Skip to main content

छुट्नु अघि- कविता


छुट्टिनै परेपछि त
सँगै हिँडेका बाटोका
घुम्ति, मोड, प्रतीक्षालयहरू पनि
सम्झनाबाट छुट्टियोस् न ।
सँगै बसेका
कफीशप, पार्क, चौतारीहरू पनि
स्मृतिबाट छुट्टियोस् न ।



टाढिनै परेपछि त
दुश्मनै बनेर टाढिए हुने हो
भुगोलै छोडेर टाढिए हुने हो
तर पनि तिमीले 'हाँसी हाँसी' छुट्टिने भन्यौ
साथी भएरै छुट्टिने भन्यौ ।

छातीको ठिक्क मास्तिर
घाँटिको ठिक्क मुन्तिर
तिमीले दाँत र ओठ सराबरी पारेर रगडेर
खोपिदिएको 'लभ बाइट' आलै छ,
यस्तोमा एक्कासी भन्यौ- हामी छुट्टिऔँ ।

हुन्छ, छुट्टिऔँला
तर
छुट्टिएपछि हामी फेरी
आजभन्दा दुई वर्ष पहिलेझैँ हुनुपर्छ
जतिबेला तिमीलाई बाटोमा भेट्दा पनि मलाई
न कोही न कोही भेटेझैँ हुने गर्थ्यो
मेरो नाम सुन्दा तिमीलाई
अर्थ न बर्थ भएझैँ हुने गर्थ्यो

जतिबेला तिमी कोही अर्कैको अनुहार कल्पेर
आफ्नो भविष्यको घर बनाउँथ्यौ
जतिबेला म अर्कैको नाम सोचेर
उसको नाममा आफ्नो थर मिसाउँथेँ

छुट्टिने नै भए समयको त्यो बिन्दुमा पुगौँ
जतिबेला यस धर्तीमा कतै तिमी छौ भनेर
मलाई थोरै पनि ज्ञान थिएन
जतिबेला यो सृष्टिमा मेरो सिर्जना भएको छ भनेर
तिमीलाई कुनै खबर थिएन


तर तिमीले त
नयाँ लुगाबाट सर्लक्क स्टिकर उप्काएझैँ
मनबाट तिम्रो तस्वीर उप्काउन भन्यौ
नंगमा स्पिरिटले पुछेर नेलपोलिस मेटेझैँ
मुटुबाट तिम्रो नाउँ मेट्न भन्यौ

दुई दुई वर्षसम्म
सम्बन्धको 'सुपर ग्लु' टाँसेर एक अर्कामा
आज आएर भन्यौ- जस्ताको तस्तै बनौँ, छुट्टिऔँ
हुन्छ, छुट्टिऔँला
तर अब हामी छुट्टिँदा जस्ताको तस्तै हुन सक्दैनौँ
अलिकति तिमी च्यातिनु पर्छ
अलिकति म च्यातिनु पर्छ ।
@sureshbadal  

Comments

Popular posts from this blog

चन्द्रमाको कथा

प्रेम गर्नेहरुले त प्रेमिकालाई हावाले झोंक्काले पनि पनि दुखाउला , फूलको पत्रले पनि बिझाउला , झरीका बुँदहरुले पनि सताउला भनेर ख्याल गर्छन् । कहाँ सक्छन् र एसिड छ्यापेर असैह्य पीडा दिन । जरुरी छैन आफूलाई मन परेको मान्छेले आफूलाई पनि उत्तिकै मन पराओस् । जरुरी छैन , आफूले चाहेकै मान्छेसँग जिन्दगी बिताउन पाइयोस् । तर साँचो प्रेम गरेकीलाई पराईकै बने पनि चोट दिन मन लाग्दैन , धरधरी रुवाउन मन लाग्दैन । कोही आफूसँग यात्रा गर्न चाहँदैन भन्दैमा उसलाई कहाँ जबर्जस्ति गर्न पाइन्छ र । सबैको गन्तव्य एकै ठाउँ नहुन पनि त सक्छ । एसिड छ्यापेर कुरूप बनाइदिन्छु भन्ने सोच राख्नेहरुको आफ्नै मन र बिचार कुरूप हैन र । त्यो कस्तो प्रेम होला आफैँले मन पराएको फूललाई च्यात्न मन लाग्ने ? त्यो कस्तो चाहत होला आफूले हृदयमा राखेकै मान्छेलाई दुखाउन मन लाग्ने ? कसरी भन्न सक्छौ यसलाई प्रेम जब तिमी त्यो ओठमा हाँसो हैन ती आँखामा आँसुका ढिक्का देख्न चाहन्छौ । कसरी भन्छौ त्यो लालचलाई प्रेम जब तिमी उसलाई उसकै रहरको बाटोमा पाइला चाल्न अवरोध गर्दछौ । प्रेम त हत्केलामा थपक्क बस्न आएको सुन्दर पुतलीलाई नचलाईकन उसकै आकाशमा बेपर्वा...

