बुढो हुनु भनेको
उमेरको भर्यांग उक्लिँदै-उक्लिँदै टुप्पोमा पुगेर हेरिराख्नु मात्र हैन,
प्रकृतीले हर साल नयाँ-नयाँ फरिया फेरिराख्दा
ट्वाल्ल परेर हेरिराख्नु पनि हैन
जसरी नास्पातीको बोटभरी फुल्दछन् फूलहरु,
उसैगरी बुढो हुनु भनेको
टाउकोभरी केश फुलाउनु पनि हैन!
बुढो हुनु भनेको
समयको गोरेटोमा एक्लै
हिँडिरहँदा
लट्ठीजस्तै थामिदिने
मुलायम हातहरु भेटिनु पनि हैन!
बुढो हुनु भनेको
भर्खर वैंशको घाँघर लगाएर
फनफनी नाचिरहेकी प्रेमिकाले
लाडे पल्टिएर बुढा भन्नु
पनि हैन!
बुढो हुनु भनेको
लोकल बसको ढोकापछिको
दोस्रो सिटमा
‘ज्येष्ठ नागरिक’ लेखेको
चोर औँलाले देखाएर
कोहि अमुक यात्रुलाई
उठाएर
आफु बस्नु पनि हैन!
बुढो हुनु भनेको त
छातीको दराजभरी अनुभवको
खातापाता जम्मा गर्नु हो
आँगनभरी कुदिरहेका साना
नानीहरुलाई उपदेशको चकलेट बाँड्नु हो
खन्ने माटो देखाउनु हो,
हिँड्ने बाटो देखाउनु हो,
जिर्ण शरीरले जबर्जस्ती खन्ती समाएर जुर्मुरिनु हैन
कुद्न सकिनँ भनेर त्यसै-त्यसै मुर्मुरिनु हैन!
बुढो हुनु भनेको
सगरमाथाझैँ अग्लो हुनु
हो
हिमनदीझैँ संग्लो हुनु
हो
बरझैँ फैलिएर, बाँसझैँ
अग्लिएर
धर्तीको क्यानभासमा नयाँ-नयाँ स्वरूपहरु केरिरहनु हो
निहुरिएर आफ्ना
सिर्जनाहरु एकटकले हेरिरहनु हो।
खासमा बुढो हुनु भनेको त
दोहोर्याएर फेरी बच्चा हुनु हो
बच्चाझैँ आनन्दले रमाउनु
हो
बचेकुचेको थोरै आयुमा
सिंगो जिन्दगी फेरी
कमाउनु हो।
सुरेश बादल
Comments
Post a Comment