@ सुरेश बडाल
हाम्रो औपचारिकता ‘के छ खबर ?’ बाट सुरु
हुन्छ। ‘ठीकै छ’ हाम्रो अर्को औपचारिक उत्तर। मलाई ठीक छैन तर म ठीक छैन
भनेर भन्न सक्दिनँ। मलाई ठीक छैन, त्यसैले ‘ठीक छु’ त झनै भन्न सक्दिनँ। तर
जवाफ त दिनै पर्यो। अनि चाउरिएर भन्छु— ठीकै छ।
आजकाल सबैको जिन्दगी ठीकठीकै चल्दै छ।
जसरी देश ठीकठीकै चल्दै छ। सरकार ठीकठीकै चल्दै छ। घरपरिवार अनि सम्बन्ध पनि
ठीकठीकै चल्दै छन्। ठीकठीकैको जिन्दगी चलाएर ठीकठाक बाँचिरहेका छौँ हामी।
बनावटी हाँसो ओठमा ल्याएर हाँसिरहेछौं
हामी। हाम्रो त हाँसो पनि भारतले आफ्नो देशमा बनाइरहेको भनिएको लुम्बिनीजस्तै छ।
एकदम झुटो। हामी हाम्रो हाँसो पवित्र छ भनेर जबरजस्ती ओठ च्यात्छौं। अट्टहास
निकाल्छौं। हल्ला गर्छौं। तर हामी हाम्रो अवचेतनलाई सम्हाल्न सक्दैनौं। र कसैले
‘के छ ?’ भनेर देखाएको औपचारिकतामै पनि कुच्चिएको
सिक्काजस्तै ‘ठीकै छ’को खोटो सिक्का फुत्त खसालिदिन्छौं।
न्युरोड गेटको ठीक छेउमा आरएनएसीको अफिस
छ। साँच्चि गणतन्त्रले त यसको नामको सुरुको अक्षर नै फुकाल्दियो क्यारे। एनएसी पो
लेख्या देखिन्छ त साइनबोर्डमा। ठीकै छ। फेरि सच्याएर भन्छु— न्युरोड गेटको छेउमा
आरएनएसी छ। जहाँ एनएसी अर्थात् वायुसेवा निगमको अफिस छ। अब ठाउँको नाम नै आरएनएसी
भएपछि सुरुको अक्षर हटाउने कसको हिम्मत ? अखिर नाम त नाम हो नि।
कहिलेकाहीँ नाममा के छ र ! भनेर
फुर्ती छाँट्नेहरू देख्दा टिठ लागेर आउँछ। नाममा केही नभए किन एउटै गाउँमा
रामप्रसाद, रामबहादुर, रामभक्त, रामवरण
आदि इत्यादि रामहरूको फौज हुँदा एउटै रावण देखिँदैन त ? सीता, दुर्गा, लक्ष्मी
इत्यादि देवीहरू घरघरमा हाँसिरहँदा किन पुतना, शूर्पणखाहरू
कतै भेटिँदैनन् त ? के सुग्रिव नाम राख्दैमा छोरो बाँदर हुन्छ
भनेर डराएको हो मान्छे ? के कंस नाम राख्दैमा छोरो खराब हुन्छ र ? यहाँ
कृष्ण नाम भएकाहरू पनि पाकेट मार्न सक्छन्। बुद्ध नाम गरेकाहरू पनि मारपिट गर्न
सक्छन्। खैर छोडौं ! म के कुरा गर्दै थिएँ। कता पो भुलेछु। ठीकै छ। कहिलेकाहीँ यत्तिकै बरालिनुमा
पनि मज्जा हुन्छ।
म आरएनएसीमा बरालिइरहेको थिएँ क्यार। अब म
त्यसैको ठीक छेउको काठमान्डु मलमा पस्छु। सुरुसुरुमा म नजानेर मललाई महल भन्थेँ।
लाग्थ्यो, लेख्नेले जानेन। तर मल नै रै’छ भनेर थाहा
पाउँदा अचम्भित भएको थिएँ। यो कस्तो मल हो ? युरिया कि पोटास ? कुखुराको
मल कि बाख्राको जुत्तो ? कि गाईभैंसीकै गोबरमल ? बर्सेनि
किसानले रासायनिक मल नपाएर दुःख पाउँछन्। तर यो काठमान्डु मल भने नाममा मल
झुन्ड्याएर ङिच्च हाँसिरहेछ ठीक अगाडिको बाँझो टुँडिखेल हेरेर।
मलखाद नपाइने मलभित्र लुगाका दोकानहरू
छन्। हुनेवाला ससुराकी छोरी मेरो अघिअघि हिँड्छे। मसँग उसलाई पछ्याउनुको विकल्प
हुँदैन। मायाको न्यानोपन त ऊ यसै दिइहाल्छे तर मौसमको चिसोपन मायाले मात्र कहाँ