क्वारेन्टाइनबाट एउटा प्रेमपत्र । - सुरेश बडाल

काली, कहिल्यै सोचेको थिइनँ यस्तो पनि दिन आउला भनेर । यसरी कुनै अदृश्य दुश्मनदेखि डराएर घरभित्रै लुकिरहनु पर्नेछ भनेर । सोचेको पनि थिइनँ कहिल्यै, जीवनको महत्व यति हुन्छ अनि मृत्युको भय यतिबिघ्न हुन्छ भनेर । क्वारेन्टाइनमा बसेको एक हप्ता बितेपछि महशुस हुँदैछ आज, संसारमा आफ्नो जति प्रेम अरु कसैको लाग्दो रहेनछ । तिमीलाई सुन्दा नराम्रो लाग्ला तर वास्तविकता यही नै रहेछ । तिमीलाई केही होला, घर परिवार, बा'आमालाई केही होला भनेर त एकपल पनि ख्याल आउँदो रहेनछ, रत्तिभर पिर पर्दो रहेनछ । केवल आफैँलाई केही होला कि भन्ने सन्त्रासले अँगाल्दो रहेछ । तिमी त्यता सुरक्षित नै बसेकी हौली । यता म पनि यही कोठाको चार भित्तोभित्र कैदीझैं समेटिएर बसेको छु । कहिलेकाहीँ झ्यालबाट बाहिर हेर्छु, बाटोमा, बतासमा जताततै भाइरस सल्बलाएको झैं देख्दछु । अनि आफूलाई घरको गेटबाट बाहिर निकाल्न सक्दिनँ । तिमी यो मुटुमा बसेकी छौ । मेरो कलेजीमा बसेकी छौ । मेरो अनुहारमा देखिने उज्यालो तिम्रै देन हो । अनि मेरो ओठहरुमा खेल्ने मुस्कान पनि त तिम्रै कोसेली हो । जब तिम्रो प्रेममा परें, त्यसै दिनदेखि मलाई मेरो सम्पूर्ण अस्...

बिहेको बिरुद्धमा!

देशको प्रधानमन्त्रीसमेत भएका सन्त नेता कृष्णप्रसाद भट्टराई जीवनभर अविवाहित थिए। त्यस्तै पटक-पटक देशको प्रधानमन्त्री र नेपाली कांग्रेसको शक्तिशाली सभापति भएका गिरिजाप्रसाद कोइराला पनि जीवनको पछिल्लो कालखण्ड जतिबेला उनी शक्तिको केन्द्रमा थिए, एकल पुरुष थिए। एक हिसाबले यी नेताहरुको सफलतामा जीवनसंगिनीको बाधा रहेन! विश्वमै पनि यस्ता धेरै नेताहरु छन् जसले बिहेलाई भन्दा आफ्नो राजनीतिलाई महत्व दिएर सफलता हात पारे। श्रीमती त्यागेका कारण प्रधानमन्त्री भएका नरेन्द्र मोदीदेखि श्रीमतीलाई महत्व दिँदा आफ्नो तीसौं बर्षको राजनीति सिध्याएका जिम्बाब्वेका रोबर्ट मुगाबेसम्मका उदाहरणहरु छन्। नेपाली सिनेजगतका महानायक राजेश हमाल महानायक बन्नुमा पनि उनी जीवनको लामो समय अविवाहित रहनुले भूमिका खेल्यो। दुई तीनपटक बिहे गरेका कारण जति नै राम्रा र हिट चलचित्र दिए पनि भुवन केसी महानायक भनिएनन् भन्ने मेरो ठम्याई हो! नेपालमा मात्र हैन बिहे नगरेकै कारण हिन्दी सिनेजगतमा सलमान खान पनि सुपरस्टार भएका हुन्! नत्र उनको अभिनय हेर्दा त सुपरस्टार र उनी भनेका दिन र रातझैँ कहिल्यै नभेटिने जस्ता लाग्दछन्। बिहे भने एक किस...