झरीलाई के छ र । न दिन न रातको छ पर्वाह । आफूलाई
मन लाग्यो, झरिदियो
। गुम्स्याएर राख्नु छैन पिरहरुको बादल । न त थाम्नु छ पर क्षितिजपारी लगेर
भक्कानो । झरीलाई त के छ र । जे जे छ मनमा जमेको कुण्ठा । आफूलाई मन लाग्यो, पोखिदियो । झरी त मेरो मनमा पनि छ । तर
आफूले चाहेको बेला नझरिदिने । अड्काएर राखिरहनु पर्ने रुद्रघन्टिमा भक्कानो ।
झरीले जस्तो नसकिने मेघ बनेर गर्जिन । नसकिने बिजुली बनेर चम्किन । झरी हुनु सजिलो
छ । झर्न सक्नु पनि सजिलो छ । गाह्रो त खस्न नसक्नु रै’छ आफ्नै आँखाबाट आँशु बनेर ।
आफ्नै घाउबाट दुखाई बनेर । नसकिने रै’छ आफ्नै पिडाबाट रोदन बनेर ।
जब थालहरुमा बेरोजगारी पस्कन्छ समय । कचौरामा
निरासाको पातलो दाल देख्छु । अनि कतै देख्दिनँ अवसरको तरकारी । तब खल्लो लाग्छ
जिन्दगी । आँशु पनि नुनिलो हुन्छ । आखिर आँशु भनेकै जिन्दगी खल्लो भएकाहरुका लागि
न हो । स्वादिलो जिन्दगी भोग्नेहरुका लागि त मुस्कानका जलेबीहरु हुन्छन् । जेलिएका
मुस्कान । बटारिएका हाँसो । कुटिल भंगीमा हुन्छन् । सरल बाटोमा हिँडिरहेकाहरुका
लागि जिन्दगी पनि पिचरोडजस्तै हुन्छ । अप्ठ्यारामा हिँडेकाहरुका लागि जिन्दगी हिलो
बाटो हो । टेकेका खुट्टाहरु फस्छन् रोजीरोटीको दलदलमा । छेप्छ आफ्नै पैतालाले थाप्लोमा
ग्लानिको हिलो । झरी परेको रातमा जिन्दगी सोचेर बसिरहेको मलाई यस्तो खयाल आउँछ, कठिन पथमा हिँड्नेहरुको बाटो भनेका
गोरेटाहरु हुन् । हिलो बाटोहरु हुन् । अक्केराहरु हुन् ।
झरी परेको रातमा रुन्छ कोही पर बसेर एक्लै । तर सुनिँदैन अँध्यारोमा
कसैको क्रन्दन । झरी परेको रातमा देखिँदैन कसैका आँशु । अँध्यारो अनुहार बनाएर
पृथ्वी, लाग्छ रोइरहेछ यावत दुखि जीवहरुको पिडामा । लाग्छ रोइरहेछ सृष्टि आफ्नै
सिर्जनाहरुको अवसानमा । जब ब्रह्माण्ड रोइरहेको देख्छु, तब लाग्छ केही छैन मभित्र
दुख नामको चिज । छैन मभित्र आँशु नामको पानी । छैन मभित्र रोदन नामको आवाज ।
जब मुटुभरी बसिदिन्छ कसैको मुस्कुराईरहेको तस्वीर । जब आँखाभरी
बसिदिन्छ कोही आँखाकै नानी बनेर । जब नशाभरी बगिदिन्छ कोही रातो रङ्गको पानी बनेर ।
तब लाग्छ यो जगत मेरै निम्ती बनेको हो । लाग्छ यो रगत उसकै निम्ती बगेको हो । ऊ, जो
जन्मिएको हो मेरै निम्ती भनेर । ऊ, जो भेटिएको हो जिन्दगीको गोरेटोमा हमसफ़र बनेर ।
तब जन्महरुको उत्सव मनाउन मन लाग्दो रहेछ । भय लाग्दो रहेछ मृत्युदेखि । फेरी झरी
परेको रातमा याद आउँछ त्यो अनुहारको जो खसेको थियो उहिल्यै आँखाको डिलबाट ।
निस्किएर गएको थियो त्यो पाहुना अनायासै दिलबाट । जसले निकालेको थियो मलाई, आफ्नो
मुटुको घाउको खिल सम्झेर । जसले मोडेको थियो बाटो, मेरो गोरेटोलाई मुश्किल सम्झेर ।
तब लाग्दो रहेछ माया सजिलो बाटोमा कदापि हिँड्दैन । प्रेम त्यो राजमार्गको नाम हो
जो कहिल्यै पिच हुँदैन । त्यहाँ घातको खाल्डो पर्छ जहाँ जमिरहन्छ कोही कसैको आँशु ।
