Skip to main content

सिलसिला - सुरेश बडाल

मेरो छातीको सिरानीमा आफ्नो च्युँडो अड्याएर आफ्ना एकजोर आँखाहरूले मेरा अर्काजोर आँखाहरू परेली नझिम्क्याईकन निकैबेर नियालिरहन्थ्यौ तिमी ।
"के हेरेकी ?" म आँखा झिम्क्याएर सोध्थेँ ।
"मैले जितेँ", हाँस्थ्यौ तिमी । मलाई नै थाहा नदिई परेली झिम्क्याउने खेल खेलेकी हुन्थ्यौ तिमीले । आँखा जुधाई खेल । अनि मेरा करंगमाथि आफ्नो कुहिनोले टेकेर उठिदिन्थ्यौ ।
"ऐय्या ! के गरेकी ?" म रिसाउँथेँ ।
म रिसाएको देखेर मलाई चिढ्याउन काखि बजाएर 'खुच्चिंग' भन्थ्यौ तिमी ।
"अर्कालाई दुखाउँदा मज्जा लाग्छ तिमीलाई ?" म अझै रिसाउँथेँ ।
"मलाई दुखाउँदा तिमीलाई पनि त मज्जा आउँछ नि", तिमी नहाँसि भन्थ्यौ । तर म हाँसो रोक्न सक्दिनथेँ ।
"ए त्यसो पो ?" म बेस्सरी हाँसिदिन्थेँ ।
तिमी एकछिन वाल्ल पर्थ्यौ र ढिला बुझेजसरि अत्तालिँदै भन्थ्यौ, "हैन हैन मैले त मलाई तिमीले चिमोट्थ्यौ नि ? त्यो पो भनेको त ।"
"अँ अँ बुझियो", म झन् बेस्सरी हाँसिदिन्थेँ ।
तिमी रूँला रूँला जस्तोगरि मेरो हाँसो रोक्न मेरो मुख थुन्न आउँथ्यौ । म तिम्रा हातमै चुमिदिन्थेँ ।
तिमी साँच्चिनै रोईदिन्थ्यौ । म तिमीलाई अँगालेर फकाउँथेँ । तिमी मेरै अँगालोमा लुटुपुटु गरिरहन्थ्यौ ।

यो भन्दा अलि अगाडि ।
म तिमीलाई चियापसलमा कुरिरहन्थेँ । तिमी हाम्रा चियाहरू सेलाइसकेपछि आइपुग्थ्यौ । ढिला भएर म रिसाउँछु होला भन्ठानेर चिसै चिया पनि फू फू गरेर फुक्दै पिउँथ्यौ तिमी । एकोहोरो बोलिरहन्थेँ म, चुपचाप सुनिरहन्थ्यौ तिमी ।
"केही त तिमी पनि बोल न",' म भन्थेँ ।
"हैन, तिमीलाई नै सुनिरहुँ लाग्छ", तिमी भन्थ्यौ ।
तिमीले चालै नपाउनेगरि हाम्रा जुठा चियाका कपहरू साटिदिन्थेँ म । तिमी चाल पाए पनि नपाएजसरी मेरो जुठो कपको बीटमा लिपिस्टिकको रंग लाग्नेगरि चिया पिइदिन्थ्यौ ।
हामी चिया पिएर निस्किन्थ्यौँ । बाहिर पसलको सीसामा तिमीलाई कुममा हल्का छोएर टक्क रोक्थेँ हरेक दिन । र हेर्थेँ त्यही ऐनामा हाम्रा अनुहारहरू । तिमी के गरेको होला भनेर जिल्ल पर्थ्यौ ।
"त्यसै", म भन्थेँ ।
तर था'छ तिमीलाई ? त्यो ऐनाको प्रतिबिम्बमा उभिएको जोडि संसारकै सुन्दर जोडि लाग्थ्यो मलाई ।
Image may contain: 1 person, smiling, closeup
Pic- Kavita

