Skip to main content

बसन्तपुर डायरी



हर्न बजाउन नपाइने भएर होला लैनचैरको जाममा माइक्रोबस चुपचाप थियो । माइक्रोभित्रको म पनि चुपचाप थिएँ । बोलिरहेकी थिई त एउटि केटी, अघिल्लो सीटकी, फोनमा । ऊ पछाडिबाट औधि राम्री लागेकी छ, बोली पनि मीठो छ तर अनुहार देख्न पाएको छैन । मेरो कल्पनामा धेरैथरि अनुहारहरू आए तर उसको बोली सुनिरहँदा कोही राम्रा लागेनन् ।


मलाई त्यो केटी एकछिनमै नराम्री लागिहाली जब मेरो कल्पनामा मेरी उनी आइन् । उनी घन्टि बजाएर मोबाइलको स्क्रिनमै आइन् ।


"कता हो हजुर ?"


"जमल", मैले ढाँटेँ ।


"आइस्यो छिटो", उनले फोन राखिन् । मैले हातमै घुमाइरहेँ फोन ।

गाडि कुद्यो ।

भृकुटिमण्डपमा केटी झरि । मुखमा मास्क लगाएकी उसको अनुहार देखिएन । तिघ्रा देखिने कट्टु लगाएकी रै'छ । सेता चिल्ला तिघ्रा हेर्दा लाग्यो केटी अचम्म राम्री हुनुपर्छ । मुखमा धुलो पर्छ भनेर मास्क लगाएकी उसले तिघ्रामा पनि फोहोर नजर पर्ला भनेर किन सोचिन होला । हुन त लुगा न हो आफ्नै रहरको लगाई नि ।


शहिदगेट पनि धरहरा नभएर एक्लै टोलाइरहेको छ । यसो बोल्ने साथी नहुँदा च्याउँदो लाग्दो हो विचरालाई । रंग उप्किएको, धुस्रे फुस्रे काठमाण्डु मलभित्र करोडौँका पसलहरू छन् । काठमाण्डु मल र देश उस्तै लाग्यो, धनी व्यापारीहरू बस्ने थोत्रो घर ।

सडकपेटिमा लहरै किताब बेच्न राखेका छन् । अलिपर न्युरोड पुगेपछि हेरेँ, सिसाको सोकेसभित्र जुत्ता बेच्न राखिएका छन् । तर मलाई नमज्जा लागेन । किनकि किनेर लगेपछि किताब दराजमा हुनेछ भने जुत्ता छिँडिको चोयाको र्याकमा । केही मान्छेहरू जुत्ताजस्तै हुन्छन् । कसैले फाइदाको लागि लगाएर हिँड्छन् अनि छिँडिमै फुकालेर जान्छन् । केहिबेर सुख पाइयो भनेर कहिल्यै मात्तिनु हुँदैन । किताबजस्तै ज्ञानी हुनुपर्छ, जहाँ पनि रमाउन सक्ने ।

बसन्तपुरमा भीड छ । मायालुहरूको, माग्नेहरूको अनि पर्यटकहरूको ।


एउटा टुरिस्टले उसकी प्रेमिकालाई खुलेयाम चुम्मा गर्यो । मेरी उनीले मेरो हात च्याप्प समाइन् । हेरेँ उनले त लाजको गाजल लगाइसकिछन् आँखामा । माया त लुकेरै गर्नुमा मजा हुन्छ । मन पनि पावरहाउसजस्तै हो । पानी जति जमायो उति बिजुली निस्किन्छ । भावनाहरू जति जमायो उति माया निस्किन्छ । हामी भावनाहरू थुन्छौँ, कुनैदिन आउला नि बत्ती बाल्ने दिन । कस्सम झलमल्लै पार्दिन्छु ।


"छि छाडा", उनी लजाउँछिन् ।


एक हुल फोहोरी फुच्चेहरू फोहोर शब्द बोल्दै आए । यीनीहरू गाउँ गाउँबाट भागेर आएका होलान् । बसन्तपुरमा माग्छन्, खान्छन् । यहि मन्दिर पेटीहरूमा सुत्छन् ।


एउटा सानो फुच्चेले मन्दिरमा चढाएको पैसा टिप्यो र चाउचाउ किनेर ल्यायो । धेरै दिनमा खान पाएजसरी मसला र खुर्सानी मिसाएर एक फाँको खायो । उसको अनुहार उज्यालियो । तर एकैछिनमा त्यो उज्यालो हरायो किनकि उसको हातबाट चाउचाउको प्याकेट हरायो । अर्को बलियोले खोसेर लग्यो ।

फुच्चे रूँला रूँलाजस्तो गर्यो, रोएन । उसको आँखाले आँशु थाम्यो या भोकले उसँग आँशु नै थिएन, आँशु बगाएन । मलाई उसलाई चाउचाउ किन्दिउँजस्तो लाग्यो । सोचेँ त्यो दशजनाको भीड नै पछि लाग्यो भने ? भोलिबाट पछि लागेर सताए भने ?

