Skip to main content

बुढो हुनुको अर्थ - कविता



बुढो हुनु भनेको
उमेरको भर्यांग उक्लिँदै-उक्लिँदै टुप्पोमा पुगेर हेरिराख्नु मात्र हैन,
प्रकृतीले हर साल नयाँ-नयाँ फरिया फेरिराख्दा
ट्वाल्ल परेर हेरिराख्नु पनि हैन
जसरी नास्पातीको बोटभरी फुल्दछन् फूलहरु,
उसैगरी बुढो हुनु भनेको टाउकोभरी केश फुलाउनु पनि हैन!

बुढो हुनु भनेको
समयको गोरेटोमा एक्लै हिँडिरहँदा
लट्ठीजस्तै थामिदिने मुलायम हातहरु भेटिनु पनि हैन!
बुढो हुनु भनेको
भर्खर वैंशको घाँघर लगाएर फनफनी नाचिरहेकी प्रेमिकाले
लाडे पल्टिएर बुढा भन्नु पनि हैन!

बुढो हुनु भनेको
लोकल बसको ढोकापछिको दोस्रो सिटमा
‘ज्येष्ठ नागरिक’ लेखेको चोर औँलाले देखाएर
कोहि अमुक यात्रुलाई उठाएर
आफु बस्नु पनि हैन!

बुढो हुनु भनेको त
छातीको दराजभरी अनुभवको खातापाता जम्मा गर्नु हो
आँगनभरी कुदिरहेका साना नानीहरुलाई उपदेशको चकलेट बाँड्नु हो
खन्ने माटो देखाउनु हो,
हिँड्ने बाटो देखाउनु हो,
जिर्ण शरीरले जबर्जस्ती खन्ती समाएर जुर्मुरिनु हैन
कुद्न सकिनँ भनेर त्यसै-त्यसै मुर्मुरिनु हैन!

बुढो हुनु भनेको
सगरमाथाझैँ अग्लो हुनु हो
हिमनदीझैँ संग्लो हुनु हो
बरझैँ फैलिएर, बाँसझैँ अग्लिएर
धर्तीको क्यानभासमा नयाँ-नयाँ स्वरूपहरु केरिरहनु हो
निहुरिएर आफ्ना सिर्जनाहरु एकटकले हेरिरहनु हो।

खासमा बुढो हुनु भनेको त
दोहोर्याएर फेरी बच्चा हुनु हो
बच्चाझैँ आनन्दले रमाउनु हो
बचेकुचेको थोरै आयुमा
सिंगो जिन्दगी फेरी कमाउनु हो।

सुरेश बादल 

Comments

Popular posts from this blog

चन्द्रमाको कथा

प्रेम गर्नेहरुले त प्रेमिकालाई हावाले झोंक्काले पनि पनि दुखाउला , फूलको पत्रले पनि बिझाउला , झरीका बुँदहरुले पनि सताउला भनेर ख्याल गर्छन् । कहाँ सक्छन् र एसिड छ्यापेर असैह्य पीडा दिन । जरुरी छैन आफूलाई मन परेको मान्छेले आफूलाई पनि उत्तिकै मन पराओस् । जरुरी छैन , आफूले चाहेकै मान्छेसँग जिन्दगी बिताउन पाइयोस् । तर साँचो प्रेम गरेकीलाई पराईकै बने पनि चोट दिन मन लाग्दैन , धरधरी रुवाउन मन लाग्दैन । कोही आफूसँग यात्रा गर्न चाहँदैन भन्दैमा उसलाई कहाँ जबर्जस्ति गर्न पाइन्छ र । सबैको गन्तव्य एकै ठाउँ नहुन पनि त सक्छ । एसिड छ्यापेर कुरूप बनाइदिन्छु भन्ने सोच राख्नेहरुको आफ्नै मन र बिचार कुरूप हैन र । त्यो कस्तो प्रेम होला आफैँले मन पराएको फूललाई च्यात्न मन लाग्ने ? त्यो कस्तो चाहत होला आफूले हृदयमा राखेकै मान्छेलाई दुखाउन मन लाग्ने ? कसरी भन्न सक्छौ यसलाई प्रेम जब तिमी त्यो ओठमा हाँसो हैन ती आँखामा आँसुका ढिक्का देख्न चाहन्छौ । कसरी भन्छौ त्यो लालचलाई प्रेम जब तिमी उसलाई उसकै रहरको बाटोमा पाइला चाल्न अवरोध गर्दछौ । प्रेम त हत्केलामा थपक्क बस्न आएको सुन्दर पुतलीलाई नचलाईकन उसकै आकाशमा बेपर्वा...