छेकिन्छ र ! प्लास्टिकका अप्राकृतिक मानवहरू टन्न ज्याकेट उनेर उभिएका छन्। प्लास्टिकलाई
समेत जाडो हुने यो काठमान्डुमा केही सडक बालकहरू चिसो भुइँमा पत्रिका ओढेर सुतेका
देखिन्छन् यहीँ पछाडि न्युरोडमा।
‘ज्याकेट देखाउनुस्’, ऊ पसलेलाई भन्छे।
पसले किसिम-किसिमका ज्याकेटहरू देखाउँछ।
कुनै ह्यांगरमा झुन्डिएका, कुनै पुतलाले पहिरिएका, कुनै
प्लास्टिकका झोलामा पोको बाँधिएका। आफ्नै गालाझैं भुक्क उब्सिएको एउटा बडेमानको
ज्याकेट छान्छे ऊ। मुसार्छे मेरो जीउ, घुसार्दिन्छे मेरा हातहरू लगेर ज्याकेटका
बाहुलाहरूमा। ङिच्च हाँसेर हेर्छे मलाई। सोध्छे, ‘कस्तो
लाग्यो ?’
मलाई के थाहा कस्तो लाग्यो। खाना
मीठो-नमीठो खानेलाई थाहा हुन्छ। तर लुगा सुहाए नसुहाएको त हेर्नेलाई पो थाहा
हुन्छ। म वाल्ल परेर क्यारेमबोर्डको गट्टी फर्किएझैं उसको प्रश्न उसैलाई रिटर्न
हानेर सोध्छु, ‘तिमी भन न बरु, कस्तो
लाग्यो ?’
अघिसम्मको उत्साहको बत्ती थोरै डिम पारेर
ऊ भन्छे, ‘ठीकै छ।’ मलाई
लुगा किन्दा कहिल्यै ससुराकी छोरीको भर लाग्दैन। ऊ मलाई सिनेमाको हिरोझैं ठान्छे र
सजाउन खोज्छे मेरो अस्थिपन्जरमा अलिअलि छाला उनेको जीउ। तर मलाई थाहा छ मेरो औकात।
म लुगा पसलको ऐनामा हेर्छु। धानको बीउ कुर्न ब्याडमा
उभ्याइएको बुख्याँचा जस्तै एउटा मान्छे नयाँ भांग्रे ज्याकेट लगाएर उभिएको छ। उसको
अनुहार काटीकुटी मसँग मिल्न आउँछ। म निन्याउरो र याचनायुक्त अनुहार पसलेलाई देखाउँछु।
पसले ङिच्च हाँसेर भन्छ, ‘ठीकै छ, गजब सुहायो
सरलाई।’
पसलेको व्यापारिक मुस्कान मलाई कत्ति पनि
मन पर्दैन। बरु ससुराकी छोरीको मायालु मुस्कान मन पराउँछु। त्यो मुस्कानसँग मिसिएर
निस्किने झुटहरू पत्याउँछु। आखिर माया भनेको के हो त? विश्वास
होइन र? संसारमा कहीँ पनि किताबमा लेखिएजस्ता र
फिल्ममा देखाइएजस्ता साँचो माया हुँदैन। साँचो माया गर्छु भन्नेहरूले झुट बोलेका
हुन्। किनकि माया विश्वासका आधारमा गरिन्छ र विश्वास भनेको झुटलाई पनि सत्य मान्ने
सर्तमा गरिन्छ। यसर्थ म मनैमन आफूलाई सुहाएको ठानेर ज्याकेट उनेर पसलेको राज्यबाट
निस्किन्छु। आफ्नो हाते पर्सलाई केही दुब्लो बनाएर ससुराकी छोरी मलाई पछ्याउँछे।
हामी खाजा खाने हेतुले शाकाहारी भोजनालय
पस्छौं। टेबलमा बस्छौं। उसलाई मासुजन्य खानेकुरा मन पर्दैन। उसलाई अर्थात् मेरा
हुनेवाला ससुराकी छोरीलाई। ऊ भन्छे, ‘हजुरलाई कोही कसैले छुँदा
त रिस उठ्छ मलाई। झन् कसैले टोक्यो भने के गरम्ला सोचिस्यो त?’ म
सोच्छु। कसले टोक्ला मलाई? अनि किन टोक्ला? अनि किन
सोच्नु मैले यो कुरा? आखिर के भन्न चाहन्छे ऊ? म मेरा
एकजोर विनीत आँखाहरू उसलाई अर्पण गर्छु र उसको थप प्रस्टोक्ति कुर्छु। ऊ थपेर
भन्छे, ‘त्यस्तै त हो नि। हजुरकै जस्तो जीउ होइन र
त्यो खसी, कुखुराको पनि? हजुरलाई
चिमोट्दा दुख्छ। तिनीहरूलाई काट्दा दुख्दैन र ?’
