Skip to main content

Posts

Showing posts from April, 2020

भन के-के राखेकी छौ उसको नाम ?

एकाबिहानै नुहाएर बाथरूमबाट कपाल झड्कार्दै निस्किएर उसको समिपमा जाँदा तिमी श्याम्पुको बास्नाले लट्ठिएर उसले तिम्रो कम्मरमा समाउला लाजले तर्केलाउ तिमी झटपट समाउला उसले नाडीमा तिम्रो बज्लान् छिन् छिन् गरेर चुराहरू , त्यतिबेला कर्के आँखा बनाएर उसलाई " धत् पागल" भुलेर पनि नभन्नु , तिमीलाई मेरो याद आउन सक्छ आँखाहरू आँशुले भिज्न सक्छ मलाई तिम्रो याद आउन सक्छ बाडुल्कीले सास थामिन सक्छ । पिएर उसैको काखमा बसेर चिया पिएर उसैको कपबाट चिया भुलेर पनि नसम्झिनु मलाई तिम्रा ओठहरूले कपको बीटमा मेरै नाम लेख्न सक्छन् । गएर हतपत किचेनमा मेटाइहाल्नु कपमा छापिएको मेरो नाम आँखामा छापिएको मेरो चित्र । तब बसालेर तावा र कराई नपकाउनु रोटी तरकारी , तिमीलाई मेरो सम्झना आउन सक्छ घाँटीमा रूवाई अड्किन सक्छ । तब तिम्रो टोहोलो परेको अनुहारलाई फूलझैँ फुलाउन तिम्रा निधारमा जून र च्युँडोमा ताराहरू झुलाउन पछाडिबाट उसले झक्झकाएर तर्साउन सक्छ , तर्साएर जिस्काउन सक्छ , त्यतिबेला " धत् बौलाहा"   नभन्नु तिमी तिमीलाई मेरो याद आउन सक्छ ...

डेरा- कथा

नयाँ डेरा सरेको दिन मलाई त्यो ठाउँ , घर र परिवेश अनौठो लागिरहेको थियो । साँझमा सामान झारेर केही साथीहरूको सहयोगमा म कोठामा सामान मिलाइरहेको थिएँ । घरबेटि बा ' ले ढोकामा उभिएर घरका काइदा कानुन सम्झाइरहँदा मेरा आँखाहरू उनकै पछिल्तिर उभिएको एउटा उज्यालो मुहारमा गएर ठोकिए । लोडसेडिंग भएको साँझमा मलाई त्यो गालाको लाली र सेता आँखाहरू प्रष्ट नजरमा आए । घरबेटिकी छोरीसँग बोल्नु र हिमचिम गर्नु अति नै गाह्रो थियो । तर मनमा भने उनीसँग बोलुँ र मित्रता गरौँजस्तो लाग्थ्यो । कहिलेकाहिँ लुगा सुकाउन , घाम ताप्न छतमा जाँदा पनि केही असजिलो महशुस हुन्थ्यो । कसैले नराम्रो सोचिहाल्छन् कि भनेर उनीतिर गएका आफ्नै नजरहरूसँग पनि डर लाग्थ्यो । सोझो र पढ्ने खालको केटो हो भनेर फुपुको विश्वासमा बल्लतल्ल पाएको सुविधाजनक कोठा गुमाउनु मेरा लागि घातक नै हुने थियो । यसकारण उनीसँग औपचारिक बोलचाल बाहेक म केही गर्न सक्दैनथेँ । तर पनि मनमा पलाएको प्रेमको टुसा झन्-झन् बढ्दै गइरहेको थियो । मेरा भावनासँग अन्जान उनी बेलाबखत मसँग बोल्न खोज्थिन् तर म भने ठिक्क जवाफमात्र दिएर तर्किन्थेँ । उनी पनि मलाई विशेष चासो दिन्छि...

बसन्तपुर डायरी

हर्न बजाउन नपाइने भएर होला लैनचैरको जाममा माइक्रोबस चुपचाप थियो । माइक्रोभित्रको म पनि चुपचाप थिएँ । बोलिरहेकी थिई त एउटि केटी, अघिल्लो सीटकी, फोनमा । ऊ पछाडिबाट औधि राम्री लागेकी छ, बोली पनि मीठो छ तर अनुहार देख्न पाएको छैन । मेरो कल्पनामा धेरैथरि अनुहारहरू आए तर उसको बोली सुनिरहँदा कोही राम्रा लागेनन् । मलाई त्यो केटी एकछिनमै नराम्री लागिहाली जब मेरो कल्पनामा मेरी उनी आइन् । उनी घन्टि बजाएर मोबाइलको स्क्रिनमै आइन् । "कता हो हजुर ?" "जमल", मैले ढाँटेँ । "आइस्यो छिटो", उनले फोन राखिन् । मैले हा तमै घुमाइरहेँ फोन । गाडि कुद्यो । भृकुटिमण्डपमा केटी झरि । मुखमा मास्क लगाएकी उसको अनुहार देखिएन । तिघ्रा देखिने कट्टु लगाएकी रै'छ । सेता चिल्ला तिघ्रा हेर्दा लाग्यो केटी अचम्म राम्री हुनुपर्छ । मुखमा धुलो पर्छ भनेर मास्क लगाएकी उसले तिघ्रामा पनि फोहोर नजर पर्ला भनेर किन सोचिन होला । हुन त लुगा न हो आफ्नै रहरको लगाई नि । शहिदगेट पनि धरहरा नभएर एक्लै टोलाइरहेको छ । यसो बोल्ने साथी नहुँदा च्याउँदो लाग्दो हो विचरालाई । रंग उप्किएको, ध...