प्रेम त्यो आकाशको नाम हो जो खुल्दैन बर्खामा । जसलाई छोपिरहन्छ धोकाको बादलले ।
झरी परेको रातमा एक्कासी गैदिन्छ बिजुली ।
निभिदिन्छ मेरो आफ्नै अनुहार । छाउँछ वातावरणमा अँध्यारो । तब यस्तो खयाल आउँछ
मनमा । अँध्यारो भनेको भविष्यको नाम हो । उज्यालो भनेको दुश्मनको नाम हो । सन्नाटा
भनेको साथीको नाम हो । त्यही साथी जसले साथ छोडेको थियो । त्यही साथी जसले घात
गरेको थियो । जसको एक कल फोन मिसकल बनेर बोलाउँथ्यो बिहानै चिया पिउने अड्डाहरुमा ।
जसको एक मिसकल फोन बनेर जान्थ्यो र भेटाउँथ्यो साँझमा बियर पिउने अड्डाहरुमा । झरी
परेको रातमा अँध्यारो हुन्छ मन । आउँदैन त्यो साथी अब कहिल्यै पनि गिलास जुधाउन । कहिल्यै
कराउँदैन अब ऊ चिया पिउँदै झगडा गर्न । एक अर्कालाई सत्तोसराप गर्ने ओठहरुलाई एउटै
ठुटो चुरोटले जोडिरहेको हुन्थ्यो । अलग अलग हिँड्ने बाटाहरुलाई एउटै टेबलले
भेटाएको हुन्थ्यो । तर झरी परेको रातमा केवल सम्झना आउँछ साथीको, आउँदैन त्यो साथी
अब कहिल्यै सँगैको कुर्सीमा बस्नलाई । ठुटो चुरोट तान्नलाई । मेरा तर्कहरु
काट्नलाई । मलाई होच्याएर उँडाउनलाई ।
समय बतास हो जसले सम्झनाहरु राखेर अरु सबै उडाउँछ
। समय झरी परेको रातमा चलेको बतास हो जसले सबथोक लडाउँछ, मात्र उडाउँदैन ।
उज्यालोको बतासले अगाडी बढ्न सघाउँछ । सम्झनालाई काखी च्यापेर हिँड्न सिकाउँछ । तर
झरी परेको रातमा चलेको बतासले न त बस्न दिन्छ न उठ्न दिन्छ । न अगाडि बढ्न दिन्छ,
न पछाडि फर्किन दिन्छ । तर पनि बतासले गएर छुन्छ उसलाई जसलाई अरु कसैले
अंगालेको हुन्छ । सिरिंग चल्छ काउकुती उसैको बदनमा जसको स्पर्श कैयौँ समयअघि आफ्ना
औंलाहरुले गरेका हुन्छन् । चस्स दुख्छ छाती, त्यहि छाती जसमा लामो समयअघि उही
टाँसिएर निदाउँथ्यो । तर पनि ठान्दछ मन उसलाई प्रेम अझै छ । मान्दछ मन भावना उही छ
। संसार अस्थीरताको नाम हो । सभ्यता अस्थीरताको नाम हो । तर भावना मात्र स्थिरताको
नाम हो ।
भावनामा पनि प्रेम मात्र स्थिर रहन्छ । समय बुढो हुँदै
जान्छ । प्रेम जवान हुँदै जान्छ । कन्चटबाट फुल्न थाल्छन् वैंशका पातहरु । तर हृदयमा
चिचिलै हुन्छ प्रेमको दाना । थाप्लोबाट सकिँदै जान्छन् यौवनका झुप्पाहरु । तर आँखाहरुमा
पल्टिरहन्छन् यादका पानाहरु । त्यही अनुहारहरुका नामहरु जो छापिएका हुन्छन् अझै
मानसपटलमा । त्यही नामहरु जो कहिल्यै बिराना हुँदैनन् । मान्छे बिराना भैजान्छन् ।
नाता अजनबी भैजान्छन् । अनुहार धुमिल भैजान्छन् । तर पनि कहिँ कतै सुन्दाखेरि ती
नामहरु, ती आफ्नै हुन् झैं लाग्दछन् । झरी परेको रातमा खयाल आउँछ मनमा । जानेहरु दिल
तोडेर गैदिन्छन् । नाता तोडेर गैदिन्छन् । राख्दैनन् केहि बाँकी हिसाबकिताब । फोटोहरु
मेटाएर गैदिन्छन् । सम्पर्कहरु, चिठीहरु, फोन नम्बरहरु हटाएर गैदिन्छन् । तर किन
उप्काउँदैनन् कसैको मनको भित्तामा चिप्काएको आफ्नै नामको पोस्टर ? किन टाँगीदिन्छन्
बीच चोकमा ठडिएको होडिंग बोर्डझैं कसैको मानसपटलमा ठड्याएर आफ्नो अनुहार ?