म सोच्छु। हो त। मजस्तै हुन् नि यी सब
पशुहरू। म आफूलाई कुखुरा देख्छु। पर्खालको डिलमा उभिएर घाँटी तन्काउँदै बासिरहेको
भाले म आफूलाई ठान्छु। अनि ठान्छु आफूलाई जखमले खसी। अझ बेला न कुबेला
टाङमुन्तिरबाट एक बित्ता लामो हतियार निकालेर मात्तिरहने लाम्काने बोका पनि
आफैंलाई सम्झिँदा मनमनै लजाउँछु म !
‘खाइस्यो न। के बौला’ जसरी एक्लै हाँसिरा?’ ऊ मलाई
कुहिनोले घोचेर टेबलमा आइपुगेको खाजाको प्लेट देखाउँछे। म देख्छु, भर्खरै
तात्तिएर मसँग झगडा गर्न आएको पोट्याटो चिल्ली चिसो हुन लागेछ। चिसो आलुको अनुहार
भने रातै थियो।
म सम्झिन्छु; मलाई
जिस्क्याउँदा, गाली गर्दा, अनि
यत्तिकै पनि धेरैजनाले आलु भन्थे। अघिसम्म बोका भएको म अहिले आलु पनि भइसकेको
थिएँ। ‘म आलु हुँ। मलाई यो आलु पनि मैजस्तो लाग्छ। म खान्नँ।’ म
एक्कासि चिच्याउँछु।
ऊ मलाई गोलभेडा जस्ता आँखाहरूले खाऊँलाझैं
गरेर हेरिरहेकी हुन्छे। अब मलाई झन् त्यो चिल्ली खानै नसक्ने गरी पेट बाउँडिएर
आउँछ। त्यहाँका गोलभेडा सबै मलाई ससुराकी छोरीका आँखाझैं लाग्छन्।
ऊ आफ्नो रौद्र रूपको दर्शन गराउँछे। आफू
महाकाली बन्छे, मलाई नीलोकालो नीलकण्ठ बनाउँछे। म त
बुद्धको देशको मान्छे। राजा वीरेन्द्रले शान्तिक्षेत्र घोषणा गरेको देशको मान्छे।
अझ गिरिजाबाबु र प्रचण्ड कमरेडले विस्तृत शान्ति सम्झौता गरेको साक्षात् देखेको
पुस्ताको मान्छे। म सम्झौता गर्छु। शान्ति कायम गर्छु र भन्छु, ‘ठीकै छ !
मगाइहाल्यौ, खाइदिऊँ होला !’