नयाँ साल डायरी

देश लकडाउनमा छ, सारा मान्छे घरभित्र छन्, गाडी चलेका छैनन् । तर पनि अचम्म लाग्यो, कहाँबाट आइपुग्यो होला नयाँ वर्ष ? के नयाँ वर्षलाई चाहिँ कोरोना लाग्दैन ? बिहान ब्युँझिनासाथ सोचेँ, कतै नयाँ वर्षले पनि कोरोना भाइरस ल्याएको आशंकामा क्वारेन्टाइनमा बस्नु पर्यो भने ? तर एकैदिनमा पुरानो भैजाने नयाँ वर्ष पन्ध्र दिन क्वारेन्टाइनमा बस्न सक्दैन । बरु नयाँ वर्षले कोरोनाको प्रलय सिध्याउने औसधि बोकेर ल्याएको होस् । रातभरि 'पंचायत' भन्ने हिन्दी टिभी सिरिज हेरेर सुतेको म बिहान समयमा उठ्न सकिनँ । आठ बजे बिहानै राष्ट्रिय गान गाउनु भन्ने सरकारी आव्हान थियो भन्ने सुनेको थिएँ । तर मैले गाउन सकिनँ । देशमा लोकतन्त्र छ, यत्ति भुल गर्दैमा मलाई पंचायतमा जसरी कारवाही हुन सक्दैन । कोठाबाट बाथरुम, बाथरुमबाट किचेन, अनि किचेनबाट फेरी कोठाभित्र फर्किनु नै मेरो आजकालको दैनिकी हो । सामाजिक दुरी बनाउनु पर्ने भएर कतै निस्किन मिलेको छैन । तर पनि मान्छेहरुलाई सामाजिक संजालले दुरी महशुस हुन दिएको छैन । अचम्म लाग्छ, संसारमा हरेक समस्याको समाधान पहिल्यै तयार भएर बसेको हुँदो रहेछ । कुनैदिन मान्छेहरु घरभित...

बादल वर्षा

एस.एल.सी. पछि गाउँबाट प्लस टु पढ्न काठमाण्डु आएको म असाध्यै सोझो थिएँ । मानिसहरुसँग खुलेर बोल्न पनि धक लाग्थ्यो । कलेजमा पनि कसैसँग बोल्दैन थिएँ । साथीहरुले पनि मेरो सोझोपनको फाइदा उठाउँदै मलाई मजाकको पात्र बनाइरहन्थे । उनीहरु मलाई वर्षासँग नाम जोडेर जिस्काउँथे । म लाजले निहुरिरहन्थेँ । साथीहरुका नजरमा वर्षा सायद केटी थिइन अरुजस्तो । न त ऊ थ्रेडिङ गर्थि न त अरु कुनै मेकअप । यस्ती धुस्री फुस्री केटी मजस्तो सोझोलाई मात्र सुहाउँछ । साथीहरु सायद यस्तै सोच्दथे । तर मलाई वर्षा एकदम मन पर्न थालिसकेकी थिई । के कारण थियो खै, मजस्तै हेपिएकी भएर दया जागेको हो या प्रेम नै थियो, म बुझ्न सकिरहेको थिइनँ । दुनियाको नजरले आकर्षण नपाउने वर्षाको मुहारमा म व्रम्हाण्डको सम्पुर्ण लालित्य पोतिएको पाउँथेँ । पिकनिक जाँदा पनि म उसैलाई हेरिरहेको हुन्थेँ । ऊ लुज फिटिङ पाइन्ट लगाउँथि । चश्मा लगाउँथि । उसका घुम्रिएका कपाल थिए । साथीहरु उसको हुलियाको मजाक बनाएर कुरा गर्थे, मलाई असह्य हुन्थ्यो तर पनि म चुपचाप सुनिरहन्थेँ । म साथीहरुका आँखा जोगाएर वर्षासँग कुरा गर्थेँ । सामान्य कुराहरु हुन्थे ...