मान्छेहरू जानाजान स्वार्थी हुँदैनन् । पहिला आफू बाँच्नु नै मान्छेको धर्म हो ।

पश्चिमी आकाशमा घामले सिन्दुर छर्न थालिसकेछ । हामी बिस्तारै निस्कियौँ । लाग्यो त्यो साँझसँग सिन्दुर मागेर उनको सिउँदो सजाइदिउँ । तर मोरीले त सलले टाउको र कपाल ढाकिसकिछन् ।
+++
फेसबुक वालमा ८ अप्रिल २०१७ मा पहिलो पटक प्रकाशित । तस्वीरका लागि साथी संगीता थापालाई धन्यवाद ।
@sureshbadal

Comments

Popular posts from this blog

चन्द्रमाको कथा

प्रेम गर्नेहरुले त प्रेमिकालाई हावाले झोंक्काले पनि पनि दुखाउला , फूलको पत्रले पनि बिझाउला , झरीका बुँदहरुले पनि सताउला भनेर ख्याल गर्छन् । कहाँ सक्छन् र एसिड छ्यापेर असैह्य पीडा दिन । जरुरी छैन आफूलाई मन परेको मान्छेले आफूलाई पनि उत्तिकै मन पराओस् । जरुरी छैन , आफूले चाहेकै मान्छेसँग जिन्दगी बिताउन पाइयोस् । तर साँचो प्रेम गरेकीलाई पराईकै बने पनि चोट दिन मन लाग्दैन , धरधरी रुवाउन मन लाग्दैन । कोही आफूसँग यात्रा गर्न चाहँदैन भन्दैमा उसलाई कहाँ जबर्जस्ति गर्न पाइन्छ र । सबैको गन्तव्य एकै ठाउँ नहुन पनि त सक्छ । एसिड छ्यापेर कुरूप बनाइदिन्छु भन्ने सोच राख्नेहरुको आफ्नै मन र बिचार कुरूप हैन र । त्यो कस्तो प्रेम होला आफैँले मन पराएको फूललाई च्यात्न मन लाग्ने ? त्यो कस्तो चाहत होला आफूले हृदयमा राखेकै मान्छेलाई दुखाउन मन लाग्ने ? कसरी भन्न सक्छौ यसलाई प्रेम जब तिमी त्यो ओठमा हाँसो हैन ती आँखामा आँसुका ढिक्का देख्न चाहन्छौ । कसरी भन्छौ त्यो लालचलाई प्रेम जब तिमी उसलाई उसकै रहरको बाटोमा पाइला चाल्न अवरोध गर्दछौ । प्रेम त हत्केलामा थपक्क बस्न आएको सुन्दर पुतलीलाई नचलाईकन उसकै आकाशमा बेपर्वा...

आँशुको व्यापार

कुनै सुदुर गाउँमा कुनै खोलाछेउ वा जंगलको बीचमा च्यातिएर धुजा-धुजा जामाभित्र भेटिन्छ चिथोरिएको एउटा बालिका शरीर। पोस्टमार्टम हुन्छ, निकालिन्छ भजाइनल स्वाब हुन्छन् विभिन्न परीक्षणहरू, र प्रमाणित हुन्छ बलात्कार। यता राजधानीमा प्लेकार्ड बोकेर केहि प्रायोजित हातहरू गर्छन् न्यायको माग। तब दबावका खातिर लेख्छन् कविहरू अखबारमा कविता। पानीझैँ तातिएको अपराध सेलाउँदैन सितिमिति गाउँमा। तर फलामझै तातिएको दवाव चिसिन्छ शहरमा। अकस्मात कुनै साँझ तारे होटलमा सम्मानित हुन्छन् अधिकारकर्मी बलात्कारमा दवाव दिएको नाउँमा। कुनै दिन दोसल्ला ओढ्छ कवि न्यायको आवाज बनिदिएकोमा। उता न्यायको माग गर्दागर्दै बहुलाउँछ मृतकको बाउ, आँशुको खोलो बगाएर सडकमा सकिन्छे लाशकी आमा। तब फेरि एकफेर शहरमा तातिन्छ आन्दोलनको फलाम अनि न्यायको मृत्युको नाउँमा छापिन्छ एक पुस्तक बिक्छन् हजारौँ प्रति रातारात र प्रकाशक हुन्छ मालामाल। यसरी बिकिरहेछ अपराध र निमुखाको आँशु हरेक दिन। @ सुरेश बादल

बिहेको बिरुद्धमा!

देशको प्रधानमन्त्रीसमेत भएका सन्त नेता कृष्णप्रसाद भट्टराई जीवनभर अविवाहित थिए। त्यस्तै पटक-पटक देशको प्रधानमन्त्री र नेपाली कांग्रेसको शक्तिशाली सभापति भएका गिरिजाप्रसाद कोइराला पनि जीवनको पछिल्लो कालखण्ड जतिबेला उनी शक्तिको केन्द्रमा थिए, एकल पुरुष थिए। एक हिसाबले यी नेताहरुको सफलतामा जीवनसंगिनीको बाधा रहेन! विश्वमै पनि यस्ता धेरै नेताहरु छन् जसले बिहेलाई भन्दा आफ्नो राजनीतिलाई महत्व दिएर सफलता हात पारे। श्रीमती त्यागेका कारण प्रधानमन्त्री भएका नरेन्द्र मोदीदेखि श्रीमतीलाई महत्व दिँदा आफ्नो तीसौं बर्षको राजनीति सिध्याएका जिम्बाब्वेका रोबर्ट मुगाबेसम्मका उदाहरणहरु छन्। नेपाली सिनेजगतका महानायक राजेश हमाल महानायक बन्नुमा पनि उनी जीवनको लामो समय अविवाहित रहनुले भूमिका खेल्यो। दुई तीनपटक बिहे गरेका कारण जति नै राम्रा र हिट चलचित्र दिए पनि भुवन केसी महानायक भनिएनन् भन्ने मेरो ठम्याई हो! नेपालमा मात्र हैन बिहे नगरेकै कारण हिन्दी सिनेजगतमा सलमान खान पनि सुपरस्टार भएका हुन्! नत्र उनको अभिनय हेर्दा त सुपरस्टार र उनी भनेका दिन र रातझैँ कहिल्यै नभेटिने जस्ता लाग्दछन्। बिहे भने एक किस...