डस्टर कतै पाइँदो रहेनछ। म त्यो घटनाको तुष बोकेर बाँचिरहें। मलाई आमालाई बताउन मन थियो, आमा म पापी हुँ, अधर्मी हुँ। कोयामा जालो नपसेको कट्मिरो आँपजस्तै बुद्धिको मसिनो जालो पनि नपसेको अदना ठानेर मलाई माफ गरिदिनु होला है भनेर मैले कैयौँपटक आमालाई भन्न चाहें तर कहिल्यै भन्न सकिनँ।
यो कन्फेसन गर्न मलाई झन्डै बीस वर्ष लाग्यो। र एकदिन जिस्किएजस्तो गर्दै आमालाई भनें, "सानामा मैले पैसा माग्दा तपाईंले दिनुभएन अनि मैले झगडा गर्दै नाम्लोको झट्टी हान्दा तपाईंलाई लाग्यो है, आमा?"
"कहिलेको कुरो? हैन होला, बिर्सिएँ मैले त।" आमाले बेवास्ता गर्दै भन्नुभयो।
मैले त्यतिबेला सम्झिन नचाहनु वा बिर्सिदिनु नै माफी दिनु हो भनेर बुझें, आमा। आज तीस वर्षको उमेर काटेपछि बल्ल मैले मेरी आमालाई चिन्दैछु। कति कुराहरुलाई बिर्सिदिएर, कति कुरा नसुनेजस्तो गरिदिएर, कति कुरा सहिदिएर बाँच्नुभएको छ आमा।
मेरी आमाबिना मेरो घरको परिचय केही हुँदैन। अनि मेरी आमाको परिचय पनि मेरो घरमा केही छैन। मेरी आमाको नाम मेरा बाले बाजा बजाएर, सिन्दुर हालेर आफ्नो घरमा ल्याउनु अघि मात्र सीता थियो। तर पराइघरमा आएपछि आमाको परिचय फेरियो। वहाँ कसैको श्रीमती बन्नुभयो, कसैकी बुहारी बन्नुभयो, कसैकी आमा बन्नुभयो। तर आफू बन्नुभएन। 'सीता' मेरी मावली हजुरबाकी छोरी हुन्। मेरो मामाकी बहिनी हुन्। मलाई आज आएर मामाघर प्रिय लाग्न थालेको छ किनकि त्यहाँ मलाई 'सीताको छोरो' भनेर चिन्छन्। मेरो आमाको परिचय छ वहाँको माइतीमा। आमालाई हेर्दा मनमा प्रश्नका ज्वारभाटा उठ्छन्, के ती तमाम छोरीहरुले आफ्नो 'कन्यादान' हुँदैगर्दा आफ्ना परिचयका काँचुलीहरु माइतमै छोडेर आएका हुन्? अलिअलि रहलपहल परिचयका अवशेषहरु पनि आमा बनेपछि नै सेलाएका हुन्?
एकदिन कुरैकुरामा आमाले भन्नुभयो, "अब एउटी राम्री, घर गरेर खाने केटी खोजेर तेरो बिहे गर्नुपर्छ। मलाई पनि बुहारी भित्र्याएर सासु बन्ने रहर लाग्या छ।"
"घर गरेर खाने भनेको के हो आमा? तपाईंजस्तै घरधन्दामा नै अल्झिएर आफ्ना चाहनाहरुको अन्त्यष्टि गरेर जीवन जिउने केटी खोज्ने भन्नु भाको?"
आमा मौन बस्नुभयो। मलाई धेरै कुराहरु भन्न मन थियो तर आमाको मन दुखाउन मन लागेन। म आफैं खोजौंला आमा मेरा लागि केटी भनेर भन्न मन थियो। मलाई तपाईंको जस्तो कुलघरान, जात, गोत्र इत्यादी हेरेर गरेको विवाहमा कुनै आपत्ति छैन, तर के तपाईंलाई आफूलाई बुझ्दिने मान्छेसँग जीवन बिताएँजस्तो लाग्छ?
मलाई भन्न मन छ आमालाई, तपाईंलाई अहिले कुनै दुख छैन। छोराछोरीहरु सबै सेटल भैसके। सुविधाहरु प्रसस्त छन्। तर बिडम्बना तपाईंलाई सुख र खुशीको अर्थ नै थाहा छैन। के तपाईंको सुख सन्तानमा र खुशी श्रीमानमा टिकेको हैन र? खै त तपाईंको आफ्नो रहर पुरा गर्न पाउँदाको खुशी? हामी जन्मिँदा तपाईंले खाना पनि छोराछोरीलाई ज्यादा दुध आवस् भनेर खानुहुन्थ्यो। तपाईं त भोकै बस्दा पनि बाकै आयु लामो होस् भनेर बस्नुहुन्छ। तपाईंका हातखुट्टा पनि गोठका गाइवस्तुका लागि चल्ने गर्छन् किनकि तपाईं सुतेको दिन ती भोकले ड्वाँ ड्वाँ कराउन थाल्नेछन्। साँच्ची तपाईं कसका लागि सास फेर्नुहुन्छ? कसका लागि बाँच्नुहुन्छ? अनि कसको ऋण तिर्न यो धर्तीमा जन्मिनुभो, आमा?