बसन्तपुर डायरी - सुरेश बडाल

माइक्रोबसका सीटहरू खाली थिएनन् । जुन सीट खाली थिए ती मेरा थिएनन् । अपांग , महिला अनि ज्येष्ठ नागरिकका सीटहरू छोडेर म पछाडि बसेँ । नयाँबसपार्कको बाटोको खाल्डाखुल्डिले एकछिन उफार्यो । म विष्णुमति खोला हेर्छु । बगिरहेछ , मेरो जिन्दगीजस्तै । खोला फोहोर छ , मजस्तै । खोलामा फोहोर खन्याउँछन् मान्छेहरू , मेरा आफ्नाहरूले रिस खन्याएजस्तै । रेडनपुलबाट एकजना महिला चढिन् । मैले उनलाई हेरिरहेँ किनकि उनले सारी लगाएकी थिइन् । अक्सर सारी सुहाउनेहरू मेरा आँखामा बस्ने गर्छन् । तर उनी आएर मेरो छेउमा बसिन् । मन्द-मन्द मेकअपको बास्ना आयो । म उनको प्रेममा परेँ । उनी त विवाहित हुन् । के फरक पर्छ र । अपरिचितलाई म घृणा गरौँ त उसो भए ? मलाई प्रेमलाई यौन र विवाहसँग जोड्नेहरू मन पर्दैनन् । म दश मिनेट उनको प्रेममा परेँ । उनले धोका दिएर गइन् , जमल उत्रिएर । भुपिले भनेजस्तै घण्टाघर झोक्राइरहेछ , गलामा जेबघडी झुण्ड्याएर । तर उसले बल्छि हाल्न पाएको छैन रानीपोखरीमा । रानीपोखरीमा पानी छैन र छैनन् माछाहरू । शहरभरिबाट पानी मगाएर पोखरी बनाउने राजा पनि त छैनन् । गणतन्त्रमा मान्छेलाई त पानी छैन कहाँ पा...

छुट्नु अघि- कविता

छुट्टिनै परेपछि त सँगै हिँडेका बाटोका घुम्ति, मोड, प्रतीक्षालयहरू पनि सम्झनाबाट छुट्टियोस् न । सँगै बसेका कफीशप, पार्क, चौतारीहरू पनि स्मृतिबाट छुट्टियोस् न । टाढिनै परेपछि त दुश्मनै बनेर टाढिए हुने हो भुगोलै छोडेर टाढिए हुने हो तर पनि तिमीले 'हाँसी हाँसी' छुट्टिने भन्यौ साथी भएरै छुट्टिने भन्यौ । छातीको ठिक्क मास्तिर घाँटिको ठिक्क मुन्तिर तिमीले दाँत र ओठ सराबरी पारेर रगडेर खोपिदिएको 'लभ बाइट' आलै छ, यस्तोमा एक्कासी भन्यौ- हामी छुट्टिऔँ । हुन्छ, छुट्टिऔँला तर छुट्टिएपछि हामी फेरी आजभन्दा दुई वर्ष पहिलेझैँ हुनुपर्छ जतिबेला तिमीलाई बाटोमा भेट्दा पनि मलाई न कोही न कोही भेटेझैँ हुने गर्थ्यो मेरो नाम सुन्दा तिमीलाई अर्थ न बर्थ भएझैँ हुने गर्थ्यो जतिबेला तिमी कोही अर्कैको अनुहार कल्पेर आफ्नो भविष्यको घर बनाउँथ्यौ जतिबेला म अर्कैको नाम सोचेर उसको नाममा आफ्नो थर मिसाउँथेँ छुट्टिने नै भए समयको त्यो बिन्दुमा पुगौँ जतिबेला यस धर्तीमा कतै तिमी छौ भनेर मलाई थोरै पनि ज्ञान थिएन जतिबेला यो सृष्टिमा मेरो सिर्जना भएको छ भनेर तिमीलाई क...

केही छोटा कविताहरु

तिमी पोहोर परारको क्यालेन्डरजस्तै यस्तो अतित हौ मेरी जसलाई अब केवल भुइँमा ओछ्याउन, किताबमा जिल्दा हाल्न, र फोहोर पोको पार्न मात्र काम लाग्छ, फेरि उही समय ठानेर मनको भित्तामा झुण्डाइरहन मिल्दैन । +++ गन्तव्यलाई भेट्न भनेर एक जोर पैताला बोकी कोसौं हिँडेर आएको थियो एउटा यात्रा, विस्फारित आँखाहरुले हेरर यात्रालाई, गन्तव्यले भनिदियो- म त केवल सुरुवात हुँ, गन्तव्य अझै कोसौं टाढा छ । +++ पहिले पहिले कथा सुन्नेहरुले सुनको माला लगाउँथे कथा भन्नेहरुले फूलको माला लगाउँथे आजकल, शहरमा माला उन्ने धागोको अभाव छ । +++ एकदिन, खुट्किलाहरु उक्लिँदै उक्लिँदै स्वयम्भुको डाँडामा पुगेर आँखा ठूला पार्दै सुस्ताएको बुद्धलाई, भगवानपाउ नजिकैको बगरेले सोध्यो - बाजे, मासु कति किलो राखौं ? +++ चिन्नेहरुले हामीलाई यसरि चिनुन्, तिमीलाई देख्दा मलाई सम्झिउन्, मलाई देख्दा तिमीलाई सम्झिउन्, हामी दुबैलाई एकैपटक देख्दा, आफैँलाई बिर्सिउन् । +++