यो भन्दा अझै अगाडि ।
च्याटमा गफ गर्दा कहिल्यै अघाएनौँ हामी । तिमीले फोटो पठाउन भन्थ्यौ । म पठाउन्नँ भन्थेँ । तिमीलाई के थाहा मसँग फोटो खिच्ने मोबाइल नै थिएन नि त । अलि पछि फोटो खिच्ने मोबाइल किनेपछि मैले तिमीलाई दिनरात फोटो पठाएँ । तर पनि तिमीलाई मेरो नियास्रो लागि नै रह्यो । र त एकदिन भन्यौ, "भिडियो अन गर न"
"एकछिन है त", भनेर म टाउको नुहाएर, जेल हालेर एकघन्टा पछि मात्र अनलाइन आएको थिएँ ।
यति गर्दा पनि तिमीले भनेकी थियौ, "डण्डिफोर रै'छ नि त"
"हैन, दागमात्र हो", निन्याउरो भएर भनेको थिएँ मैले ।
"अलिअलि दाग त मेरो पनि छ । रूपले हैन, मान्छे सुन्दर हुने त मनले हो", यति भनेर भाँचिन आँटेको मेरो मनलाई झन् दह्रो पारिदिएकी थियौ तिमीले ।
"भेटौँ न हामी", प्रस्ताव मैले राखेको थिएँ ।
"भैहाल्छ नि", मभन्दा पनि धेरै खुशी त तिमी भयौ सायद ।

यो भन्दा पनि अझ्झ अघि ।
मेरो फेसबुकमा तिम्रो फ्रेण्ड रिक्वेस्ट आएको थियो रे । तर तिमी पनि थियौ भन्ने मलाई थाहा थिएन किनकि अरू पनि धेरै केटीहरूका रिक्वेस्ट आएका थिए । तिमीलाई ठ्याक्कै याद गरेको त तबमात्र हो जब तिमी आफैँले च्याटमा मलाई बोलाएकी थियौ ।

र अहिले ।
यी सब कुराहरू सम्झिएर यसरी टोलाइरहेछु म कि तिमी फ्याट्ट अगाडि आएर आँखा जुधाई खेल्यौ भने पनि हार्नेछौ । किन थाहा छ ? आजकाल तिम्रो यादमा टोलाउँदा टोलाउँदा बन्द हुनै मान्दैनन् मेरा एक जोर परेलीहरू ।

13 September २०१७ मा फेसबुकमा पहिलोपटक प्रकाशित । तस्वीरका लागि साथी कवितालाई धन्यवाद । 

Comments

Post a Comment

Popular posts from this blog

चन्द्रमाको कथा

प्रेम गर्नेहरुले त प्रेमिकालाई हावाले झोंक्काले पनि पनि दुखाउला , फूलको पत्रले पनि बिझाउला , झरीका बुँदहरुले पनि सताउला भनेर ख्याल गर्छन् । कहाँ सक्छन् र एसिड छ्यापेर असैह्य पीडा दिन । जरुरी छैन आफूलाई मन परेको मान्छेले आफूलाई पनि उत्तिकै मन पराओस् । जरुरी छैन , आफूले चाहेकै मान्छेसँग जिन्दगी बिताउन पाइयोस् । तर साँचो प्रेम गरेकीलाई पराईकै बने पनि चोट दिन मन लाग्दैन , धरधरी रुवाउन मन लाग्दैन । कोही आफूसँग यात्रा गर्न चाहँदैन भन्दैमा उसलाई कहाँ जबर्जस्ति गर्न पाइन्छ र । सबैको गन्तव्य एकै ठाउँ नहुन पनि त सक्छ । एसिड छ्यापेर कुरूप बनाइदिन्छु भन्ने सोच राख्नेहरुको आफ्नै मन र बिचार कुरूप हैन र । त्यो कस्तो प्रेम होला आफैँले मन पराएको फूललाई च्यात्न मन लाग्ने ? त्यो कस्तो चाहत होला आफूले हृदयमा राखेकै मान्छेलाई दुखाउन मन लाग्ने ? कसरी भन्न सक्छौ यसलाई प्रेम जब तिमी त्यो ओठमा हाँसो हैन ती आँखामा आँसुका ढिक्का देख्न चाहन्छौ । कसरी भन्छौ त्यो लालचलाई प्रेम जब तिमी उसलाई उसकै रहरको बाटोमा पाइला चाल्न अवरोध गर्दछौ । प्रेम त हत्केलामा थपक्क बस्न आएको सुन्दर पुतलीलाई नचलाईकन उसकै आकाशमा बेपर्वा...