तपाईं मात्र हैन, यो देशमा लाखौँ यस्ता आमाहरु छन् जो ती लाखौँ बाहरुका कहिल्यै जीवनसाथी भएनन्, केवल दासी भए, सेविका भए। के कहिल्यै ती बाहरुले आफ्नी श्रीमतीलाई तिमीलाई केको पिर छ भनेर सोधे त? तिम्रो सपना के हो भनेर सोधे त? कहाँ घुम्न जान मन छ? गीत गाउने रहर भए गाउ, नाच्न मन भए उन्मुक्त भएर नाच भनेर पिठ्युँ थप्थपाएर ढाडस दिए त? हाम्रै बाले तपाईंलाई खाना पस्किएर दिएर तपाईंले खाउन्जेल के के चाहिन्छ सोद्धै, थप्दै गरेर अन्तिममा तपाईं उठेर चुठ्न गएपछि त्यही जुठो थालमा आफूलाई खाना राखेर खाना कुनै पनि जुनीमा सक्नुहुन्न। तर "आइज आज सँगसँगै पस्केर खाउँ" भन्न त सक्नुहुन्छ नि। किन यसो कहिल्यै भन्नुहुन्न?
मलाई यो लेखोट लेख्ने किन्चित मन थिएन। यहाँ आमाका नाममा लाखौँ ठेलीहरु लेखिसकिए। आमा महान भनेर पढेका ती अनेकन शब्दहरुले आज उमेरको यो मोडमा आएर मलाई बिझाउन थालेका छन्। म मेरी शोषित, पीडित अनि दुखियारी आमाको अनुहारमा 'महान' शब्दले सिंगार्नुपर्ने कुनै तेज र आभा देख्दिनँ। के आधारमा म मेरी आमालाई 'महान' भनुँ? मलाई जन्माईदिएकै आधारमा मेरी आमा 'महान' हुने हो र? मलाई जन्माईदिएर, स्याहार सुसार गरेर, मेरा आँखामा सपना फुल्ने फुलबारी गोड्दैगर्दा आमाका चर्चरी फुटेका कुर्कुच्चाहरुले आफ्नै रहर अनि चाहनाका काँडा कति कुल्चिए होलान्? कति बिझेका होलान् आमाका मुटुमा अधुरा रहरका थकथकी लाग्ने खिलहरु?
आमा भन्नुहुन्छ, म हरेक रात वहाँको सपनामा आउँछु अरे। अनि मैले देख्ने सपनामा पनि त म आफैं आउँछु। मलाई यो कुराले साह्रै पोल्छ, किन मेरो सपनामाचाहिँ आमा कहिले पनि आउनुहुन्न? के आमाहरुको आफ्नै सपनाहरु हुँदैनन्? अरुकै सपना देखिदिनुपर्ने विवशता भएकी मेरी आमा कसरी 'महान'?
मेरी आमालाई 'महान' भन्नुपर्दा मलाई हिनताबोध हुन्छ। आफ्नो अस्तित्व नै नामेट पारेर अरुले बनाईदिएको व्यवस्थाको पिंजडामा बाँचेकी मान्छेलाई कसरी महान भनुँ? एउटी अबोध, निर्बल र कमजोर नारीलाई उसले यावत् अन्याय र थिचोमिचोहरु सहिदिएकै आधारमा महान हुनुपर्ने? आमालाई महान भन्नु भनेको आउँदा कैयन् पुस्ताका छोरीहरुलाई आफ्ना पखेटाहरु काटेर, खुट्टामा नेल लगाएर हामी पुरुषका निम्ति बाँच्न अभिशप्त बनाउन प्रेरित गर्नु हो। अन्याय सहनु भनेको डराउनु हो, त्रासदीको कम्बल ओढेर निदाएजस्तो गर्नु हो। काँतरहरु कहाँ 'महान' हुन्छन् र।
आमा कहिलेकाहीँ आफ्नै सुरमा गीत गाउनुहुन्छ। आमाका आफ्नै शब्दहरु छन्, आफ्नै लय छ। सायद अवसर पाउनुभएको भए आफ्नो रहर पुरा गर्नुहुन्थ्यो होला आमाले। कसैले सुन्छ कि भनेर सतर्क हुँदै आमा गुनगुनाउनु हुन्छ:
आज राति घट्ट गाको पालो मैले पाइनँ
पिनिसक्दा रात बित्यो म फर्केर आइनँ
रातैभरि कुरेँ मैले घटेराको छाप्रो
पानीसँग निलें मैले त्यही रोटीको पाप्रो
मलाई भन्न मन लाग्छ, आमा तपाईं खुलेर गाउनुस् आफ्ना विरहका गीतहरु। सुर नमिल्ला, ताल बहकिएला तर त्यो उकुस मुकुस लाग्ने हृदयको गुफाबाट निस्किएका एक एक शब्दहरुले हजारौं मनहरुलाई छुनेछन्। अनि बल्ल भन्नेछु म मेरी आमालाई महान।
Comments
Post a Comment