हामी सहरबजार डुलिरहन्छौं। पुँजीवादले
रंग्याएका, टल्काएका, झिलिक्क
पारेर बालेका सरसामानहरू आँखामा नाच्छन्। तर ती सामानहरू हाम्रा हत्केलामा
नाच्दैनन्। नयाँसडक न्युरोड बनेको यो कालखण्डमा धेरै नयाँ पुँजीपतिहरू जन्मिएका
छन्। गरिबका करङका भाटाहरूलाई समाजवादको भरेङका पाइटा बनाएर धेरै क्रान्तिकारीहरू
समृद्धिको माथिल्लो तला उक्लिएका छन्। म हरेक पसलका सिसाहरूमा जीउहरू कुरेर बसेका
लुगाहरू देख्छु। ती लुगाहरूका महँगा दाममा भूपू क्रान्तिकारीहरूका नाम देख्छु।
हरेक सामानमा गरिबका गाडिएका आँखाहरूका लोगो खोपिएको पाउँछु।
हामीले हरेक क्रान्ति र परिवर्तनमा नयाँनयाँ शासक जन्माउने गरेका छौं।
हामीलाई पुराना शासक मन पर्दैन। हामी क्रान्तीको नाममा हतियार उठाउँछौं। आफ्नालाई
मार्छौं, आफू पनि मर्छौं अनि जसले हामीलाई मर्न
मार्न उद्वेलित गर्यो, उसलाई सत्ताको सिरानमा लगेर विराजमान
गरिदिन्छौं। हामी जब बुझ्छौं, हामी कहिल्यै पनि आफूलाई आफैंले शासन गर्न
सक्दैनौं, त्यसपछि ‘ठीकै छ’ भन्दै
फर्किएर उही पुरानै कर्ममा लाग्छौं।
म अचम्मसँगले सोचहरूमा बहकिन्छु। देशको
बारेमा सोच्छु। व्यवस्थाका बारेमा सोच्छु। दंग पर्छु। मलाई के-के कुराहरूको ज्ञान
छ। मैले अथाह रहस्य बुझेको छु। यो संसार रहस्यमयी छ। जो पायो त्यसले यसको
तत्वज्ञान जानेको छैन। अनि एकछिनपछि म आफैं खिस्स पर्छु। आखिर त्यति ठूलो महाज्ञान
के नै छ र यो संसारमा। पेटभन्दा ठूलो वाद र भोकभन्दा ठूलो शास्त्र के नै पो रै’छ र
दुनियाँमा।
संसारमा सबभन्दा ठूलो चिन्ता भनेको
मान्छेलाई पेटको लाग्छ। पेट भर्नाका खातिर मान्छे काम गरिरहेको हुन्छ। पेट भर्नकै
लागि मान्छे सिद्धान्तहरू प्रतिपादन गरिरहेको हुन्छ। हिजोको दिनमा सामन्तवाद थियो, जो आफू
मात्र सबै खाऊँ भन्थ्यो। अहिले पुँजीवादले बलियोले धेरै खाऊन्, निर्धोले
थोरै खाऊन् भन्छ। र अर्को समाजवाद छ जो सबैले बराबर खाऊन् भन्छ। आखिर खानेकुराकै
लागि किन लेखिए यति ठुल्ठुला ठेलीहरू। हामीलाई खाने तरिका सिकाउनेहरू महान् विचारक
बनिटोपलेका देख्दा म एक्लै हाँस्छु।
‘कति हाँसेको बौला’जसरी?’ ऊ सोध्छे
या मेरो हाँसोको विश्लेषण गर्छे, म बुझ्दिनँ।
‘बौलाहा मात्र
हाँस्छ र? सध्दे मान्छे हाँस्दैनन्?’ म
प्रतिप्रश्नको झटारो उतैतिर फ्याँक्छु।
‘एक्लै हाँस्ने बौलाहा हुन्’, ऊ भन्छे।
‘एक्लै रुने नि?’
‘खै’ भनेर ऊ गाडी
रोक्ने ठाउँतिर नजर सोझ्याउँछे।
गाडी आउँछ। ऊ एउटा झोला मेरो हातमा थमाएर आफूलाई गाडीभित्र लैजान्छे। सिटमा बसाल्छे। ओठबाट बिदाइको एउटा टुक्रा मुस्कान फुत्त खसाल्छे। म हात हल्लाउँछु। र आफ्नो गन्तव्य जाने गाडी खोज्छु। मनमा अघिको प्रश्नको उत्तर अमिलो पानी हुँडलिएजस्तो हुँडलिइरहन्छ।
एक्लै रुनेहरू प्रेमी
हुन्छन्। आफैंलाई सुनाउँछु। किनकि साथ हुने प्रेमीहरू मात्र हाँस्छन्, रमाउँछन्, खुसी
हुन्छन्। एकान्तमा त बिछोडिएकाहरू मात्र हुन्छन्। अनि रुन्छन्।
भरिएको गाडी आउँछ। ढोकाबाट पस्ने हिम्मत आउँदैन। तर पनि गाडीवाला
बोलाउँछ। भन्छ, ‘सबै गाडी यस्तै हुन् यो बेलामा। चढ्नुस्।
नत्र रातिसम्म कुर्नुपर्ला।’
‘ठीकै छ’, म भन्छु
र उक्लिन्छु गाडीमा।
+++
Comments
Post a Comment