तिमीले रोजेको मान्छे

आकाशको नाङ्लाभरि छरेर तारा बिचमा एउटै मात्र जून कसले राख्यो होला ? बाँडेर सबैलाई अनेक कमसल धातू मेरो भागमा नम्बरी सून कसले राख्यो होला ? म त सोच्थेँ एक्लै हिँड्नुपर्ने होला जिन्दगीको पट्यारलाग्दो यात्रामा तर सँगै हिँड्न भनेर तिमी आयौ अलमलिन्थेँ होला म गन्तव्यको खोजीमा पैतालाको डाम बनेर अघि लाग्यौ कतै बाटै पो भुल्यौ कि मलाई अर्कै भन्ठान्यौ कि नत्र त मलाई दुखैदुखमा पुरिएको देखेर नयाँ दुख पनि सधैं दुखि बनेर फर्किन्थ्यो एक्लोपन र बेवास्ताले स्याण्डविच बनाएको देख्दा आँसु पनि लतक्क पग्लिएर तर्किन्थ्यो आफैं सोच त बिचरा भनेर लेख्ने कलमसमेत किन्न नसक्ने म कति विवश अनि गरिब थिएँ होला दुखि बनेर रून पनि नसक्ने मेरा आँखा कति बाँझा र सुख्खा थिए होला भाग्य सिधा बाटो भएर हिँड्थ्यो भने यदि मेरो निधारको नक्सा सधैंभरि नागबेली थियो माया रसिलो जमिनमा फुल्थ्यो भने यदि मेरो हृदयको बारीमा खडेरी थियो पराजीतहरूको लस्करमा पनि म पराजीत बनेरै सबभन्दा पछाडिको लाममा उभिएको हुन्थेँ असफलताको आरोहणमा पनि म असफल बनेरै बेसक्याम्पमा छोडिएको हुन्थेँ अनिश्चित नदीको मझधारमा पुगेको बेला सुनौलो गन्तव्यको किनारमा लैजान भनेर तिम...

ठीकै छ

  @ सुरेश बडाल हाम्रो औपचारिकता ‘के छ खबर ?’ बाट सुरु हुन्छ। ‘ठीकै छ’ हाम्रो अर्को औपचारिक उत्तर। मलाई ठीक छैन तर म   ठीक छैन भनेर भन्न सक्दिनँ। मलाई ठीक छैन , त्यसैले ‘ठीक छु’ त झनै भन्न सक्दिनँ। तर जवाफ त दिनै पर्‍यो। अनि चाउरिएर भन्छु— ठीकै छ। आजकाल सबैको जिन्दगी ठीकठीकै चल्दै छ। जसरी देश ठीकठीकै चल्दै छ। सरकार ठीकठीकै चल्दै छ। घरपरिवार अनि सम्बन्ध पनि ठीकठीकै चल्दै छन्। ठीकठीकैको जिन्दगी चलाएर ठीकठाक बाँचिरहेका छौँ हामी।   बनावटी हाँसो ओठमा ल्याएर हाँसिरहेछौं हामी। हाम्रो त हाँसो पनि भारतले आफ्नो देशमा बनाइरहेको भनिएको लुम्बिनीजस्तै छ। एकदम झुटो। हामी हाम्रो हाँसो पवित्र छ भनेर जबरजस्ती ओठ च्यात्छौं। अट्टहास निकाल्छौं। हल्ला गर्छौं। तर हामी हाम्रो अवचेतनलाई सम्हाल्न सक्दैनौं। र कसैले ‘के छ ?’ भनेर देखाएको औपचारिकतामै पनि कुच्चिएको सिक्काजस्तै ‘ठीकै छ’को खोटो सिक्का फुत्त खसालिदिन्छौं।   न्युरोड गेटको ठीक छेउमा आरएनएसीको अफिस छ। साँच्चि गणतन्त्रले त यसको नामको सुरुको अक्षर नै फुकाल्दियो क्यारे। एनएसी पो लेख्या देखिन्छ त साइनबोर्डमा। ठीकै छ। फेरि सच्याएर भन...