मान्छे सुखको भोगि हो । जीवन सुखकै खोज हो । यहाँ
दुख खेप्ने कोहि कसैको लालसा हुँदैन । प्रसवपीडामा दुख हुन्छ भन्ने जान्दाजान्दै
गर्भवती बन्छन् नारीहरु । तर त्यहाँ पनि सुखकै लोभ हुने गर्छ । मातृत्वको सुखको ।
आमा बन्नु नारी हुनुको सम्पूर्णता हो । आमा बन्ने रहर हरेक छोरीलाई हुन्छ । त्यही
रहरको अभिलाषा आँखामा लिएर हेरेको थियो कसैले कुनैदिन । आमा बन्न बाउ चाहिन्छ ।
बाउ बन्न बिहे गर्नु पर्छ । बिहे गर्न उमेर मात्र भएर पुग्दैन । प्रेमको बाटो
मनदेखि मनसम्मको हुन्छ । गृहस्थीको बाटो तनदेखि धनसम्मको हुन्छ । अभावको पासोमा पिरतीका
चराहरु कसिएका भेटिन्छन् । बेरोजगारीको मारमा प्रेमका बलिहरु रेटिन्छन् । झिलिक्क
बिजुली चम्केजसरी यादको झिल्को बल्छ वरिपरी । देख्छु कसैको आँशु भरिएका आँखाहरु जो
भन्दैथिए- मैले तिमीलाई पर्खिएँ तर उमेरले मलाई पर्खिएन । मैले तिमीलाई माया गरें
तर संसारले मलाई घृणा गर्यो । प्रेम मात्र सुख हैन । गृहस्थी पनि सुख हो । मातृत्व
पनि सुख हो । शरीरले मनलाई पर्खिन नसक्ने भयो । मन अटेरी आफ्नो वशमा फर्किन नसक्ने
भयो । बिदा । यो जुनीमा यस्तै भैगयो ।
धर्तिलाई बादलले कालो घुम्टो ओढाएको पल कसैले
उसलाई रातो घुम्टो ओढाएको थियो । आकाश रोएको पल म रोएको थिएँ । सायद झुकेको नजर
अनि ओढेको घुम्टोले उसको आँशु लुकाएको थियो । त्यो आँशु बिछोडको थियो । तर त्यो
कुन बिछोडको थियो ? मसँग कि आफैँसँग ? शरीरको मनसँग ? कि मनको मनसँगै ? खैर, झरी
परेको रातमा केवल देख्छु म दलिनमा अंकुसिएको फलामे बल्छी जहाँ झुन्डिरहेछ बाहु
फैलाएर पंखा । लाग्छ आत्महत्या गरेको छ उसले । लाग्छ मृत छ यो बाँच्ने अभिलाषा
त्यागेर । तर आउँछ बिजुली केही बेरमा । छटपटिँदै रिङ्न थाल्छ ऊ आफ्नै रफ्तारमा ।
अक्सर केहि मृत्यहरु कसैलाई शितलता दिन पनि काम लाग्ने गर्छन् । तर के मरेर समस्या
सकिन्छ र ? जिन्दगिको सार्थकता मृत्यु हैन । जिन्दगिको अस्तित्व पनि मृत्यु हैन ।
मृत्यु जिन्दगीको अन्तिम त्रैमासिक परिक्षा हो जहाँबाट पास भएर जीवन अर्को कक्षामा
पुग्दछ । अर्को कक्षामा के पढाई हुन्छ अनुत्तीर्ण हुनेहरुले जान्दैनन् । त्यसैले
जिन्दगीको कक्षा पुरै नबुझी मृत्युको परिक्षामा सामेल नहुँदा राम्रो हुन्छ । मलाई
घुमिरहेको पंखा जीवित लाग्दछ । लाग्दछ ऊ पृथ्वी हो जो घुमेरै बचाइरहेछ आफ्नो
अस्तित्व ।
झरी परेको रातमा कुनै पल थामिन्छ झरी । बिलाउँछ
कुनै घडी जगतबाट अँध्यारो । आरुका दानामा लागेझैं लाग्छ क्षितिजमा रातो लाली ।
फल्छ त्यतै कतै एउटा चिचिलो घाम । जीवन सधैँ झरी परेको रातझैँ कठोर हुदैन । जीवन त
घाम लागेको दिनझैँ कोमल पनि हुन्छ ।
@sureshbadal
@sureshbadal
+++
Awesome
ReplyDelete