आँशुको व्यापार

कुनै सुदुर गाउँमा कुनै खोलाछेउ वा जंगलको बीचमा च्यातिएर धुजा-धुजा जामाभित्र भेटिन्छ चिथोरिएको एउटा बालिका शरीर। पोस्टमार्टम हुन्छ, निकालिन्छ भजाइनल स्वाब हुन्छन् विभिन्न परीक्षणहरू, र प्रमाणित हुन्छ बलात्कार। यता राजधानीमा प्लेकार्ड बोकेर केहि प्रायोजित हातहरू गर्छन् न्यायको माग। तब दबावका खातिर लेख्छन् कविहरू अखबारमा कविता। पानीझैँ तातिएको अपराध सेलाउँदैन सितिमिति गाउँमा। तर फलामझै तातिएको दवाव चिसिन्छ शहरमा। अकस्मात कुनै साँझ तारे होटलमा सम्मानित हुन्छन् अधिकारकर्मी बलात्कारमा दवाव दिएको नाउँमा। कुनै दिन दोसल्ला ओढ्छ कवि न्यायको आवाज बनिदिएकोमा। उता न्यायको माग गर्दागर्दै बहुलाउँछ मृतकको बाउ, आँशुको खोलो बगाएर सडकमा सकिन्छे लाशकी आमा। तब फेरि एकफेर शहरमा तातिन्छ आन्दोलनको फलाम अनि न्यायको मृत्युको नाउँमा छापिन्छ एक पुस्तक बिक्छन् हजारौँ प्रति रातारात र प्रकाशक हुन्छ मालामाल। यसरी बिकिरहेछ अपराध र निमुखाको आँशु हरेक दिन। @ सुरेश बादल

बिहेको बिरुद्धमा!

देशको प्रधानमन्त्रीसमेत भएका सन्त नेता कृष्णप्रसाद भट्टराई जीवनभर अविवाहित थिए। त्यस्तै पटक-पटक देशको प्रधानमन्त्री र नेपाली कांग्रेसको शक्तिशाली सभापति भएका गिरिजाप्रसाद कोइराला पनि जीवनको पछिल्लो कालखण्ड जतिबेला उनी शक्तिको केन्द्रमा थिए, एकल पुरुष थिए। एक हिसाबले यी नेताहरुको सफलतामा जीवनसंगिनीको बाधा रहेन! विश्वमै पनि यस्ता धेरै नेताहरु छन् जसले बिहेलाई भन्दा आफ्नो राजनीतिलाई महत्व दिएर सफलता हात पारे। श्रीमती त्यागेका कारण प्रधानमन्त्री भएका नरेन्द्र मोदीदेखि श्रीमतीलाई महत्व दिँदा आफ्नो तीसौं बर्षको राजनीति सिध्याएका जिम्बाब्वेका रोबर्ट मुगाबेसम्मका उदाहरणहरु छन्। नेपाली सिनेजगतका महानायक राजेश हमाल महानायक बन्नुमा पनि उनी जीवनको लामो समय अविवाहित रहनुले भूमिका खेल्यो। दुई तीनपटक बिहे गरेका कारण जति नै राम्रा र हिट चलचित्र दिए पनि भुवन केसी महानायक भनिएनन् भन्ने मेरो ठम्याई हो! नेपालमा मात्र हैन बिहे नगरेकै कारण हिन्दी सिनेजगतमा सलमान खान पनि सुपरस्टार भएका हुन्! नत्र उनको अभिनय हेर्दा त सुपरस्टार र उनी भनेका दिन र रातझैँ कहिल्यै नभेटिने जस्ता लाग्दछन्। बिहे भने एक किस...